जुम्लाको सिञ्जा गाउँपालिकाले सुत्केरीलाई पाँच हजार भत्ता दिने
जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए । घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उनको भनाइ थियो । बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार यहाँका २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ । सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भई सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य सर्वेक्षण : नेपालमा बाल मृत्युदर घट्यो
काठमाडौं । नेपालमा बालमृत्युदर न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले बालमृत्युदरमा घटेको देखाएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा एक सय १८ को मृत्यु हुने गरेकामा अहिले आएर ३३ मात्र मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । नवजात शिशुमृत्युदर पनि प्रतिएक हजारमा ७८ बाट घटेर २१ मा पुगेको छ । पाँच वर्षमुनिका बालमृत्युदर भौगोलिक क्षेत्रअनुसार फरक रहेको छ । पहाडी क्षेत्रमा प्रतिएक हजारमा ३१ र हिमाली क्षेत्रमा एक हजारमा ५५ जना रहेको छ । यस्तै गण्डकी प्रदेशमा प्रतिहजारमा २३ र सुदूरपश्चिम प्रदेशमा एक हजारमा ४९ बालबालिकाको मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार पुड्कोपना पनि घटेको पाइएको छ । सन् १९९६ मा ५७ प्रतिशत पुड्कोपन रहेकामा अहिले २५ प्रतिशतमा झरेको छ । यसैगरी ७१ प्रतिशत जीवित बच्चा स्वास्थ्य संस्थामा जन्मिने गरेका छन् । तीमध्ये ६२ प्रतिशत सरकारी अस्पतालमा जन्मिने गरेको पाइएको छ । सर्वेक्षणले १९ प्रतिशत बालबालिका अझै पनि घरमै जन्मिने गरेको सर्वेक्षणमा देखाइएको छ । घरमा बच्चा जन्माउनेमा सबैभन्दा बढी मधेस प्रदेशमा ३२, कर्णाली प्रदेशमा २४ र कोशी प्रदेशमा १८ प्रतिशत रहेको छ । यसैगरी १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट हुने गरेको छ । शल्यक्रियाबाट बच्चा जन्माउने बढी माध्यमिक शिक्षाभन्दा बढी हासिल गरेका ४८ प्रतिशत महिला रहेका छन् । यस्तै सम्पन्न परिवारका ३८ प्रतिशत महिला र सहरी क्षेत्रका २२ प्रतिशत महिलाले पनि शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन् । सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेको र एक प्रतिशतले अझै पनि जन्मदर्ता नगरेको पाइएको छ ।
हुम्लामा गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा
हुम्ला । हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिए। चारवटा स्वास्थ्यचौकी मार्फत उक्त सेवा प्रदान गरिँदै आएको छ । मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य एकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य एकाइमा ६८ गर्भवतीको स्वास्थ्य जाँच गरिएको संयोजक ढकालले बताए । यसअघि स्वास्थ्य सेवा लिन अधिकांस गर्भवती सदरमुकाम सिमकोट र छिमेकी जिल्ला बाजुरा अस्पताल जाने गरेका थिए । ‘गाउँकै स्वास्थ्य संस्थाबाट सेवा दिन थालेका छौँ’, उनले भने । ताँकोट–१ देखि वडा नम्बर पाँचसम्मका सम्पूर्ण गर्भवती तथा शिशुको अवस्था थाहा पाउन नियमित जाँच गर्ने गरिएको छ । उक्त सेवा प्रभावकारी भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । दुर्गम गाउँमा स्वास्थ्य शिविरसमेत समय समयमा सञ्चालन गर्दैआएको उनले बताए।