स्वास्थ्यमन्त्रीको निर्णयपछि कति भयो सरकारी अस्पतालको सुधार ?

काठमाडौं । सरकारी अस्पतालमा सेवाग्राहीको भीड हुँदा प्रभावकारी व्यवस्थापन नभएको भन्दै पटक–पटक आलोचना हुन्छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न संघीय अस्पतालमा बिरामीको भीड हुँदा सेवा पाउन मुस्किल हुने गरेको आम नागरिकको गुनासो छ । सरकारी अस्पतालमा दिनभर लाइनमा बसेर साँझ पालो नपाएर घर फर्किनु पर्ने बाध्यता पनि छ । काठमाडौंका ठूला अस्पताल वीर, टिचिङ, थापाथली र शुक्रराज अस्पतालमा अप्रेसनको लागि महिनौ कुर्नुु पर्ने बाध्यता छ । आम नागरिकको यो गुनासोलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल सेवा सुधारको सुरुवात गरेका गरिने प्रतिबद्धता गरेका थिए । उनले स्वास्थ्यमन्त्रीको सपथ लिएकै दिन अस्पतालको भीड व्यपस्थापन गर्ने निर्णय गरेका थिए । अहिले उनी स्वास्थ्य मन्त्री बनेको एक महिना भएको छ । आफ्नो पहिलो निर्णयअनुसार मन्त्री पौडेलले सेवाग्राहीलाई सहजरूपमा सेवा प्रदान गर्न संघीय अस्पताल र प्रतिष्ठानका प्रमुखसँग छलफल पनि गरेका छन् । उनले आफूले गरेको पहिलो निर्णयको कार्यान्वयन र प्रभावकारिताको विषयमा पनि सोधखोज गरेका छन् । अस्पतालहरूले पनि एक महिनाको अवधिमा धेरै सुधार भएको धारणा राखेका छन् । कुन अस्पतालको कस्तो सुधार ? शुक्रराज ट्रपिकल काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भीडभाड कम गर्न ओपीडी सेवा दुई सिफ्टमा गर्न थालेको छ भने चार वटा टिकट काउन्टर टोकन प्रर्णाली, अनलाइन टिकेटिङको व्यवस्था गरेको जानकारी दिएको छ । अस्पतालले शैया अभावमा भर्ना नपाउने अवस्थाको अन्त्य भएको, स्वास्थ्य बीमा मार्फत प्राप्त हुने फार्मेसीमा ९० प्रतिशतभन्दा बढी औषधी उपलब्ध गराइएको र चौबीसै घण्टा सोधपुछका लागि साहयता कक्ष सञ्चालन गरेको बताएको छ । यस्तै, अस्पतालमा पीउने पानी, शौचालयको सफाइमा ध्यान दिनेदेखि नियमित कामका लागि अस्पताल प्रमुखलाई पर्खन नपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पताल यो अस्पतालले भीड व्यवस्थापनका लागि अनलाइन टिकेटिङ प्रभावकारी बनाएको जानकारी दिएको छ । अस्पतालका निर्देशक श्री अधिकारीले जनरल ओपीडी सेवा ९ बजेदेखि ४ बजेसम्म र अपरेशन सेवा पनि १ घण्टा बढाइ ९ बजेदेखि ४ बजेसम्म राखेको जानकारी दिए । यस्तै, विस्तारित अस्पताल सेवा अन्तर्गत ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म, गर्भमा भएको बच्चाको मुटु इकोकार्डियोग्राफी, नवजात शिशु तथा बालरोगको विस्तारित ओपीडी सेवा ४ बजेदेखि ६ बजेसम्म दिने गरेको छ । आमा सुरक्षा र नवजात शिशु निःशुल्क उपचार सेवा र औषधीको कमी हुन नदिन कर्मचारीलाई जिम्मा दिइएको, सोधपुछ÷सहायता कक्ष व्यवस्था, गुनासो सुन्ने कार्य प्रभावकारी बनाइ सरसफाईमा ध्यान दिरहेको अस्पतालले जनाएको छ । वीर अस्पताल नेपालकै सबैभन्दा जेठो अस्पताल हो वीर अस्पताल । यो अस्पतालमा सेवा लिन निकै कठिन हुने गरेको बिरामीको पनि गुनासो हुन्छ । स्वास्थ्य मन्त्री पौडेलको निर्देशनपछि वीर अस्पतालले ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ भने जनशक्ति थप्दै अझ सुधार गर्ने निर्णय गरेको छ । अस्पतालले साउन १३ गतेदेखि इएचसी सेवा लागु गरेको छ भने तीन स्थानमा फार्मेसी र खाजाको समयमा पनि टिकट काउन्टर खुला राखी सेवा दिएको अस्पतालले जानकारी दिएको छ । राष्ट्रिय ट्रमा सेन्टर यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा सञ्चालन गरेको छ । बिहान साढे ८ बजेदेखि साढे ४ बजे र इएचसी, ओपीडी अपरान्ह साढे ४ बजेदेखि दिन सुरु गरेको छ । यस्तै, विस्तारित अस्पताल सेवा कार्यक्रम व्यवस्थित गरेको, आकस्मिक शल्यक्रिया २४ सै घन्टा सञ्चालन गरिएको र नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको ७ दिनभित्र र ओपीडी अन्तर्गतका बिरामीको १ महिना भित्रमा शल्यक्रियाको पालो आउने व्यवस्था मिलाइएको जानकारी दिएको छ । अस्पतालको स्वास्थ्य बीमा औषधी पर्याप्त राख्ने र दुई फार्मेसी सञ्चालन, दइटा टिकट काउन्टर तथा अनलाइन टिकटको व्यवस्था गरेको अस्पतालले जानकारी दिएको छ । भक्तपुर क्यान्सर अस्पताल यो अस्पतालले पनि ओपीडी दुई सिफ्टमा र विस्तारित स्वास्थ्य सेवा सुरू गरेको छ । अस्पतालका अनुसार इएचसी सेवा थप गरी सर्जरी र रेडियोलोजी लगायत अन्य विभागमा लागु गरेको छ । अस्पतालमा बिरामी भर्ना, खाली बेड वेवसाइटबाटै जानकारी दिने र ५ वटा शल्यक्रिया कक्षमा शल्यक्रिया हुने व्यवस्था गरेको छ । अस्पतालका अनुसार ९० प्रकारका केमोथेरापी औषधी र अन्य औषधी बीमा फार्मेसीमा उपलब्ध गराइने, टिकट काउन्टरमा टोकन र क्युआर भुक्तानी प्रणाली लागु गरिएको जानकारी दिएको छ । मोनमोहन कार्डियोथोरासिक भास्कुलर यो अस्पतालले ओपीडी टिकट बिहान साढे ११ बजेसम्म उपलब्ध गराई दिउसो परामर्श दिने कार्य सुरु गरेको छ । शल्यक्रिया र उपचारको लागि एक महिनाभन्दा कम समय दिइने, अनलाइन टिकट मोबाइल एपबाटै लिन सकिने र ल्याब रिपोर्ट अनलाइनबाटै प्राप्त गर्ने योजना यस अस्पतालले राखेको छ । कान्ती बाल अस्पताल बालबालिकालाई सेवा दिने यो अस्पतालले ओपीडी दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । विस्तारित अस्पताल सेवा लागु गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन गर्ने, ३ बेड पीआईसीयू थप, ३ एनआइसीयू बेड र २० अब्जरवेसन बेड थप गर्ने तयारी अस्पतालले गरेको छ । यस्तै, स्वास्थ्य बीमा मार्फत् प्राप्त हुने ८० प्रतिशत औषधी उपलब्ध गराउने, टिकट काउन्टर संख्या थप, अनलाइन टिकट र विद्युतीय भुक्तानी प्रणाली सुचारु गरी भीड व्यवस्थापनका लागि टोकन प्रणाली थप व्यवस्थित गरिने अस्पतालले जानकारी दिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान यो अस्पतालले भीड व्यवस्थापनका लागि जर्नल पेइङ्ग क्लिनिक प्रणालीको व्यवस्था गरेको छ । यस्तै, विस्तारित सेवा प्रवाहका लागि पीपीपी सेवा थप व्यवस्थित गर्ने, चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज समय व्यवस्थापन, डिजिटल विलिङ भाद्र १ देखि लागु गर्ने, बिदाको दिनमा समेत ओपीडी एवं शल्यक्रिया सेवा सञ्चालन गर्ने योजना बनाएको छ । आयुर्वेद चिकित्सालय आयुर्वेद चिकित्सालय अस्पतालले ओपीडी र काउन्टर सेवा बिहान साढे ८ देखि दिउँसो २ बजे र बेलुका साढे २ देखि ५ बजेसम्म सञ्चालन गर्ने, विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागु गर्ने तयारी गरेको छ । अस्पतालले चिकित्सक राउन्ड, बिरामी भर्ना, डिस्चार्ज सेवा सुधार, टोकन र विद्युतीय भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

बी एण्ड बी अस्पतालमा सुरु भयो रोबोटिक शल्यक्रिया

काठमाडौं । बी एण्ड बी अस्पतालले नेपालमा पहिलो रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । ललितपुरमा रहेको बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको हो । अस्पतालका अनुसार यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको छ जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने छ भने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्नेछ । ‘बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको शुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउँछ, रिकभरी समय कम गर्छ र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुन्छ ।’ उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ । बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल वैद्यले भने, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौ । यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो। रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ।’ बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवातले संस्थाको निरन्तर सुधार र चिकित्सा प्रविधिमा अत्याधुनिकता अपनाउने प्रतिबद्धतालाई प्रस्तुत गर्ने अस्पतालको दाबी छ । यो ऐतिहासिक उपलब्धिले नेपालमा स्वास्थ्य सेवाको परिदृश्यलाई रूपान्तरण गर्दै बिरामीहरूलाई अत्याधुनिक शल्यक्रियामा पहुँच प्रदान गर्नेछ कम्पनीले जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री पौडेलको कार्ययोजना- अस्पतालमा बिरामीको भीड व्यवस्थापन गर्नेदेखि बीमा सेवा बढाउनेसम्म

काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकले सहज उपचार नपइरहेको बेला स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यो सेवालाई थप बढाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब १ महिनाको अनुभवपछि मन्त्री पौडेलले ‘प्राथमिकता तथा कार्ययोजना’ प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मन्त्रीमा सपथ खाएकै दिन ठूला सरकारी अस्पतालमा भएको बिरामीको भीड व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका पौडेलले स्वास्थ्य बीमा सेवा बढाउनेदेखि स्वास्थ्य क्षेत्रको खरिद प्रणाली पारदर्शी बनाउनेसम्मका योजना प्रस्तुत गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको हालको दायरा बढाइ कम्तिमा ५ लाख बनाउने गरी प्रस्ताव राखेका छन् । तर, यता अस्पतालमा भने सेवा ग्राहीलाई एक लाखकै सेवा पाउन मुस्किल भइरहेको छ । सेवालाई गुणस्तरीय र आबद्धतालाई द्रुत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानुनी व्यवस्थामा वश्यक पुनरावलोकन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ । सरकारले विभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रूपमा स्वास्थ्य सेवा दिइरहेकोमा सबै सेवा र सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई बीमाको छाताभित्र राख्ने पौडेलको योजना छ ।  योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रम र अन्य सामाजिक सुरक्षा एवं बिमाका अन्य कार्यक्रमलाई स्वास्थ्य बीमासँग जोड्न पहल गरिने, बीमाको प्रारम्भिक प्रवेश विन्दु र प्रेषण प्रणालीको विद्यमान झन्झटिलो प्रक्रियालाई पुनरावलोकन गरी, बीमा आबद्धता, नवीकरण, प्रारम्भिक प्रवेश विन्दु र प्रेषण लगायतका सन्दर्भमा स्थानीय तह प्रदेश सरकारसँग समन्वय गरिने उनको कार्ययोजनामा छ । बीमामा २८ प्रतिशतमात्र आबद्ध पौडेलले बीमामा आबद्ध नागरिकको संख्या बढाउने योजना बनाइरहेका बेला यता स्वास्थ्य बीमामा भने करिब २८ प्रतिशत नागरिक आबद्ध रहेको पाइएको छ । बीमा बोर्डले ८० प्रतिशत नागरिकलाई आबद्ध गराउने लक्ष्य राखेको छ । स्वाीथ्यमन्त्री पौडेलले बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी दाबी प्रविष्टिका लागि सबै सेवा प्रदायकको इएमआर प्रणाली लागु गरिने योजना बनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रमका आबद्ध सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाहरूमा बीमा तथा गैर बीमाका बिरामीको हकमा लाग्ने उपचार तथा निदान शुल्कमा एकरूपता ल्याइनेछ । यसका लागि स्वास्थ्य बीमा कार्यक्रममा आवद्द नागिरकहरुको अनावश्यक जाँच, निदान र उपचारलाई निरुत्साहित गर्न स्वास्थ्य बीमा कार्यक्रममा सह भुक्तानीको व्यवस्थालाई पुनरावलोकन गरिने जनाइएको छ । हाल विद्यमान स्वास्थ्य करकोषबाट थप रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने व्यवस्था गर्ने, निश्चित मात्राभन्दा बढी चिनीजन्य पदार्थ प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य सुगर ६याक्स लगाउने र संकलित रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने योजना मन्त्रीको छ । चिकित्सा शिक्षा मन्त्री पाैडेलले सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषयहरू अध्ययन अध्यापन गराउन विगतमा भएका अध्ययनलाई पुनरावलोकन गरी शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग समन्वय गर्ने योजना सार्वजनिक गरेका छन् । हाल मुलुकमा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालहरूमा नर्सिङ र तीन सय बेडभन्दा माथिका अस्पतालमा मात्र अध्ययन गर्न पाउने कानुन रहेको छ । राज्यका तीन वटै निकाय चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वय गरी अनिवार्य (छात्रवृत्ति) करार सेवा अवधिलाई व्यवस्थित गरिने, नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आवद्ध गर्न आवश्यक प्रबन्ध गरिने उल्लेख छ । लाइन हटाउने योजना उसो त मन्त्री पौडेलले पहिलो निर्णय नै अस्पतालको लाइन घटाउने बनाएका थिए । उनले सार्वजनिक गरेको प्राथिमकता तथा कार्ययोजनामा पनि यो कुरा समावेश गरेका छन् । मन्त्री पौडेलले संघीय अस्पतालको सेवा विस्तार एवं अस्पतालहरूमा शल्यक्रिया क्षमता विस्तार गरी शल्य चिकित्सा सेवामा हुने लामो लाइन घटाउन संघीय अस्पतालहरूको अपरेसन थिएटरमा पूर्वाधार थप गरिने उल्लेख गरेका छन् । सबै प्रकारका स्वास्थ्य संस्थामा सेवाका आधारमा न्युनतम सेवा मापदण्ड निर्धारण र पुनरावलोकन (वर्षभरि निरन्तर रूपमा उपलब्ध सेवाहरू – २४ घन्टा इमर्जेन्सी, ओपीडी, अन्तरंग, भिडियो एक्सरे, फार्मेसी ल्याबुको सेवा, सुत्केरी डेलिभरी र तीनका गुणस्तरका आधारमा वर्गीकरण) गरी सो को कार्यान्वयन र प्रभावकारी सुपरिवेक्षणको व्यवस्था गरिने उल्लेख छ । नीतिगत र कानूनी सुधार मन्त्री पौडेलले यसका लागि औषधी ऐनको प्रतिस्थापन विधेयक तर्जुमा गरिने, स्वास्थ्य सेवाका जनशक्ति व्यवस्थापनका सन्दर्भमा एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमा गरिने, संघ अन्तर्गतका अस्पताल विकास समितिको काम कारबाहीमा एकरूपता ल्याउन आवश्यक कानुनी प्रबन्ध गरिने उल्लेख गरेका छन् । कार्ययोजना सार्वजनिक गर्दै पौडेलले भने,‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि छाता ऐन,स्वास्थ्य बीमा नियमावली संशोधन कार्यान्वयन गरिनेछ ।’ स्वास्थ्य क्षेत्रको खरिद् प्रणालीलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद नियमावलीमा पुनरावलोकन गर्न आवश्यक पहलकदमी लिइ स्वास्थ्यजन्य सामाग्री खरिद सम्बन्धि मापदण्ड बनाइने उनले बताएका छन् । यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा संशोधन गरी गैरजमानती गिरफ्तार (जेल विदआउट वेल) गर्ने व्यवस्थालाई प्रभावकारी बनाइने, गुणस्तर प्राधिकरण ऐन तर्जुमा गरिने,संक्रामक रोग ऐन, २०२० लाई संशोधन गरिने,तीनै तहका सरकारसँग समन्वय हुने गरी आपतकालीन स्वास्थ्य सेवा व्यवस्थानका लागि कार्यविधि र संरचना बनाइने उल्लेख गरेका छन् । सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ परिमार्जन गर्ने,स्वास्थ्य प्रवर्द्धन तथा संचार रणनीति तयार गरिने पनि मन्त्रीको कार्ययोजनामा छ । निरोगी नेपालको नारा नेपाल सरकारले निरोगी नेपालको नारा ल्याएको छ । कुनै पनि नागरिक अस्वस्थ रहन नदिने गरी ‘आगामी पुस्ता, निरोगी पुस्ता’ कार्यक्रम ल्याइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । उनले नेपालमा नसर्ने रोगको भार बढ्दो रहेको बताउँदै रोग लागेकाहरूलाई कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा सरकारले चिन्तन गरिरहेको बताए । ‘यो चिन्तन गर्नु आफैमा स्वभाविक छ, नेपालमा सहरीकरण बढ्दो अवस्थामा छ, बसाइँसराइँ बढ्दो अवस्थामा छ, वायुप्रदूषण व्यापक ढंगले बढेको छ भने जलवायु परिर्वतनको प्रभाव दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘यो कुरालाई ख्याल गरेर उपचार पद्धती जति फराकिलो बनाए पनि राज्यले समस्यामा रहेका सबै नागरिकलाई सहयोग गर्ने स्थिति बन्न सक्दैन, यसैले रोग लाग्ने नागरिक उत्पादन हुन नदिने गरी कसरी नीति बनाउन सकिन्छ भन्ने विषयमा सरकारले यो कार्यक्रम ल्याएको हो ।’ आयुर्वेद र वैकल्पिक चिकित्सा पौडेलले राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताएका छन् । यसका लागि बुढानीलकण्ठ नगरपालिकामा निर्माणाधिन ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ को निर्माण गरी सञ्चालनमा ल्याइने, आयुर्वेदिक औषधी उत्पादनमा आत्मनिर्भर हन सिंहदरवार वैद्यखानालाई पुनरसंरचना गरिने, देशमा सञ्चालनमा रहेका सबै आयुर्वेद अस्पतालहरूको संरक्षण गर्दै संरचनागत सुधार गरी थप प्रभावकारी बनाइने उल्लेख छ । यस्तै, प्रत्येक प्रदेशमा निर्माण हुने प्राकृतिक तथा अन्य वैकल्पिक चिकित्सा विधा सहितको एक सय शैयाका आयुर्वेद अस्पतालको निर्माण कार्यलाई तीव्रता दिइने जनाइएको छ । सातवटै प्रदेशमा क्यान्सर रोग सेवा विस्तार गरिने पौडेलले सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने बताएका छन् । सातवटै प्रदेशका अस्पतालमा एनआइसीयू, एचडीयु सहितको प्रसुति तथा बाल स्वास्थ्य केन्द्र र जिल्ला तहका अस्पतालमा सञ्चालन गरिने उल्लेख छ । यस्तै, सातै प्रदेशमा मानव अंग प्रत्यारोपणको सेवा विस्तार गरिने,कैलालीको गेटा अस्पतालको अन्तरंग सेवा तत्काल सञ्चालनमा ल्याइने उल्लेख छ ।