स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न सांसदको माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छिन् । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उनले अहिले नेपालमा झन्डै २० निजी स्वास्थ्य बीमा कम्पनी तथा ३५० भन्दा बढी निजी अस्पताल रहेको उल्लेख गरिन् । ‘निजी बीमा कम्पनीले मुनाफामा मात्रै आँखा लगाइरहेका हुन्छन्, प्रिमियम तिर्न नसक्ने न्यून आय वर्गको जोखिम उनीहरु व्यहोर्न चाँहदैनन् । जोखिम राज्यले व्यहोर्ने र मुनाफा निजी कम्पनीले कमाउने मोडेलमा हामी जानुहुँदैन,’ सांसद सङ्ग्रौलाले भनिन् । नेपालमा स्वास्थ्य उपचारमा हुने खर्चको झण्डै ५० प्रतिशत नेपालीले आफ्नै खल्तीबाट व्यहोर्ने गरेको उनको भनाइ थियो । ‘महँगो उपचार गर्न नसकेर वर्षेनी हजारौँ परिवार गरिबीको रेखामुनी पुग्ने गरेका छन्, अन्तर्राष्ट्रिय परिवेशमा हेर्ने हो भने मातृ मृत्युदर र बाल मृत्यदर अझै उच्च छ, निजी अस्पतालको उपचार आमनेपालीको पहुँचमा छैन, अधिकांश सरकारी अस्पतालमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छैन, यस्तो अवस्थामा आगामी आव स्थानीय तहमा निर्माण सम्पन्न गरिने भनिएका ६५५ आधारभूत अस्पतालमा दक्ष जनशक्ति, उपकरण र औषधि पुर्याउन सरकारसँग कस्तो योजना छ रुु उनले प्रश्न गरिन् । कोशी अञ्चल अस्पतालको स्तरोन्नति गर्न सांसद सङ्ग्रौलाले माग गरिन् । मातृ मृत्यु दर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सेवालाई प्रभावकारी बनाउने, मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रुपमा पाँच हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने घोषणा स्वागतयोग्य भएको उनको भनाइ थियो । सहरी विकास मन्त्रालयअन्तर्गत आगामी आवभित्र विपन्न, दलित र सिमान्तकृत नागरिकका लागि एक लाख घर निर्माण गर्ने कुरा बजेटमा उल्लेख छ, तर कुन जिल्लामा कति वटा घर कहिलेसम्म कुन निकायले निर्माण सम्पन्न गर्ने हो भन्ने बजेटमा केही उल्लेख नभएको भन्दै उनले यस्तो कार्ययोजनाविना यो प्रस्ताव पनि चुनावी भाषणमा सीमित हुने खतरा रहेको बताइन् । ‘व्यवस्थित शहरी विकास भन्नासाथ सार्वजनिक यातायात, फोहोर व्यवस्थापन, महिलाका लागि सुरक्षित काम गर्ने वातावरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, युवालाई रोजगारी, वृद्धवृद्धालाई टहलिन खुला उद्यान, सफा स्वच्छ हावा, सफा पिउने पानीलगायत पर्छन्, काठमाडौंमा नै फोहर उठाउन महिनौं लाग्यो, एउटा ‘होलिस्टिक भिजन’ लिएर काम गर्न सहरी विकासमन्त्रीलाई आग्रह गर्दछु,’ सांसद सङ्ग्रौलाले भनिन् । रासस
कोभिडविरुद्धको २४ लाख खोप खोई ? : खगराज अधिकारी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् । आईतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गरे । आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए । उनले भने, ‘२४ लाख खोप कहाँ गयो ? हामीले उठाई राखेका छौं । समितिमा उठाएका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ । त्यो २४ लाख खोप कम्पनीबाटै कमिशनमा हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन । निःशुल्क औषधिको कुरा चल्यो । म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा त नयाँ औषधि निःशुल्क बनाएको हो । १ सय ३९ वटा औषधि त त्यतिबेलै निःशुल्क गरिएको थियो एचआईभी एड्सदेखि क्यान्सरसम्मका । अनि अहिले यहाँ केके गरे भनेर भ्रमको खेती गरिदैछ । यसको जवाफ चाहिएन सभामुख महोदय । गत आर्थिक वर्षको भन्दा २२ प्रतिशत बढि बजेट कम गरिएको छ । त्यसप्रति मेरो आपत्ति छ ।’ सांसद अधिकारीले गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशत भन्दाबढि बजेट घटाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
चितवन मेडिकल कलेजको प्रयोगशालाले पायाे आइएसओ मान्यता
चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एइआरएसएससी)ले तोकेका मापदण्ड अस्पतालको प्रयोगशालाले पूरा गरेकाले सो मान्यता पाएको उनले जानकारी दिए । नेपालमा यसअघि छ वटा प्रयोगशालाले यो मान्यता प्राप्त गरिसकेको जनाउँदै उनले भने, ‘मेडिकल कलेजहरूमा र उपत्यका बाहिर हामीले पहिलोपटक यो मान्यता प्राप्त गरेका हौँ ।’ प्रयोगशालाका निर्देशक डा सञ्जय यादवले भारतको भेलोरमा रहेको क्रिस्टियन मेडिकल कलेज (सिएमसी)मा प्रयोग हुने उपकरण, जनशक्ति र रिएजेन्ड नै यस कलेजले प्रयोग गर्दै आएको बताए । यसको प्रमाणपत्र नं ‘एमएलएस–००५’ रहेको छ । डा यादवले अस्पताल र प्रयोगशाला टिमको सबै सदस्यको लामो समयको मेहेनत र परिश्रमले आइएसओ प्राप्त गरेको बताए । प्रमाणपत्र पाउनका लागि अस्पतालले २५८ प्रकारका कागजात तयार पारेको थियो । अहिले ल्याब्रोटेरी मेडिसिन विभागअन्तर्गत अस्पतालमा साना–ठूला १२ वटा एकाइ सञ्चालनमा छन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यतालाई सधैँ कायमै राख्ने बताए । उनले भने, ‘प्रयोगशालाबाट प्राप्त रिपोर्ट सधैँ गुणस्तरीय रहन्छ । त्यसमा कुनै पनि चिन्ता लिनु पर्दैन ।’ चितवनमा स्तरीय प्रयोगशाला सेवा भएसँगै अब राजधानी काठमाडौं र विदेश पठाउनु नपर्ने उनको भनाइ छ । उनले थपे, ‘अब यहाँको नमूना चर्काे शुल्क र लामो समय लगाएर विदेश परीक्षण गराउन पठाउनु पर्दैन ।’