निर्वाचनका दिन खोप सञ्चालन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिएको बताइन् । यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो । ‘निर्वाचन सम्पन्न गर्न मतदानस्थलमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान कार्यक्रम सञ्चालन हुन कठिनाइ भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ’, उनले भनिन् । उनले निर्वाचन अघि र पछिका दिनमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सबैलाई सकेसम्म कोभिड–१९ विरुद्धको खोप लगाउन अनुरोध गरिएको छ । छिमेकी मुलुकमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना भएकाले सर्तक रहँदै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ । सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालको हो । तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ । यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ । कोरोनाका संक्रमित गएको बिहीबार मात्र यहाँ ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।

दक्षिण कोरियामा एकै दिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो । तर पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ । दक्षिण कोरियामा संक्रमितको संख्या बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार अहिलेसम्म १ करोड ७५ लाख भन्दा पनि बढी संक्रमित भइसकेका छन् ।अघिल्लो दिन यहाँ ३७ हजार जनामा संक्रमण देखिएकामा २४ घन्टायता आएर त्यसमा केही बृद्धि भएको बताइएको हो । तर संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेका व्यक्ति भने थोरै छन् । यहाँ मृत्यु दर पनि कम रहेको बताइएको छ । हालसम्म कोरियामा कोरोनाबाट २३ हजार ३ सय ६० जनाको ज्यान गइसकेको छ । संक्रमितहरूमा मृत्युदर भने न्यून रहेको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्हवा