मुगुमा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु

मुगु । जिल्लाको सोरुगाँउपाली-६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका-६ जिमा गाँउका कर्णजित बुमीले बताए । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु,  सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् । गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए । यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ । जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । उनले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुने बताएका छन् । रासस

अब सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरु हुने बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले आगामी शैक्षिक सत्रमा सातै प्रदेशका साविकका अञ्चल अस्पतालमा चिकित्सा शिक्षाको अध्यापन सुरु गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको जानकारी दिए । उनले टेकु अस्पताललाई मन्त्रालयको नीतिअनुसार नर्सिङ तथा पारामेडिकको शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार रहन निर्देशन दिए । ‘आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुन्छ । सरकारको निर्णय छिटो कार्यान्वयनमा ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ’, उनले भने, ‘यस अस्पतालले पनि आवश्यक जनशक्ति उत्पादनको तयारी गर्नुपर्छ ।’ मन्त्रालयले एक सयदेखि तीन सय श्ययासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय श्ययाभन्दा माथिका अस्पतालमा ‘एमबिबिएस’ को पढाइ गर्ने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइ सकेको मन्त्री बस्नेतले जानकारी दिए । सरकार चिकित्सा शिक्षा ऐन परिमार्जनको तयारीमा लागको कार्यक्रममा जानकारी गराइएको थियो । वार्षिकोत्सव समारोहमा अस्पतालमा निर्देशक डा युवानिधि बसौलाले तीन सय श्ययाको विशिष्टकृत सरुवा रोगको नयाँ भवन निर्माण प्रक्रियामा रहेको जानकारी दिए । उनले विशिष्टकृत अस्पतालको न्यूनतम् सेवा मापदण्ड सुरु भइसकेको बताए । नर्सिङ प्रशासक रोशनीलक्ष्मी तुईतुईले अस्पतालले आउँदो शैक्षिक सत्रदेखि नर्सिङको पढाइ गर्ने गरी तयारीबारे जानकारी दिँदै सरकारबाट अनुमति प्राप्त भएमा अध्यापन सुरु गरिने प्रतिबद्धता जनाए । वार्षिकोत्सवका अवसरमा कोभिड-१९ को महामारीमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै अस्पतालले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसेलाई सम्मान गरेको थियो । अस्पतालमा अहिले एक सय श्यया सञ्चालनमा रहेको छ । त्यसमा २० वटा आकस्मिक श्यया रहेका छन् । अस्पतालबाट दैनिक दुई हजार जना बिरामीले बहिरङ्ग सेवा लिने गरेको निर्देशक डा बसौलाले जानकारी दिए । गत आर्थिक वर्ष २०७९/८० मा यस अस्पतालबाट एक लाख छ सय १९ जनाले बहिरङ्ग उपचार सेवा लिएका छन् । सोही आवमा ११ हजार चार सय ४६ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् भने एक हजार नौ सय ८७ जना अस्पतालमा भर्ना भएका थिए । रासस

छोरालाई बचाउन आमाले काटेर दिइन् कलेजो

भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौंदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छिन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी हुन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा  सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण  गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो । कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठको भनाइ छ । ‘यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो पटक हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ’, उनले भने । बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल र डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए । दाताको काटिएको कलेजो तीन महिनामै ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा श्रेष्ठको भनाइ छ । रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन् । रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो । आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो । तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो । सीताले भनिन्, ‘क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।’ केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि रु १५ देखि २० लाखसम्मसम्म खर्च हुने बताए । तर तीन वर्षे बालकको हकमा भने १५ लाख रुपैयाँ मात्रै अस्पतालले लिएको उनको भनाइ छ । केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण गरेको थियो । केन्द्रले सुरुको केही वर्ष वार्षिक एकरदुई वटामा मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यसवर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । केन्द्र स्थापनाको ११ वर्षमा कूल एक हजार एक सय ८८ जनामा मिर्गौला र १८ जनामा कलेजो प्रत्यारोपण भइसकेको उनी बताउँछन् । केन्द्रले आव २०६९/७० मा १३ जनाको मिर्गौला प्रत्यारोपण, आव २०७०/७१ मा २७ जना, आव २०७१र७२ सालमा ४१ जना, आव २०७/७३ सालमा एक सय एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । साथै आव २०७३/७४ मा एक सय ३२ जना, आव २०७४/७५ मा एक सय ५३ जना, आव २०७५/७६ मा एक सय ७९ जना, आव २०७६/७७ मा ४९ जना, आव २०७७/७८ मा ४५ जना, आव २०७८/७९ मा एक सय ६० जना, आव २०७९/८० मा एक सय ८६ जना र आव २०८०र८१ मा एक सय एक जनामा मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ बाट कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सोही वर्ष दुई जनामा कलेजो प्रत्यारोपण गरेको थियो भने आव २०७४/७५ देखि आव २०७७/७८ मा चार वर्षमा एकरएक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका थिए । डा श्रेष्ठका अनुसार आव २०७८/७९ मा तीन जनाको, आव २०७९/८० मा दुई जनाको र चालु आवमा सात जनामा कलेजो प्रत्यारोपण भइसकेको छ । रासस