वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सुरु

काठमाडाैं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा सुरु गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा सुरु भएको बताए । उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए । मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै एक्सपान्सन गर्ने अपुच्र्युनिटी पाएका छौँ । त्यो मध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो । यसमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क रुपले धेरै रोगहरुको उपचार हुन्छ । त्यो भन्दा पनि हामी बिस्तारै अब बनम्यारो ट्रान्सप्लान्टतिर जाँदैछौँ । हामीसँग मेडिकल अंकोरेजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेण्ट पनि भएकोले हामी कम्बाइन्ड गरेर थुप्रै ब्लड एण्ड ब्लड वन क्यान्सरहरुको उपचार गर्ने र बनम्यारो ट्रान्सप्लान्टसँग अघि बढ्ने तयारीमा छौँ,’ उनले भने । त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार श्रेष्ठले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए । उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोग सम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताए । विशेषज्ञ डा. सिंहले भने, ‘आजबाट वीर अस्पतालमा हामीले नयाँ सर्भिस शुरु गरेका छौँ । यो नेपालमा पहिलोचोटि हो । यो रगतजन्य अनुवांशिक रोगहरु जस्तो वंशानुगत रोगहरु, आमाबुबाबाट छोराछोरीमा सर्ने रोग त्यो सर्भिसको निःशुल्क उपचार सेवा सुरु गरेका छौँ । हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्नेछौँ । साथै यो रोगमा लाग्ने बेसिक जाँच परीक्षणहरु पनि वीर अस्पतालमा आजबाट निःशुल्क भएको छ ।’  

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उहाँले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिए ।

प्रत्येक जिल्ला अस्पतालमा आँखा शाखा स्थापना गर्छौं : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रत्येक जिल्ला अस्पतालमा आँखा शाखा स्थापना गर्ने बताएका छन् । आइतबार नेत्रज्योति संघद्वारा आयोजित नेत्रज्योति दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् । मन्त्री खतिवडाले यसको लागि नेत्रज्योति संघसँग सहकार्य गरी सरकार अगाडि बढ्ने बताए । यस्तै उनले आँखा उपचारमा सबै स्थानीय तहले बजेट छुटाउनुपर्ने बताएका छन् । उनले आँखा स्वास्थ्य कार्यक्रम बजेट अभावमा कुनै पनि कार्यक्रम रोकिनु नहुने र स्थानीय तह, प्रदेश तह र केन्द्र तहले समन्वय गरेर आँखा स्वास्थ्यका लागि काम गर्नुपर्ने बताए । नेत्रज्योति संघ अन्धोपन निवारण गर्ने उदेश्यले स्थापना भएको गैरसरकारी संस्था हो । यस संस्थाले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा २७ आँखा अस्पताल, १४८ आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखामा सेवा दिँदै आएको छ ।