स्वास्थ्य क्षेत्रः एमालेको घोषणापत्र संविधानको कपिपेष्ट, कांग्रेसको महत्वकांक्षी

काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । मुख्य ठूला राजनीतिक दलहरुले निर्वाचनमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले स्वास्थ्य सेवालाई मुख्य प्राथमिकतामा राखेको जनाएका छन् । तीनै दलले सार्वजनिक गरेको घोषणा पत्रमा यसअघि नै कार्यान्वयन भएका एजेन्डाहरु समावेश गरिएको छ । तीनै दलले स्वास्थ्य बीमालाई अनिवार्य गर्ने, आधारभूत स्वास्थ्य सेवा निशुःक, विभिन्न रोगको स्थानीय तहमा नै निशुल्क उपचारदेखि प्रयोगशाला बनाउनेसम्मका एजेन्डाहरु समावेश गरेका छन् । दलहरूले नयाँ घोषणापत्र सार्वजनिक गरेपनि योजना र कार्यक्रमहरू भने अधिकांश पुरानै दोहो¥याएका छन् । उनीहरूको घोषणापत्रमा अघिल्लो स्थानीय निर्वाचनमा देखिएकाभन्दा फरक कुनै खास योजनाहरू छैनन् । स्थानीय तह निर्वाचनका लागि दलहरुले सार्वजनिक गरेका घोषणापत्रमा स्वास्थ्य सेवामा महत्वकांक्षी योजनाहरु समावेश गरेको पूर्व स्वास्थ्य सचिव खगराज बराल बताउँछन् । ‘अहिले राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्नुभएको छ, स्थानीय तहबाटै घोषणा पत्र आउनुपर्ने हो, केन्द्रको निर्वाचन जसरी माथिबाटै आउनु त्यति प्रभावकारी हुँदैन, कतिपय विषयमा संघीय बजेटबाटै सशर्त अनुदान गएपछि मात्रै काम गर्न पाउने प्रावधान छ, स्थानीय तहले आप्नै बजेटबाट बनाउँन सक्छ कि सक्दैन त्यसमा भर पर्छ, घोषणा पत्रमा यो गर्छु, त्यो गर्छु भन्ने तर बजेट नभएर प्रदेश तथा केन्द्र सरकारको भर पर्नुपर्दा सहज हुँदैन,’ उनले भने । उनले नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रत्येक स्थानीय तहमा प्रयोगशाला निर्माणको एजेन्डा बढी महत्वकांक्षी भएको बताए । ‘प्रयोगशाला बनाउने भनिएको छ, तर कस्तो खालको भन्ने उल्लेख छैन, नाम मात्रकै प्रयोगशाला बनाउने हो भने सकिन्छ, तर प्रयोगशाला बनाएर त्यसको सञ्चालन गर्न अप्ठ्यारो नै हुन्छ, कोभिडको परीक्षण गर्न सक्ने प्रयोगशाला बनाईने हो भने त्यो बढी महत्वकांक्षी बन्छ, प्रयोगशाला बनाउनभन्दा पछि त्यसको खर्च, स्रोतसाधन तथा जनशक्ति लगायतको व्यवस्थापन मुख्य पाटो हो,’ पूर्व सचिव बरालले भने । उनका अनुसार खर्च गरेर प्रयोगशाला निर्माण गर्ने तर मानिसहरु सहरमा आउनेहुँदा खर्च मात्र थपिन्छ । सबै स्थानीय तहमा प्रयोगशला स्थापना गर्नेभन्दा पनि सिमित स्थानमा प्रयोगशला हुँदा त्यसको प्रभावकारी हुन्छ । एमालेको घोषणा संविधानको कपिपेष्ट नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि संविधानमा नै व्यवस्था भएको निःशुल्क स्वास्थ्य सेवालाई घोषणापत्रमा समावेश गरेको छ । नेपालको संविधानमा नै हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निशुःक रुपमा पाउनु मौकिल हल भनेर उल्लेख गरिएको छ । संविधानमा नै व्यवस्था भएको कुरालार्ई कार्यान्वयन नगरी चुनावी एजेन्डा बनाईएको पूर्व स्वास्थ्य सचिव बराल बताउँछन् । ‘संविधानमा नै भएको व्यवस्था हाल कार्यान्वयन भएको छैन, कार्यान्वयन नभएको कुरालाई कार्यान्वयन गर्छ भन्नु राम्रो हो तर सो कुरा घोषणा पत्रमा समावेश गर्नु उचित हुँदैन्’, उनले भने । यस्तै, उनले हाल प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको स्वास्थ्य बीमालाई पुनः दलहरुले चुनावी एजेन्डा बनाएको बताए । सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा पुर्याउने भनेको थियो । तर अस्पतालले पैसा नपाएको भन्दै सेवा नै रोकेका छन् । स्वास्थ्य बीमा सामाजिक सुरक्षा भत्ता वितरण गरेजस्तो नभएकोले फरक रुपमा सोच्नुपर्ने उनको भनाई छ । के छन् राजनीतिक दलको घोषणा पत्रमा ? स्वास्थ्यमा नेकपा एमालेले निरोगी नेपाल, स्वस्थ नेपाली भन्दै मुख्य एजेन्डा बनाएको छ । उक्त एजेन्डामा एमालेले पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने, आरोग्यता, स्वास्थ्य परीक्षण, निशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निशुल्क उपचार, बीमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत् स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने, प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने उल्लेख गरेको छ । यस्तै, निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुने कुरा सुनिश्चित गर्ने । स्वास्थ्य सेवाको उपलव्धता र गुणस्तरको नियमित अनुगमन गर्ने, महामारी, विपद् तथा अन्य स्वास्थ्य जोखिमको व्यवस्थापन गर्ने, स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गर्ने, स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन स्वास्थ्य तथा पोषण सेवासम्बन्धी कार्य गर्ने, गम्भीर रोगको पूर्व परीक्षण (स्क्रि निङ) र पाठेघरको क्यान्सरको निशुल्क परीक्षण गर्ने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै, गर्भवती सबै महिलाले स्वास्थ्य केन्द्रमा प्रसूति हुन आवश्यक सुविधा र प्रोत्साहन गर्ने, गर्भावस्थामा नै पौष्टिक आहार वितरण, स्वास्थ्य परीक्षण, मातृत्व शिक्षा र शिशु स्याहारकार्यलाई अझ प्रभावकारी बनाउने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्ति को स्वास्थ्य विमा निशुल्क गर्ने तथा स्वास्थ्य केन्द्र तथा अस्पतालबाट निशुल्क वितरण हुने औषधि को गुणस्तर र समयमै आपूर्ति सुनिश्चित गर्ने जस्ता विषय पनि एमालेको घोषणापत्रमा समेटिएका छन् । एमालेले स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गंभीर प्रकृति को अपाङ्गता भएका व्यक्ति को पुनस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने एजेन्डा राखेको छ । नेपाली कांग्रेसको चुवानी घोषणा पत्र निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्ने मुख्य नारा बनाएको छ । स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पुर्याउने, नियमित परीक्षण गर्न वडामै प्रयोगशाला सुविधा विस्तार गर्ने, नयाँ प्रविधिबाट गुणस्तरीय सवामा द्रुत पहुँचको लागि टेलिमेडिसिन सेवा, सबै नागरिकलाई स्वास्थ्य बीमा, मातृशिशु स्वास्थ्य र पोषण, सुत्केरी महिलाललाई ५ हजार सुत्केरी सहायता भत्ता दिने घोषणा गरेको छ । यस्तैगरी, कांग्रेसले स्वस्थ नागरिकः घरमै स्वास्थ्य सेवा, सहज र सुलभ गुणस्तरीय औषधी, आकस्मिक र आपतकालिन स्वास्थ्य सेवा उपलब्ध गराइने घोषणा गरेको छ । नेकपा एकीकृत समाजवादी जनताको अधिकारः निःशुल्क स्वास्थ्योपचार, स्थानीय सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्य उपचार, जटिल खालका शल्यक्रियाहरु (जस्तैः मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरु स्थानीय अस्पतालबाट निल्शुल्करुपमा उपलब्ध गराइने, स्वास्थ्य बीमालाई सहज र सुलभ बनाइने लगायतका एजेन्डा घोषणा गरेको छ ।

चितवनमा ३१ स्थानमा बर्डफ्लु देखियो, करोडौंको क्षति

चितवन । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए । उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो । पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए । बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तिब्ररुपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक बिश्वत हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो । बागमती प्रदेश कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा. शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा बिक्रीगर्दा रोग फैलिएको बताए । जैबिक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । यो प्रदेशमा सबैभन्दा वढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ । सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तिब्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी बेहोर्नु परेको बताए । छिमेकी मुलुकहरुमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो । पूर्वी क्षेत्रमा रोगको प्रकोप निकै वढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए । नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्याङ्क नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए । रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्नसमेत नसक्ने अवस्थामा कृषक पुगेको उनको भनाइ थियो । हालसम्मकै सङ्कटग्रस्त अबस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए । रासस

अटिजम : रोग होइन, लुकाउनु हुँदैन

काठमाडौं । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, ‘समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।’ यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरु कक्षामा पनि आफ्ना अरु साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् । परिवारले ख्याल राख्ने र सामान्य हेरचाह गर्ने गर्दा पनि यो समस्याको निदान हुन्छ । तर यसलाई ठूलो समस्या या निको नहुने रोगका रूपमा लिने सामाजिक सोचले गर्दा समस्या परिवारभित्रै झन् बल्झिँदै जाने गरेको देखिन्छ । अटिजमसम्बन्धी समाजको यही गलत बुझाइलाई चिर्न तथा समाजमा यो समस्याको पहिचान र निदान गर्न भ्वाइस अफ ओमन नामक संस्थाले विविध चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । भ्वाइस अफ नेपालले अटिजम निको नहुने रोग होइन भन्ने चेतनाका साथै यसलाई समाधान गर्न सकिने उपायका बारेमा घरपरिवार, शिक्षक र समाजमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको सदस्य मोनिका मानन्धर श्रेष्ठ बताउँछिन् । विश्व स्वस्थ्य सङ्गठनको मान्यतामा प्रत्येक ६४ जनामध्ये एक जनामा कुनै न कुनै अटिजमको लक्षण रहेको हुन्छ । तर नेपालमा भने अहिलेसम्म यो समस्याका बालबालिका के–कति छन् भन्ने तथ्याङ्क भेटिँदैन । फरक क्षमता भएका यस्ता व्यक्तिका लागि विशेष खालको व्यवहार आवश्यक पर्दछ । साथै घरपरिवार तथा समाजले सकारात्मक दृष्टिकोण राख्ने हो भने यो समस्या धेरै सहज हुने बुझाइ श्रेष्ठको छ । उनका अनुसार अटिजमका बारेमा परिवारका सदस्यहरू पनि खुल्नुपर्छ र आफ्ना घरपरिवारमा यस्तो समस्या भएका बालबालिका भएमा उनीहरूको समस्या समाधानका लागि लाग्नुपर्छ । परिवारका सदस्यहरूले वास्तविकतका नबताइदिँदा वास्तविक तथ्याङ्क सङ्कलन हुन नसकेको सम्बद्ध क्षेत्रमा लागेका व्यक्तिहरूको भनाइ छ । समाजमा यी व्यक्तिको अवस्था र सङ्ख्या नै पहिचान हुन नसक्दा यस विषयमा राज्यले नीति बनाउन पनि कठिनाइ हुने गरेको बताइन्छ । श्रेष्ठका अनुसार पछिल्लो समयमा परिवारका सदस्यहरू पनि विस्तारै खुल्दै गएका छन् । परिवारका सदस्यहरू खुल्दा भित्रभित्रै गुम्सिएका धेरै पिरमर्का पनि हल्का हुने गर्दछ । यसरी कुनै पनि समाजमा समस्या खुलेर बाहिर आयो भने त्यसको समाधान पनि सहज बन्दै जानेछ । नेपाली समाजमा अहिले कतिपय अभिभावकहरू आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा समस्या झनै थुप्रिएर रहने गरेको र यसले बाबुआमा नै डिप्रेसनमा जाने गरेको पनि देखिएको छ । आफ्ना सन्तानको भविष्यको पिरले गर्दा अभिभावक पनि प्रताडित भएको पाइने गर्दछ । जसका कारण परिवार नै विखण्डनतिर जाने गरेको देखिएको छ । यस्ता बालबालिकाको थेरापीबाट उपचार गरे सहज हुने गर्दछ । समान्यतया सातामा तीनपटक थेरापी गराउने हो भने बालबालिकालाई धेरै नै सहज हुने र यसले जीवनमा परिवर्तन ल्याउने अनुभव धेरै अभिभावकको छ । आगामी शनिबार, (मे ७) मा भ्वाइस अफ नेपालले २५० भन्दा बढी महिलाको सहभागितामा सोल्टीमोडबाट काठमाडौंका विभिन्न स्थानसम्म स्कुटर ¥यालीको आयोजना गरेको छ । यसमार्फत पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । सो ¥यालीमा प्रायः आमा र शिक्षिकाहरू सहभागी हुने र उनीहरुले अटिजमबारे जानकारी लिएर घरपरिवार र समाजमा विस्तार गर्ने अपेक्षा गरिएको उक्त संस्थाले जनाएको छ । अटिजमका सामान्य लक्षण बालबालिकामा देखिने केही सामान्य लक्षणबाट उनीहरूमा रहेको अटिजम थाहा पाउन सकिन्छ । एक्लै खेल्न मन पराउने, आँखा जुधाउन नसक्ने, अस्वाभाविकरूपमा हाँस्ने वा कराउने, उमेरअनुसार बोली नफुट्ने, आफू समान उमेरसमूहका साथीसँग घुलमिल हुन मन नपराउने, घाउचोट लाग्दा दुखाइ महसुस नहुने अटिजमका सामान्य लक्षण हुन् । अटिजम भएका बालबालिकाले सामान्य दुखाइ हुँदा चिच्याएर रुने कराउने गर्छन् । यसबाहेक उनीहरूले साङ्केतिक भाषाको प्रयोग गर्न सक्दैनन् । उनीहरुमा उमेरअनुसार बौद्धिक क्षमता पनि उत्कृष्ट हुँदैन । सामान्यभन्दा कुनै ठूलो आवाज सुन्दा कान थुन्छन् र झर्को लागेजस्तो व्यवहार देखाउँछन् । यस्ता बालबालिकालाई सामान्य शिक्षण विधिबाट पठनपाठन गराउन सकिँदैन । अटिजम हुन नदिन के गर्ने ? आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ । उनीहरुलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनुपर्छ । किनकि जति छिटो बच्चाको अवस्था थाहा हुनसक्यो, त्यति नै उनीहरूमा भएका समस्याको पहिचान गर्न र उनीहरूमा आवश्यक अन्य सञ्चार प्रक्रियालाई सहज तुल्याउन मद्दत पुग्ने हुन्छ । अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस्तो बेला बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ । अटिजमको उपचार अटिजमको कुनै औषधि छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो । अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरु रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ । रासस