नेपालगञ्जकाे एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । नेपालगन्जकाे चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । अनलाइन अपोइन्टमेन्ट प्लेटफर्मको साथ दर्ता र डाक्टरसँग भेट्न सजिलो बनाइएको छ । इसेवा मोबाइल वालेट एप भित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिती बुक गर्न र डिजिटल रmपमा तत्काल भुक्तानी गर्न सजिलो छ । अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरुको लागी समयको राम्रो संगठन, नियमित बिरामीहरुको राम्रो फलोअप , कम लाइन र कम पर्खाइको समय हुने कम्पनीले जनाएकाे छ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने

काठमाडौं । मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ । विसं २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो । भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो । यसअघि सरकारले विसं २०५१ मा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना ल्याए पनि अस्पतालको सुधार गर्न सकेको थिएन । अहिले फेरि सरकारले अस्पतालको स्तरोन्नति गर्न राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–२०७७ समेत ल्याएको छ । अहिले ५० शय्या रहेको अस्पताललाई १५० शय्या पु¥याउने अस्पतालको तयारी रहेको छ । यसका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयसँग रकम विनियोजनका लागि आग्रह गरिसकेको छ । अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आगामी वर्ष वहुवर्षीय योजनाअन्तर्गत अस्पतालको स्तरोन्नति गरिने जानकारी दिए । स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण विभागले दुई अत्याधुनिक भवन निर्माण गर्न नक्शासमेत तयार पारिसकेको छ । ‘भूकम्प र कोरोना महामारीले मानिसमा मनोरोग, चिन्ताजस्ता समस्या देखिए,’ उनले भने, ‘त्यसपछि यस अस्पतालमा उपचार गराउन आउने बिरामी पनि बढ्न थालेपछि सरकारले पनि चासो दिन थाल्यो ।’ उनले स्तरोन्नति गरेपछि विधागत बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको बताए । उनका अनुसार अस्पतालमा बालमनोरोग सेवा, मानसिक रोग, लागुपदार्थ दुव्र्यसनी उपचार (मौखिक प्रतिस्थापन विधि), यौनरोग, मनोवैज्ञानिक उपचार, विद्युतीय उपचार पद्दति, चुम्बकीय उपचार पद्दतिबाट उपचार भइरहेको छ । चुम्बकीय उपचार पद्दतिमा अहिले अस्पतालमा चार जनाको नियमित उपचार भइरहेको छ । भवन विभागले एक पाँचतले र अर्को चारतले भवन बनाउन थालेको हो । पाँचतले प्रशासन भवनमा कक्षा, कर्मचारी, कर्मचारीको आवास र फार्मेसी सञ्चालन हुने छ । यस्तै चारतले भवनमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, शय्या र प्रयोगशाला कक्ष रहने छन् । बिरामीको चापअनुसार अस्पतालमा कम सङ्ख्यामा चिकित्सक रहेका छन् । अहिले नौ मनोचिकित्सक र ६ जना इन्टर्नसीप चिकित्सक रहेका छन् । निर्देशक डा अधिकारीका अनुसार मनोविद् चिकित्सकको दरबन्दी नरहेकोले अस्पताल विकास समितिले एक चिकित्सकलाई करारमा राखेको छ । उनले सवै सुविधा भए पनि कहिलेकाहीँ शय्या अभावले बिरामीलाई अयन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले अर्को वर्ष बालमानसिक स्वास्थ्य उपचार सुरु गर्ने बताए । कोरोना महामारीको बेला करिब ३५ हजार मानिस अस्पतालमा उपचारार्थ आएका थिए । नेपालमा मानसिक स्वास्थ्य सेवा २०१८ सालमा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरु भएको हो । यो सेवा सैनिक अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै देशका ठूलाठूला अस्पतालमा विस्तार भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा मानसिक स्वास्थ्य गठन गर्नुकासाथै प्रत्येक २०० शय्याका अस्पतालमा १० शय्या मानसिक रोगीका लागि छुटाउन निर्देशन दिएको छ । अहिले प्रत्येक २०० भन्दा बढी श्यया भएका अस्पतालमा मानसिक रोग विभाग रहेको छ । मानसिक स्वास्थ्यलाई चासो राख्दै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सरकारले १५ जिल्लामा मानसिक स्वास्थ्य सेवा सञ्चालनसमेत गरेको छ । नेपालमा कूल नसर्नेरोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग लाग्ने गरेको छ । अपाङ्गता गराउने प्रमुख १० कारकमध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, ० दशमलव ६ प्रतिशतमा मानसिक रोगको समस्या पाइएको छ र ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ । यस्तै १८ वर्षमाथिका व्यक्तिमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलव ९ प्रतिशतमा मासिक रोग, ० दशमलव २ प्रतिशतमा साइकोसिस र ७ दशमलव २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ । महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले प्रत्येक पाँच जनामध्ये एक जना मानसिक रोगी रहेकाले सरकारले मानसिक स्वास्थ्यको सेवा बढाउनुपर्ने बताउँछन् । ‘भूकम्प र कोरोना महामारीले नेपालमा मानसिक रोगी बढेका छन्’ उनले भने, ‘सरकारले मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्नुपर्दछ ।’ शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका औषधि खरिद गर्न वार्षिक ५० लाखका दरले रकम उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रत्येक दिन १८ देखि २० जनाद्वारा आत्महत्या हुने गरेको तथ्याङ्क छ । त्यसको मुख्य कारण मानसिक रोग नै रहेको पाइएको छ । बरालले मानसिक स्वास्थ्य उपचार गर्न दक्ष स्वास्थ्यकर्मी नभएकाले मानसिक उपचारका लागि स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी ६ प्रकारका तालिमसमेत दिइरहेको जानकारी दिए । उनले सरकारले स्वास्थ्यकर्मीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गरेर मानसिक सम्बन्धी स्वास्थ्यकर्मीको दरबन्दी थप्नुपर्ने बताउँछन् । ‘मानसिक स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी र चिकित्सक अत्यन्तै कम छन्’ उनले भने, ‘नयाँ दरबन्दी थपेर मनोरोग विशेषज्ञ राख्नुपर्दछ ।’

नेपालमा ब्लड क्यान्सरको उपचार सहजै गर्न सकिन्छ, विदेश धाउनु पर्दैन : विज्ञ

काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आईतबार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत हुनुनपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए । उनले भने, ‘रोग लाग्यो भन्दैमा हतोत्साहीत हुने, औषधि नै नगर्ने, हाम्रो पालोमा रोग लागेपघि घर पठाइन्थ्यो सकिन्थ्यो । तर अब त्यो जमाना होइन, धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसक्नुभएको छ ।’ त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरका धेरै औषधिहरु निःशुल्क पाइने गरेको तर यसको जनतामाझ पु¥याउने कुरामा कमजोरी रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा दिव्मत नरहेको बताए । उनले भने, ‘क्यान्सरका धेरै औषधिहरु निःशुल्क पनि पाइन्छन्, त्यो पनि अझै सबैले पाउन सकेका छैनन् । हामीले यसलाई बढाउनु पर्नेछ । ब्लड क्यान्सर उपचार गरेर निको हुन्छ भन्ने सबैभन्दा राम्रो उदाहरण हाम्रो महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्दा हुन्छ । यसमा सरकारको दृष्टिकोणबाट पनि सहयोग हुनुपर्छ । सरकारले क्यान्सरका बिरामीहरुका लागि उहाँहरुको सुविधा उपलब्ध हुने खालको सेवाहरु डेभलप गर्नुपर्छ ।’ त्यस्तै भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताए । त्यस्तै हेमाटोलोजिस्ट डा.निरजकुमार सिंहले वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेको जानकारी दिए । ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने उनी बताउँछन् । उनले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताए । उनले भने, ‘हामीले ब्लड क्यान्सरको उपचार हामीले लगभग बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेका छौँ । हामी सबै खालका ब्लड क्यान्सर रिलेटेडमा उपचार गरिरहेका छाँै । ब्लड क्यान्सर वा जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुन्छ । डराउनु पर्दैन । हामीले सरकारलाई यसको बारेमा घच्घच्याउने हो भने हामी सबै खाले ब्लड क्यान्सरसम्बन्धी रोगको उपचार गर्न सक्छौँ ।’ त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले बस्र अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नती गर्ने काम भइरहेको जानकारी दिए । उनले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताए । उनले भने, ‘हामीले उहाँलाई पारिश्रमीक सेवा सुविधा दिन सकेका छैनौँ । किनभने सरकारको त्यो मापदण्ड छैन । तरपनि उहाँले निःशुल्क सेवा दिइराख्नुभएको छ । हामीले सेवा दिइरहेका छौँ, स्तरोन्नती गर्न खोजेका छौँ, हामी अझै पनि यो सेन्टरलाई सेन्टर एक्सेलेन्स हुनेगरी हामीले काम गरिरहेका छौँ । हामी अझै वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल र यसमा सबै किसिमको सेवाहरु र विशिष्टीकृत हुन्छ भन्ने कुरा स्टाब्लीस गर्न खोजिरहेका छाैं ।’ त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्ननहुने बताए । ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको उनी बताउँछन् ।