भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

काठमाडाै‌ ।  भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बुधबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९४ हजार चार सय ४७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ । भारतमा हिजो एक दिनमा १३ हजार ८४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४ सय ५७ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब दश करोड ८२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार सात सय २३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । यसैबीच दक्षिण कोरियामा बुधबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख १३ हजार तीन सय ७१ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २७ लाख एक हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् । यो घात सङ्क्रमणबाट सोमबार एक सय ८ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २६ हजार तीन सय ३२ पुगेको छ । रासस

अल्का अस्पतालको ओपिडी र ल्याबमा महिलालाई २० प्रतिशत छुट

ललितपुर । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ । महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना ल्याएको हो । अस्पतालका प्रशासन प्रमुख भगवान केसीले भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिने बताए । यो छुट बिरामीहरुलाई ल्याब परीक्षणमा पनि लागु हुने उनले बतए । ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि छ ।

विपन्न बिरामीलाई सहज बन्दै नारायणी अस्पताल

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । सङ्घीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् । अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए। अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका लागि आउँछन् । अस्पतालमा दैनिक औसतमा एक हजार बिरामीले विविध रोगको उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । नियमित उपचारमा आउने बिरामीमध्ये करिब १० देखि १५ प्रतिशतसम्म भारतीय बिरामी रहेको जनाइएको छ । अस्पतालको तर्फबाट दुई सय र विकास समितिको तर्फबाट एक सय शय्यामा नियमित उपचार सेवा दिँदै आएको छ । अस्पताललाई विसं २०७५ असार २५ गते सङ्घीय सरकारले मधेस प्रदेशमा विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले पाँच सय शय्याको रुपमा स्तरोन्नति गरिसकेको छ । उपचार सेवा थप प्रभावकारी बनाउँदै लगेपछि विशेष गरी गरिब र विपन्न समुदायका बिरामी बढेका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । मेडिकल, सर्जरी, दन्त, आँखा उपचार, छाला रोग, डायलासिस, नाक कान तथा घाँटी, मानसिक, प्रसूति, हाडजोर्नी, बाल रोग, शिशु स्याहार, मुटु रोगसम्बन्धी उपाचार विभाग, सघन र अक्सिजनसहितको उपचार कक्षमार्फत बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ । अहिले अस्पतालले दिने सेवालाई थप प्रभावकारी बनाउन प्रशासनले सबैजसो सेवालाई उपचारको प्राथमिकताका आधारमा काम गरिरहेको जनाएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको अस्पताल परिसर क्षेत्रमा चार वटा आवास, एक प्रसूति, प्रयोगशाला, भण्डारण, बहिरङ्ग, आकस्मिक सेवा विभाग र एउटा पुरानो आँखा उपचार गरी कूल १३ भवन छन् । अस्पताललाई केन्द्रीय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नति गर्न माग गर्दै यस क्षेत्रका सरोकारवालाले पटकपटक सङ्घीय सरकारसँग माग गर्दै आएका छन् । अस्पतालले सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गर्दै आएको छ । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा शहीद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा सिंहले जानकारी दिए । निःशुल्क उपचारले धेरै नगरिकलाई समयमै उचित उपचार सेवा दिन सहयोग पुगिरहेको डा सिंहको भनाइ छ । अस्पतालमा सरकारी एक सय ६२ र विकास समितिका एक सय २० स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पताल विसं २०५१ मा तत्कालीन महेन्द्र आरोग्य र ऐश्वर्य भवन एकीकरण भई हालको नारायणी अस्पताल नामकरण भएको थियो । रासस