धादिङमा डेङ्गु लागेर बिरामी हुने क्रम बढ्यो

धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। ‘दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्’, उनले भने। बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिए। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताए । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउँछन् ।

भिटामिन डीको कमीले मानिसको शरीरमा विभिन्न समस्या देखिन सक्छ

काठमाडौं । मानिसको शरीरमा भिटामिन डीको कमीले शारीरिक समस्या मात्र नभई मानसिक समस्या पनि निम्त्याउँछ । रोग प्रतिरोधी क्षमता बढाउन पनि भिटामिन डीले महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन डीले हड्डी र मांसपेशीलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्छ । शरीरमा भिटामिन डीको कमी भएमा अत्याधिक थकान, हड्डी दुख्ने, ढाड दुख्ने, उदास महसुस, कपाल झर्ने, मांसपेशीहरुमा दुखाई, घाउ निको हुन ढिलाई, स्नायुहरुमा तनाव, रोग प्रतिरोधात्मक क्षमतामा कमी, निन्द्रा लाग्ने, बारम्बार सङ्क्रमण र सास फेर्न गार्हो हुने जस्ता समस्याहरु देखा पर्दछन् । यदी यस्ता समस्या देखा परेमा चिकित्सको सल्लाह लिनुपर्दछ । भिटामिन डी को कमी विभिन्न कारणले हुनसक्छ । पछिल्लो समयमा कोरोना संक्रमणपछि मानिसहरुमा भिटामिन डि को कमी हुन थाल्यो । घामबाट टाढा बस्ने मनिसहरुमा पनि यो भिटामिनको कमी हुन्छ । त्यस्तै, खानामा भिटामिन डी युक्त चीजहरु नलिनु पनि ठुलो कारण हो । हामीले भिटामिन डी सूर्यको प्रकाशबाट पाँउछौ । त्यसैले बिहानको समयमा हत्तामा २/३ पटक आधा घण्टा छालालाई घामको किरणमा बस्नु पर्छ । योबाहेक माछा, रातो मासु, च्याउ, अन्न, सुन्तलाको जुस, गहँुको पिठो, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थबाट भिटामिन डी प्राप्त हुन्छ ।

भेरी अस्पतालमा डेङ्गुबाट दुईको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए। उनका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् । पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताए। बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।