सवा अर्बको मास्क र स्यानिटाइजर आयात

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो । तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा एक अर्ब आठ करोड ७५ लाख ४० हजार बराबरको फेस मास्क र १३ करोड ५३ लाख ९९ हजार बराबरको स्यानिटाइजर आयात भएको छ । नेपालमा विभिन्न ३७ देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ । मास्क आयातबाट सरकारले आठ करोड ७६ हजार बराबर राजश्व सङ्कलन गरेको छ । सो अवधिमा सबैभन्दा बढी चीनबाट मास्क आयात भएको छ । चीनबाट एक करोड ३५ लाख ३९ हजार वटा मास्क आयातका लागि ८२ करोड ६४ लाख ६९ हजार नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले छ करोड ८९ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । चीनपछि डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार बराबरको एक लाख २० हजार वटा मास्क आयात भएको छ । नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हङ्गेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलङ्का, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम, नामिबियालगायत देशबाट फेस मास्क खरिद गरेको हो । नौ महिनाको अवधिमा १३ करोड ५३ लाख बराबरको ह्यान्ड स्यानिटाइजरको आयात भएको छ । विभिन्न दश देशबाट छ लाख ५६ हजार ७५३ किलोग्राम स्यानिटाइजर आयात हुँदा सरकारले दुई करोड ३९ लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ । नौ महिनाको अवधिमा बङ्गलादेश, चीन, भारत, इजरायल, जापान, कोरिया, ताइवान, युएई, युके र युएसएबाट स्यानिटाइजरको आयात भएको हो । सो अवधिमा सबैभन्दा धेरै स्यानिटाइजर भारतबाट आयात भएको छ । भारतबाट रु दश करोड नौ लाख बराबरको छ लाख तीन हजार किलो र युएइबाट एक करोड ६४ लाख ३५ हजार बराबरको ४७ हजार किलो स्यानिटाइजरको आयात भएको छ । कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि भारतलगायत देशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणमा आएका छन् । डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीनदिने सद्भावना भ्रमणका क्रममा नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । आज अपराह्न उनी नेपाल आइपुगेका हुन । नेपाल रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, पाटन माध्यामिक विद्यालय र हनुमानढोका तथा पाटन दरबारको भ्रमण समेत गर्नेछन् । महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीसमेत नेपाल आएका छन् । उनी नेपालबाट वैशाख १० गते फर्कनेछन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आइपुगे

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएजओ)का महानिर्देशक डा. डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् । उनी आजदेखि १० गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल रहँदा उनले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको भ्रमण गर्नेछन् भने नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि जानकारी दिइनेछ ।