देशभरि ५५ जनामा हैजा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा ५५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभरि हैजा संक्रमितको संख्या ५५ पुगेको हो । ललितपुरमा मात्र ४१ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार कैलालीमा ८ जना, काठमाडौंमा ४ जना र प्युठानका २ जनालाई हैजाको संक्रमण पुष्टि भएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।
जिपी कोइराला श्वासप्रश्वास केन्द्र हजार शय्याको बन्ने
काठमाडौं । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले तीन सय शय्याको केन्द्र निर्माण पूरा भएपछि अर्को चरणमा केन्द्रलाई एक हजार शय्यामा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार केन्द्रको तीन सय शय्याको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । भविष्यमा मुुलुकका निम्ति आवश्यकपर्ने चिकित्सा सेवा एवं अध्ययन अनुसन्धान तीन सय शय्याबाट पर्याप्त नहुने भएकाले त्यसलाई एक हजार शयमा स्तरोन्नति गर्न राष्ट्रपति पौडेलले विशेष जोड दिँदै आएका थिए । सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डिपीआरसम्बन्धी संरचना तयार गरी निर्माण पनि तदनुरुप हुनुपर्नेतर्फ उनले नेपाल सरकारका सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दै आएका थिए । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा केन्द्र स्थापना भएको हो । केन्द्रलाई देशको विशिष्ट अस्पताल तथा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य छ ।
भक्तपुर क्यान्सर अस्पतालमा ‘मोबाइल एप’ सुरु
काठमाडौं । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले सहजै रूपमा अनलाइनबाट अपोइन्टमेन्ट लिएर अस्पतालका सेवाहरू लिन सकिने मिदासले जनाएको छ । यस एपमार्फत स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गरी आफ्नो बीमा प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । मिदासले विभिन्न अस्पतालका ओपीडी सेवाका लागि डाइनामिक क्यूआर भुक्तानीको विकास पनि गरेको छ । घरबाटै अनलाइन मेडिकल अपोइन्टमेन्ट लिन सकिने व्यवस्था भएकोले अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्त बनाएको मिदासले जनाएको छ ।