आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान
तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिए । स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरूपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले बताए। ‘उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रति उपचार ‘सेसन’मा दुई हजार पाँच सय तिर्नुपर्दैन,’ उनले भने, ‘नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहज रुपमा सेवा पाउने छन् ।’ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ। अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा. क्षेत्रीले बताए । ‘हाल २४ जना डायलाइसिसका बिरामीले उपचारका लागि निवेदन दिएर पालो पर्खिरहेका छन्,’ उनले भने, ‘विपन्न नागरिक उपचार सेवा’मा अस्पताल सूचीकृत हुने बित्तिकै सेवा दिन सुरु गर्नेछौं ।’ अस्पतालले प्रत्येक सेसनमा प्रतिबिरामी दुई हजार पाँच सयका दरले खर्च गर्नसक्ने अवस्था नरहेकाले पूरा सेवा प्रदान गर्न नसकिएको उनले बताए । कोही बिरामी पैसा तिरेर डायलाइसिस गर्न आएको अवस्थामा अस्पतालले सेवा दिँदै आएको छ तर निःशुल्क गर्न सकिएको छैन । डायलाइसिस बिरामीको संख्या बढ्दै गएको अवस्थामा अस्पतालले नर्सिङ कर्मचारी थप गरी नागरिकलाई सेवा दिन सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा डायलाइसिस सेवालाई निःशुल्क प्रदान गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्दै आएको उनले बताए ।
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो । सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ । यस्ता सूचना/विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचनारविज्ञापनमा नहेर्नुहुनसमेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ ।’ मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा आएका गलत तथा भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइ सकिएको जानकारी गराए । उनले सर्वसाधारणलाई पनि भ्रामक सामग्रीको प्रयोग नगरी जानकारीका लागि आधिकारिक निकायमा सम्पर्क गर्न अनुरोध गरे । रासस
स्वास्थ्य मन्त्रालयले भन्यो : सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नू
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले अपिल जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु प्रचलित कानुनविपरीत भएकाले त्यसो नगर्न आग्रह गरेका छन् । ‘मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी बिदा स्वीकृत गराइ वा नगराइ स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, अपिलमा भनिएको छ, ‘यसरी काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने हुँदा यससम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई संयमित तथा कानुनसम्मत क्रियाकलाप गरिदिन हुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ रासस