दिनानुदिन बढ्दै डेङ्गुका बिरामी, परीक्षणका लागि किट अभाव

बागलुङ । बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिए । ‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ,’ उनले भने, ‘अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।’ स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए । ‘अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौं,’ उनले भने, ‘अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।’ डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ । डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ । रासस

चिया पारखीलाई खुसीको खबर : दैनिक ४ कप चिनी बिनाको चिया पिउँदा मधुमेहको जोखिम १७ प्रतिशतले कम हुने

एजेन्सी । यदि तपाई चिया वा कफी पिउन मन पराउनुहुन्छ भने तपाईको लागि यो निकै खुसीको विषय हो । वास्तवमा, दिनमा चार कपभन्दा बढी चिया पिउनाले टाइप२ मधुमेहको जोखिम कम हुन्छ। लगातार १० वर्षसम्म यसो गर्दा मधुमेहको जोखिम १७ प्रतिशतले कम हुन्छ । जसमा कालो, हरियो र अन्य प्रकारका चिया पर्दछन् । चिनी बिनाको चिया पिउनाले स्वास्थ्यलाई झनै फाइदा पुर्याउँछ । कालो चिया जस्तै दुधको चिया पनि फाइदाजनक हालै चीनको वुहान युनिभर्सिटीमा गरिएको एक अनुसन्धानमा यो खुलासा भएको हो । यसअघिका अन्य १९ अनुसन्धानलाई उद्धृत गर्दै वुहान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका शियिङ लीले चियामा दूध मिसाउँदा स्वास्थ्यलाई बेफाइदा हुने अनुमान पुरानो भएको भन्दै सो अनुसन्धानले दूधसँगको चिया पनि कालो चिया जत्तिकै फाइदाजनक रहेको बताएका छन् । अर्को, मेटा एनालाइसिसले पनि अमेरिका, एसिया र युरोपका आठ देशका करिब ११ लाख वयस्कहरूलाई समावेश गरेर अनुसन्धान गर्दा दिनमा एक, दुई वा तीन कप चिया पिउने मानिसहरूलाई चिया नपिउनेहरूको तुलनामा टाइप २ मधुमेहको जोखिम ४ प्रतिशत कम हुने कुरा पत्ता लगाएको छ । एकै दिनमा चार वा बढी कप पिउने व्यक्तिहरूमा मधुमेहको जोखिम १७ प्रतिशतले कमी देखिएको थियो । दक्षीण एसियाकै ठूलो मुलुक भारतमा हरेक ११ जना मध्ये एक जना मधुमेहबाट पीडित छन् । यीमध्ये ९० देखी ९५ प्रतिशतलाई टाइप–२ मधुमेह रोग लागेको छ । त्यस्तै बेलायतका ४० लाख मधुमेह रोगीमध्ये ९० प्रतिशतलाई टाइप २ मधुमेह रोग लागेको छ । कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कमी हुने कफी पिउनाले मृत्युको जोखिम कम हुने अनुसन्धानले देखाएको छ। बेलायतका १.७ लाखभन्दा बढी मानिसमा गरिएको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । ७ वर्षसम्म हरेक दिन १.५ देखि ३.५ कप चिनी नभएको कफी पिउनाले मृत्युको जोखिम १६ देखि २१ प्रतिशतले कम हुने अनुसन्धानले देखाएको छ ।

नियमित व्यायाम गर्ने महिलाहरुमा स्तन क्यान्सरको जोखिम ४१ प्रतिशतले कमी हुने

एजेन्सी । नियमित रुपमा व्यायाम गर्ने र धेरै समय आराम नगर्दा स्वास्थ्यमा ठूलो फाइदा हुन्छ। बैज्ञानिकहरुको एक अध्ययनले मानिसहरुको व्यायामसँग क्यान्सरको सम्बन्ध पत्ता लगाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित यो अनुसन्धानले शारीरिक क्रियाकलाप नगर्ने मानिसलाई स्तन क्यान्सरको जोखिम अरुको तुलनामा बढी हुने गरेको देखाएको छ । यो स्तन क्यान्सर रोगको सबै चरणमा लागु हुने अनुसन्धानले दाबी गरेको छ । यस अनुसन्धानमा १,३०,९५७ महिलालाई समावेश गरिएको थियो । जसमध्ये ६९ हजार ३८३ महिलामा ट्युमर फैलिएको थियो भने ६ हजार ६६७ महिलामा ट्युमर थिएन । अनुसन्धानमा सहभागी गराइएका ५४,४५२ महिलाहरूमा स्तन क्यान्सर थिएन। बैज्ञानिकहरुले सहभागिहरुको बारेमा थप जानकारीको लागि युके बायो बैंकसँग सहकार्य गरेका थिए । अनुसन्धानमा महिलाहरुको उनीहरुको शारीरिक गतिविधि र बस्ने अवधिको तथ्यांक संकलन गरिएको थियो । अनुसन्धानकर्ताहरूले त्यसपछि महिनावारी बन्द भएको अवस्था, महिलाको उमेर, स्तन क्यान्सरको प्रकार, क्यान्सरको चरण र क्यान्सरको ग्रेड जाँच गर्ने काम गरे । अध्ययनले अनुसार धेरै शारीरिक गतिविधि गर्ने आनुवंशिक प्रवृति भएका मानिसहरूमा स्तन क्यान्सरको जोखिम ४१ प्रतिशत कम देखायो । यसमा उनीहरूको महिनावारीको बन्द, क्यान्सरको अवस्था र चरणसँग कुनै सरोकार देखिएको थिएन । साथै, हप्ताको ३÷४ दिन कडा व्यायाम गर्ने महलिाहरुमा क्यान्सरको जोखिम ३८.५ प्रतिशत जोखिम कम हुने अध्ययनले देखाएको थियो । धेरै समय बस्ने प्रवृति भएका महिलाहरुमा ट्रिपल नेगेटिभ स्तन क्यान्सरको जोखिम १०४ प्रतिशतले बढी हुने गरेको अनुसन्धानले देखाएको छ । यो स्तन क्यान्सरको सबैभन्दा खतरनाक र दुर्लभ प्रकार हो, जुन शरीरमा छिटो फैलिन्छ। धेरैजसो अवस्थामा, ट्युमर पत्ता लाग्नु अघि नै फैलिएको हुन्छ, यसको उपचार निकै कठिन रहेको बताइन्छ । सन् २०१९ मा गरेको मेटा एनलाइसिसमा स्तन क्यान्सरका बिमारीहरुले यदि नियमित रुपमा व्यायाम गर्छन भने उनीहरुलाई अन्यको तुलनामा ४० प्रतिशत जोखिम कम रहेको देखिएको थियो । प्रोस्टेट क्यान्सर र कोलोरेक्टल क्यान्सरको जोखिमको व्यायामसँग सम्बन्ध सोही प्रकारले हुने सो अध्ययनमा देखिएको थियो ।