चौधरी फाउन्डेसनले हस्तान्तरण गर्यो साढे २ करोडको कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड

काठमाडौं । चौधरी फाउण्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनमार्फत् उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नती र विस्तार कार्यमा सारिकादेवी चौधरीको विशेष योगदान रहेको छ । बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै राज्य मन्त्री श्रेष्ठले देशको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले सर्वसाधरण नागरिकका सन्ततीले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफुले राखेको बताए । फाउण्डेसनद्वारा १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरि २५ शैयाको निर्माण गरिएको छ । चौधरी फाउण्डेसन नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामकालागि स्थापना गरेका हुन् । राजनीतिमा समेत सक्रिय रहेका चौधरी हाल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभाका सदस्य रहेका छन् । आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेसनका महासचिव सारिकादेवी चौधरीले आफु आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरुको मन कति पोल्छ भन्ने बारेमा आफुलाई गहिरो अनुभूति रहेको बताउदै सर्वसाधारण नेपाली नागरिकका बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफुले रोज्नुको कारण यहि रहेको बताईन् । आम नेपाली बालबालिकाको उपचारमा अहिले विस्तार गरिएको आकस्मिक कक्षले महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरिन् । उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा. युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफुलाई सन्तोष लागेको बताए । चौधरीले आउँदा दिनहरुमा अस्पतालको सेवा विस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । ‘बालबालिका देशको भविष्य निर्माता हुन्’ उपाध्यक्ष चौधरीले भने, ‘त्यसैले उनीहरुलाई गुणस्तरिय स्वास्थ्य र शिक्षा उपलब्ध गराउन हामी सबैले विशेष ध्यान दिनुपर्छ ।’ उपाध्यक्ष्य चौधरीले दुर-दराजसम्मका सर्वसाधरण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्येयले आफुहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए । देशको विकासका लागि बालबालिकामाथिको लगानी अत्यावस्यक रहेकोमा जोड दिँदै उपाध्यक्ष चौधरीले गुणस्तरीय शिक्षा र स्वास्थ्यमार्फत् बालबालिकाहरूलाई बलियो बनाउन आवश्यक रहेको बताए । कान्ती अस्पताल देशकै मुख्य बाल अस्पताल हो । हरेक वर्ष करिव एक लाख पचास हजार विरामी वालबालिकालाई चिकित्सकीय सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पताल ३७२ शैयाको छ । चौधरी फाउण्डेसनले आज हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेको छ । फाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डलाई नि:शुल्क वाईफाई जोन पनि बनाएको छ । यसकोलागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चौधरी फाउण्डेसनले देशका विभिन्न अस्पतालहरुमा गरिरहेको सहयोगको सह्राना गर्दै कान्ति अस्पतालको आकस्मिक कक्ष विस्तारमा पुर्याएको योगदान अतुलनीय भएको बताए । अस्पतालका निर्देशक डा.युवनिधि बस्यौलाले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए । चौधरी फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कोभिड महामारीकावीच गत बर्षको जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा १८ शैयाको सिजी आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण गरेको थियो । फाउण्डेसनले आफ्नो स्वास्थ्य सहयोग अन्तर्गत हाल सरकारी अस्पतालका पूर्वधार निर्माणमा सहयोग केन्द्रित गरिरहेको छ ।

बजेटमार्फत प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको तयारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् । बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अब सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए । उनले पहाडका विद्यालयहरुमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गरे । विद्यालय तहका छात्राहरुलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरुमा छात्रावासको आवश्यक व्यवस्था मिलाउनुको विकल्प नरहेको उपाध्यक्ष पौडेलले बताए । ‘महिनावारीमा लगाइने प्याडहरु देशभर निःशुल्क वितरण गर्ने सरकारको लक्ष्य छ । अहिले स्कुलहरुमा निशुल्क वितरण भईरहेको छ । महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको भूमिकालाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था हुन्छ,’ उनले भने । उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताए ।  

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

काठमाडौं । स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष जेल वा रु तीन लाख जरिवानाको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले मङ्गलबार सङ्घीय संसद्को प्रतिनिधि सभामा पेश गर्नुभएको “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९” मा उपचारको विषयलाई लिएर चिकित्सक वा स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवानाको व्यवस्था गरिएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पु¥याए तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याउने काम गरेमा तीन वर्ष कैद वा तीन लाख जरिवाना उल्लेख गरिएको छ । यस्तै स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा रु दुई लाखदेखि पाँच लाख जरिवाना अध्यादेशमा तोकिएको छ । स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याएमा वा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरे एक वर्ष कैद वा एक लाख जरिवानाको अध्यादेशमा व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ गते प्रमाणीकरण गर्नुभएको अध्यादेश मङ्गलबार स्वास्थ्यमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेश गरेकी हुन् । राष्ट्रपतिले जारी गरेकाे उक्त अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट गर्ने, स्वास्थ्य संस्थामा आगजनी गर्ने जस्ता गतिविधि हुनथालेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न सो कानुन ल्याएको हो ।