बाँकेमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा

बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग हेल्थ केयर प्रालीले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो । वीरङ्ग हेल्थ केयरका व्यवस्थापक शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए । गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षको भदौसम्मको गरी करिब दुई करोड रुपैयाँ नपाएको र उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो शाहले बताए । शाहका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको दुई हजार पाँच सय रुपैयाँका दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबापत सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । रासस

नर्भिकमा छालामा समस्य भएकालाई ३ दिन फ्रि केमिकल पिल सेवा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो । फ्रि केमिकल पील भदौ २२, २९ र असोज ५ गतेका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सेवा लिन सक्नेछन् । छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गरेपनि औषधिको भने शुल्क लाग्नने अस्पतालले जनाएको छ ।

महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेका हुन् । सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् । बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरे । सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गरे । बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गरे । सांसद डा विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गरिन् । रासस