नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजी, पायल्सको शल्यक्रिया गर्दा अब चिर्नु नपर्ने

काठमाडौं । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुवात गरेसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो । अस्पतालका जनरल जीआई सर्जन(ग्यास्ट्रो इन्टेस्टाइन सर्जन) डा. प्रकाश चौधरी र डा. सञ्जय पौडेल लगायतको जीआई सर्जरी टिमले नर्भिकमा पनि ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट उपचार सेवाको थालनी गरेको हो । दुई दिनअघि धनगढीबाट अस्पतालमा भर्ना भएका एक ३८ वर्षीय बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा. चौधरीले जानकारी दिए । उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई पूरै बेहास् बनाइरहनुपर्दैन । ‘पहिला–पहिला हामी पायल्स, फिसर र फिस्टुलाका जटिल समस्याहरुको ओपन सर्जरी गरेर उपचार गर्ने गथ्र्यौ । अब भने त्यो बाध्यता हटेको छ ।’ डा. चौधरीले भने–‘नयाँ प्रविधि र डिभाइसको मद्दतले लेजरबाट एनर्जी फ्लो गरेर एनलमा हुने डल्लोको रगत सुकाउने काम गरिन्छ । लेजर डिभाइसले एनर्जी फाल्छ र त्यसले डल्लोलाई सुकाउने तथा स्रिंक गराएपछि नर्मल अवस्था बन्छ ।’ यो अत्याधुनिक प्रविधिबाट उपचार गराउँदा बिरामीलाई धेरै हस्पिटलमा बस्नुपर्ने बाध्यता पनि हुँदैन । ‘लेजरबाट गर्दा सर्जरी सुचर लगाउनुपरेन, काट्नु परेन ।’ डा. चौधरीले थपे–‘काटेपछि दाग हुन्थ्यो, लेजरबाट गर्दा दाग नदेखिने भयो । लेजरबाट गर्दा रगत पनि कम बग्छ ।’ उनकाअनुसार हस्पिटल आएर लेजर प्रविधिबाट उपचार गराएको ३–४ घण्टाभित्रै बिरामीलाई घर जान दिन सकिन्छ । ‘ओपन सर्जरीबाट गर्दा २ दिनसम्म हस्पिटल बस्नुपथ्र्यो ।’ उनले भने–‘यो प्रविधि कस्ट इफेक्टिभ पनि हुन्छ । ओपन सर्जरी गर्दा हस्पिटल बसाई लामो हुनसक्थ्यो, तर लेजरबाट हुने सर्जरीमा भने हस्पिटल बस्दा हुने खर्च जोगिने भयो । यसरी सोच्दा बिरामीलाई सजिलो भयो । लेजरबाट सर्जरी गरिसकेपछि डाक्टरकहाँ फलोअपमा पनि धेरै आइरहनु पर्दैन ।’ डा. चौधरीकाअनुसार नेपालका लागि ‘लेजर इन प्रोक्टोलोजी’ नयाँ उपचार पद्धति र प्रविधि हो । डा. चौधरीले लेजर प्रोक्टोलोजी सम्बन्धी विशेष क्लिनिकल तालिम भारतबाट लिएका छन् । मेडिकलको भाषामा गुद्धद्वार र मलाशयसँग सम्बन्धित चिकित्सा विज्ञानलाई प्रोक्टोलोजी भनिन्छ । यी क्षेत्रमा विशेषगरी मानिसलाई पायल्स, फिसर, फिस्टुला लगायतका समस्या भइरहेको हुन्छ । यस्ता स्वास्थ्य समस्याको समयमै निराकरण भएन भने ठूलै सर्जरीसम्म गर्नुपर्ने हुन्छ । तर, अब नर्भिक अस्पतालमा लेजर प्रविधिबाट सहजै पायल्स, फिसर र फिस्टुलाको सर्जरी हुनेछ । गुद्धद्वार र मलाशयमा रगत आउने, मासुको डल्लो हुने, डल्लो बाहिर आउने र समस्या बढ्दै गएपछि मासुको डल्लो निकै क्रोनिक बन्ने लगायतका समस्या हुँदा सचेत बन्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

सूर्तिजन्य पदार्थको करवापतको ६ अर्ब हाम्रो मन्त्रालयले पाउनुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने बताएका छन् । ऐन, कानून र नियमावलीमा सूर्तिजन्य पदार्थको करवापत उठेको रकम स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने व्यवस्था भएको उल्लेख भएपनि सो अनुसार बजेट विनियोजन नभएकोमा उनले आपत्ति जनाए । सूर्तिजन्य पदार्थको करबाट हाल ६ अर्ब रकम उठेको तर सरकारले बजेटमा ४० करोड मात्रै स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको उनकाे भनाइ छ । ‘सो बजेट मन्त्रालयलाई उपलब्ध गराए दरबन्दीसम्बन्धि सबैभन्दा ठूलो समस्या हल गर्दै लैजान सकिने थियाे,’ उनले भने । दरबन्दीकै अभावमा हाल जनताले उचित ढंगले स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसको उचित व्यवस्थापन गर्नका लागि पनि सूर्तिजन्य पदार्थको करवापत उठेको रकम आफ्नो मन्त्रालयलाई दिन जरुरी रहेको धारण राखे ।

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं । दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी सताइएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावरी नगरपालिका, सुनसरीको बर्जू नगरपालिका र महोत्तरीको गौशाला नगरपालिका–२ र ५मा  दादुराको प्रकोप बढेको छ । ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगङ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि   सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ । दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनाका साथै  मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ । मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ । महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ । यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ ।रासस