भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. गौतम, बेवारिसेको उपचार निःशुल्क गरिदिने
भक्तपुर । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उनले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्ने जानकारी दिइन् । त्यस्तै अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने उनले बताइन् । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताए । कोरोमा महामारीको जटिल अवस्थामा मेसु डा. गौतमले पहिलोपटक पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आइसीयू, बच्चाका लागि एनआइसीयू, एचडीयूलगायत अन्य विभिन्न सेवा विस्तार गरेकी थिइन् । साथै अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी विसं २०७७ मा प्रदेश अस्पतालमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भई पुरस्कार प्राप्त गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा विस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामीको चाप बढेको थियो । मेसु डा गौतमले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिइन् ।
डेङ्गुबाट बच्न सतर्कता अपनाउन राज्यमन्त्री केसीकाे आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए । ‘डेङ्गु सङ्क्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ । जनप्रतिनिधिसँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, चेतना फैलाउनेलगायत काम भइरहेको छ’, राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ । डेङ्गुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनसमेत उनले अनुरोध गरेका छन् । ‘डेङ्गुको प्रकोपलाई ध्यानमा राख्दै मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ’, अपिलमा उल्लेख छ । मन्त्रालयले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेङ्गु देखिएको छ । रासस
असोज १ गते नर्भिकले कमलपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले असोज १ गते शनिबारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ । अस्पतालले निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्ने अस्पतालले जानकारी दिएको छ ।