धनगढीको गेटामा यसै वर्षदेखि तीन सय श्ययाको अस्पताल सुरु हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए । गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा ३०० श्ययाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो । नेपाली कांग्रेसका नेत्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो । उक्त कार्ययोजनाकै आधारमा तत्काल ३०० श्ययाको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि ३०० श्ययाको अस्पताल सञ्चालन हुने भएको हो”, डा जोशीले भने । मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३०० श्ययाको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो । उक्त समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल, पानीलगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो । गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । भौतिक संरचना निर्माण भएपछि तत्काल अस्पताल सञ्चालन गर्न नेत्री राणा विगत एक वर्षदेखि पहल गर्दै आएकी थिइन् । डा. राणाकै पहलमा यसै आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि माग भएअनुसारको रु दुई अर्ब बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ । गेटा मेडिकल कलेज सञ्चालनमा डा देउवाले पटकपटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल ३०० श्ययाको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

४५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । रोटरी क्लब धुलिखेल, बनेपा, ललितपुर र सिङ्गापुरको संयुक्त सहयोगमा अस्पताल व्यवस्थापनलाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले अस्पतालबाट हुने सेवालाई थप सुधार र विस्तार गर्न आवश्यक रहेको बताए । “अबको दिनमा अस्पतालले दिनुपर्ने सेवामा विस्तार गर्दै सुधार्नुपर्ने ठाउँ कहाँ छन्, जनगुनासोलाई सम्बोधन गर्ने काममा ध्यान आवश्यक छ ।” उनले भने । अस्पतालका कार्यकारी निर्देशक सुन्दर थापाले अस्पतालबाट सुधार गर्नुपर्ने काम र विस्तार गर्नुपर्ने सेवा धेरै रहेको बताउँदै नगरपालिकासँगको समन्वयमा नजिक रहेर काम गर्न तयार रहेको बताए । अहिले सो अस्पतालको आकस्मिक सेवा कक्षमा औसतमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा कक्षमा अहिले छ वटा मात्रै शय्या रहेको कारण सरकारको नियमअनुसार त्यसलाई विस्तार गर्न आवश्यक रहेको बताउँदै अहिले प्राप्त सामग्रीले ठूलो राहत मिल्ने कार्यकारी निर्देशक थापाले बताए । रोटरी क्लबले विभिन्न १७ प्रकारका सामग्रीका साथै विभिन्न प्रकारका अन्य साग्रीसहित करिब रु ४५ लाख बराबरको सहयोग गरेको छ ।

मङ्कीपक्सप्रति सचेत रहन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले भन्यो : यी लक्षण देखिए सम्पर्क गर्नुस्

काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीका र्याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्दछ । बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ । ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ । यस्तै टाउको, ढाड र मासपेशीदुख्नु, शरिरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ । मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमति व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ । मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।