आजदेखि काठमाडौं महानगरले क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । महानगरलेले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिनाभरि शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नम्बर २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नम्बर ३, महाराजगन्जमा ११ र १२ गते, वडा नम्बर २६, लैनचौरमा १४ गते, वडा नम्बर २०, भीमसेनस्थानमा १६ गते, वडा नम्बर २१, यंगालमा १७ गते, वडा नम्बर २३, ओमबहालमा १८ गते र वडा नम्बर १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नम्बर २, लाजिम्पाटमा २४ गते, वडा नम्बर २४, मखनमा २५ गते, वडा नम्बर २२, टेबहालमा २६ गते, वडा नम्बर १८, नरदेवीमा २७ गते, वडा नम्बर १९, कङ्केश्वरीमा २८ गते, वडा नम्बर ३२, पाल्पाकोट ९छाप्रे०, कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउने छन् । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरले जनाएको छ ।

गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन, जेठदेखि सेवा दिने

गोरखा । गोरखाभित्र रहेका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ । स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका-६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका-३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो । अनुमति पाएका दुवै अस्पतालले आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा सुरु गर्ने बोर्ड कार्यालय गोरखाका प्रमुख विसाल लौडारीले जानकारी दिए । ‘दुवै अस्पतालले बोर्डले निर्धारण गरेका आवश्यक सबै मापदण्ड पूरा गरेपछि बीमामार्फत उपचार सेवाका लागि सम्झौता भएको छ’, उनले भने, ‘भीमसेनथापा र अजिरकोट गाउँपालिकाका स्वास्थ्य बीमा गराएका व्यक्तिले बीमा नवीकरण गरेपछि स्थानीय अस्पतालबाट सेवा लिन सक्नेछन् ।’ उक्त सेवा सुरु गर्न सहिद स्मृति आधारभूत अस्पतालले एक वर्ष अघि नै निवदेन दिएको थियो भने भच्चेक अस्पतालले चार महिनाअघि बोर्डमा निवदेन दिएको थियो । योसँगै जिल्ला भित्रका ११ पालिकामध्ये सातवटा पालिकामा स्वास्थ्य बीमाअन्तर्गतक सेवा केन्द्र पुगेको प्रमुख लौडारीले बताए । उनका अनुसार अझै चार वटा पालिकामा स्वास्थ्य बीमाको सेवा केन्द्र स्थापना हुन बाँकी छन् । जिल्लाभित्र यसअघि गोरखा अस्पताल र आँपपिपल अस्पताल तथा मकैसिंह प्राथामिक स्वास्थ्य केन्द्र, जौवारी प्राथामिक स्वास्थ्य केन्द्र र आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र गरी पाँचवटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो । वि.सं २०७४ असारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको गोरखामा अहिलेसम्म एकलाख छ हजार बढी नागरिकले बीमा गराइसकेका प्रमुख लौडारीले जानकारी दिए । ‘अहिलेको तथ्याङ्कलाई हेर्दा जिल्लामा झण्डै ४४ प्रतिशत भन्दाबढी नागरिकको स्वास्थ्य बीमामा पहुँच पुगिसकेको छ’, उनले भने, ‘चार हजार भन्दाबढी बीमितको फारम यहीँ महिनाभित्र दर्ताको प्रक्रियामा छ ।’ रासस

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला, सस्तोमा गुणस्तरीय सेवा

काठमाडौं । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर विहानैदेखि लामो लाइन छ । सोमबार झिसमिसेमै यहाँ आइपुगेकाहरुको घाम चर्कँदासम्म पनि पालो आइपुगेको छैन । सोमबार विहानै ६ बजे स्वयम्भूबाट यहाँ आइपुगेकी ५० वर्षीय उमा श्रेष्ठ हातमा टोकन लिएर पालो कुर्दै छिन् । ‘झिसमिसेमै आइपुग्दा पनि लाइन लामो भइसकेको थियो, टोकन लिएर पालो कुरिरहेकी छु’, उनले भनिन्  । स्वास्थ्यमा खासै समस्या नभए पनि नजिककाहरुले टेकुको प्रयोगशालामा राम्रो छ भनेपछि परीक्षण गरौँ न त भनेर यहाँ आएको उनले सुनाए । ‘म त नियमित योगा गर्छु । खासै बिरामी पर्दैन । तै पनि शरीरमा कुनै रोग छ कि भनेर स्वास्थ्य परीक्षण गर्न आएकी हुँ’, उनले भनिन् । टोकन लिएर उमा जस्तै पालो कुर्नेमा चाबहिलबाट आएका २७ वर्षीय आशुतोष पौडेल पनि छन् । उनी ‘भिटामिन डी’ र ‘आइरन’ परीक्षण गर्न आएको थियो । ‘म प्रायःजसो परीक्षणका लागि यहीँ आउँछु । यहाँ गराएको जाँचले विश्वस्तरीय मान्यता पाउने रहेछ’, उनले भने,‘केही बेर पालो कुर्नु परे पनि सेवा भने छिटो छ । चिकित्सकले नभने पनि नियमित परीक्षण गराइरहेको हुन्छ ।’ उनले प्रयोगशालाको सेवा राम्रो भए पनि लाइन व्यवस्थापनमा सुधार गर्न सकिने बताउछन् । प्रयोगशालामा विहानैदेखि सेवाग्राहीको घुइँचो बढिसकेको थियो । सेवा लिन कुरिरहेका र सेवा लिइसकेकाहरुको घुइँचो घटेको थिएन । प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकाले सेवाग्राहीको भीड लागेको स्वयम् सेवाग्राहीहरु नै बताउछन् । पकनाजोलबाट ‘होल बडी चेकअप’का लागि आएका ६३ वर्षीय रामराजा धिताल यहाँको परीक्षण विश्वासयोग्य भएको बताउछन् । ‘बुढेसकाल लाग्यो । खुट्टाहरु दुख्छन् । शरीरमा सुगरलगायतका अरु समस्या छ कि भनेर परीक्षण गर्न आएको हुँ’, उनले भने । उनी अरुलाई पनि यहाँ परीक्षणका लागि सुझाव दिनछन्।’ नार्गाजुन नगरपालिका–६ रामकोटकी ४३ वर्षीया एलिना उप्रेती पनि प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकैले यहाँ आएको सुनाए । उनि  सरकारले यहाँ विशेष खालका अपाङ्गता भएका व्यक्तिलाई छुटको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘म मनोसामाजिक अपाङ्गता भएको व्यक्ति हुँ । अरु खालका अपाङ्गता भएकालाई छुट दिने व्यवस्था भए पनि हाम्रो लागि त्यस्तो छैन, अब त्यो हुुनपर्छ ।’पालो पाउन भने धेरैबेर कुर्नु परे पनि सेवा पनि गुणस्तरीय भएको उनको बुझाइ छ । प्रयोगशाला बाहिर देखिएको सेवाग्राहीको भीड र उनीहरुको विश्वासले जनस्वास्थ्य प्रयोगशालाले सेवाग्राहीहरुको मत जितेको प्रष्ट हुन्छ । सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा हाल दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा एक लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन् । प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५९ हजार चार सय सातले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ ५० वटा परीक्षण भएका छन् । प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टका अनुसार आईएसओ मान्यता प्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएकाले पनि धेरैले रुचाएको र विश्वासिलो मानेका हुनसक्छन् । उनी भन्छन, ‘सस्तोमा गुणस्तरीय सेवा दिएकाले पनि सेवाग्राहीको चाप र घुइँचो देखिएको हो । हामीकहाँ सुगर परीक्षण त रु २५ मै हुन्छ ।’ सेवाग्राहीको चाप बढ्दै गएको र पालो पर्खनुपर्ने ठाउँ साँगुरो भएकाले पनि धेरै सेवाग्राहीबाट यो गुनासो आउने गरेको डा भट्टले बताए । उनले भने, ‘पूर्वाधार बिस्तारमा जोड दिनुपर्ने छ । नयाँ भवन बन्ने क्रममा छ । त्यो बन्यो भने सेवा थप बिस्तार गर्न सकिन्थ्यो । भवन बनिराखेकाले पनि ठाउँ साँघुरो भएको छ ।’ ‘एनपिएचएल’ ले सङ्क्रामक र नसर्ने रोगका लागि विशेष परीक्षण, प्रयोगशालाको अनुगमनको पाटो पनि हेर्छ । डा भट्टले भने,‘सेवा २४सै घण्टा सुरु गर्नुपर्ने सुझाव सेवाग्राहीबाट आउने गरेको छ । अस्पतालमा आधारित प्रयोगशाला नभएकाले आगामी दिनमा नसर्ने रोगको परीक्षणमा बढी केन्द्रित रहने बताउदै डा भट्टले थपे, ‘नसर्ने रोगको भार झन बढेको छ । आगामी दिनमा जटिल खालका रोगहरुको परीक्षण बढाउनेछौँ । क्यान्सरको कतिपय परीक्षण अझै पनि बाहिर पठाउनुपर्ने अवस्था छ ।’ हाल पाँच वटा बुथबाट प्रयोगशालामा सेवा प्रदान भइरहेको छ । दैनिक अधिकतम सात सय र कहिलेकाहीँ एक हजारसम्म सेवाग्राही आउने गरेको उनले सुनाए । बताउछन् प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीका अनुसार एक दिनमा थोरैमा पनि चार सय सेवाग्राहीले आउने गरेका छन् । उनका अनुसार प्रयोगशालामा ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बुथ र छुटको पनि व्यवस्था छ । यहाँ आउनेमा सबैभन्दा बढी ‘होल बडी चेकअप’ नै गराउन आउने गरेको उनको भनाइ छ । परीक्षणका लागि बिहान ८ बजेबाट २ बजेसम्म टोकन वितरण हुन्छ । तर सेवाग्राही भने विहान अध्यारोँ छँद यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाबाहेक आइतबारदेखि शुक्रबारसम्म प्रयोगशालाले सेवा दिँदै आइरहेको छ । शुक्रबार भने विहान ८ देखि दिउँसो १२ बजेसम्म परीक्षण हुन्छ । जैसी भन्छिन, ‘धेरैले लाइन बस्न समस्या भयो भनेर गुनासो गरेको छ । पहिले सेवाग्राही आफैले मेसिनबाट टोकन लिन मिल्ने व्यवस्था राखिएको थियो तर त्यसको दुरपयोग भएको पाइयो । कतिले टोकन नै बेचेको पाइएपछि हाल ८ बजे मात्र हामी आफैँ टोकन दिन्छौँ ।’ उनका अनुसार प्रयोगशालामा अन्यत्र कतै नहुने परीक्षण पनि उपलब्ध छन् । जुन सबै सर्वसुलभ दरमा उपलब्ध रहेको उनको भनाइ छ । निजी प्रयोगशालामा रु १० हजारसम्म पर्ने ‘होलबडी चेकअप’ यहाँ आधाभन्दा सस्तोमा उपलब्ध रहेको जैसीको भनाइ छ । ‘सस्तोमा रु २५  मा हुने परीक्षण पनि छ भने रु ५० हजार पर्ने मिर्गौला प्रत्यारोपणअघि गराइने परीक्षणको सेवा पनि उपलब्ध छ’, उनले भने । रासस