एक वर्षभित्र सुविधासम्पन्न भवन सक्ने गरी नर्भिकले रोशन कन्स्ट्रक्सनसँग गर्‍यो सम्झौता

काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९औं वार्षिकोत्सवको अवसर पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी वैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ । सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौतासमेत गरेको छ । सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरे । नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए । उनका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ । निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ ।

थाइराइड समस्या बढ्दै : डा. सुनिल पोखरेल

काठमाडौं । नेपालमा पछिल्लो समय वयस्क महिलाहरूमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरूले सचेत गराएका छन् । थाइराइडका बिरामीहरू संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरूमा थाइराइडको समस्या बढी देखिन थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित चारवटा हुन्छन् । त्यसैले पनि कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन् । थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेलका अनुसार सबैभन्दा कमन थाइराइड भनेको हाइपो थाइराइडिजम हो । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्छ । अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलले मोटाउने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने भएकोले यसको बेलैमा उपचार गर्न सुझाव दिए । समयमा उपचार पाए निको हुने सम्भावना रहेको उनले बताए । थाइराइडका कारण कपाल झर्ने,आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने, तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुनेजस्ता समस्या हुन्छन् । साथै महिलाहरूमा महिनावारी गडबढी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुने डा. पोखरेलको भनाइ छ । त्यस्तै बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ । भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन उनको सुझाव छ । पछिल्लो समय नेपालमा थाइराइडका कारण सुस्तमनस्थितिको बच्चा जन्मिने कुरामा भने कमी आएको छ । पछिल्लो समय नेपालमा आयोडिनयुक्त नुन खाने बानीले पनि यसमा कमी आएको हो । विशेषज्ञ डा. पोखरेलका अनुसार नेपालमा आयोडिनको मात्रा पनि बढी भइसकेको छ । उनले अन्य देशमा आयोडिनको मात्रा कम गर्दै लगिएको र नेपालमा पनि आयोडिनको मात्रा कम नगर्ने हो भने पुनः यसले मानव स्वास्थ्यमा असरु पुर्‍याउने बताए । बच्चामा थाइराइड देखियो भने त्यसले बच्चाको वृद्धि विकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य कुरामा पनि असर गर्ने बताए । डा. पोखरेलले नेपालमा बच्चा जन्मिने बित्तिकै थाइराइड परीक्षण गराउने पद्धतिको विकास केही अस्पतालहरू”मा सुरु भइसकेको र यो पद्धति सबै अस्पतालमा हुन आवश्यक रहेको बताए । ‘हामी पहिला पनि क्रेटोनिजम भन्थ्यौँ । जस्तो सुस्त मनस्थितिको बच्चा । जुन आयोडिनको कमीले हुने गर्दथ्यो । नेपालमा यो पहिलादेखि नै थियो । अहिले त्यस्तो बिरामी धेरै कम देखिन्छ ।’ उनले भने । डा. पोखरेलका अनुसार आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थयमा गम्भीर असर पार्न थालेको बताए । नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुनाकुनामा पुग्ने सवारी साधनको समयसीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भए पनि अहिले भने समयमै सवारीसाधनहरू” पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानुपर्ने उनको भनाइ छ । उनले थाइराइडका साधारण बिरामीले सामान्य जीवनशैली बिताउने, बालबालिकाहरू”लाई धेरै नुन खान नदिने र थाइराइडको लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउन आग्रह गरे । उनी मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ हुन् ।

एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिए । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए । सो परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए ।