प्रसूतिगृहबाट एक वर्षमा ३० हजार महिलाले सेवा लिए

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार ९ सय ५२ महिलाले सेवा लिएका छन् । प्रसूतितर्फ २५ हजार १ सय १६ तथा स्त्री रोगतर्फ ५ हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालले आज ६५औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा यहाँ आयोजना गरिएको कार्यक्रममा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गत आवमा नवजात शिशु सघन उपचारतर्फ २ हजार ७ सय ८७ र मातृ सघन उपचारतर्फ ४ सय ५४ जना भर्ना भएका जानकारी दिए । बहिरंग सेवातर्फ एक लाख ९४ हजार ४ सय ९० जनाले सेवा लिएको उनले बताए । विसं २०१६ भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट स्थापना भएको उक्त अस्पतालमा हाल चार सय ८९ शय्या सञ्चालनमा छन् । निर्देशक डा अधिकारीले अस्पतालको वार्षिक गतिविधि बारे प्रकाश पार्दै प्रसूतितर्फ भर्ना भएका २५ हजार एक सय १६ मध्ये २२ हजार तीन सय ७९ जना प्रसूति डेलिभरी भएको उल्लेख गर्दै उनीहरुले २२ हजार ६ सय १३ शिशुलाई जन्म दिएको बताए । उनले भने, ‘कुल डेलिभरीमध्ये ९ हजार ६ सय ५२ जना (४३ प्रतिशत) को शल्यक्रिया गरिएको थियो । सो संख्या गत आवको तुलनामा ४ प्रतिशतले बढी हो ।’ गत आवमा ९ हजार ११ निःसन्तान सम्बन्धी सेवग्राहीले ओपिडिबाट सेवा लिएका थिए । जसमध्ये २ सय २२ महिलाले आइयुआई सेवा र २० निःसन्तान सेवाग्राहीले आईभिएफ सेवा लिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपालमा नै पहिलोपटक ‘नियोनेटल स्क्रिनिङ टेष्ट’को कार्य सो अस्पतालमा यही साउन २९ गतेदेखि सुरुवात गरिएको छ । साथै, अस्पतालले हालै मानसिक स्वास्थ्य सेवा समेत सुरु गरेको छ । वार्षिकोत्सवको अवसरमा जन्मिएदेखि ४५ दिनसम्म, ४५ दिनदेखि ६ महिनासम्म र ६ महिनादेखि एक वर्षसम्मका स्वस्थ शिशुलाई पुरस्कृत गरिएको थियो ।

चितवनका ५ सय बढीमा डेंगी संक्रमण

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३ सय ९४ जनाको परीक्षण गर्दा ५ सय ८८ जनामा डेंगी संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ सय १७ चितवनका छन्भने १ सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, ‘सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई संक्रमणको जोखिम रहन्छ ।’ साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा २ सय ३६ जनामा डेंगी संक्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा १ सय ७, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा ८ जनामा संक्रमण देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये २ सय २५ महिला र १ सय ९२ जना पुरुष छन् । वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेंगी रोग देखिने गरेको केसीले बताए । उनले भने, ‘अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्यांकी, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिए । डेंगी रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्ने उनले बताए । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ । यस्तै, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए । डेंगी ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ । डेंगीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै बीपी क्यान्सर अस्पताल

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ । यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता भइसकेको भन्दै उनले सन् २०२४ को अन्तिमदेखि भवन निर्माण सुरु हुने बताए । गत वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसक्नुभएको निर्देशक डा. पौडेलले जानकारी दिए । सम्झौतामा ‘चीन सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ’ भन्ने उल्लेख छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको उनले बताए । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार चिनिया टोली यहाँ आएर भवन निर्माणस्थलको अनुगमन गरेर गइसकेको छ । उनले हालको प्रशासन भवनको पछाडि रहेको जग्गा छनोट गरिएको बताए । उपनिर्देशक नेपालले ठाउँको छनोट भइसकेको भन्दै उक्त ठाउँको माटो परीक्षणको काम समेत चिनियाँ टोलीले गरिसकेको जानकारी दिए । आफूहरूले स्थान दिने, पानी र बिजुलीको व्यवस्थापनलगायत स्थानीय समन्वय गर्ने बताउँदै उपनिर्देशक नेपालले भने, ‘भवन निर्माणदेखि उपकरण खरिद र जनशक्तिलाई तालिमसम्मको काम चिनियाँ सहयोगमा हुन्छ । भवनको डिजाइन, प्रविधि सबै चिनियाँले गर्ने सहमति भएको छ ।’ नेपालमा फाट्टफुट्ट काठमाडौंमा ‘बोनम्यारो’ प्रत्यारोपणको काम हुने भए पनि छुट्टै युनिट बनाएर गर्न लागिएको यो पहिलो भएको उपनिर्देशक नेपालको भनाइ छ । बोनम्यारो प्रत्यारोपण युनिट पाँच शय्याको हुने उनले जानकारी दिए । कार्यकारी निर्देशक डा. पौडेलले निर्माण सुरु भएको एक वर्षमा भवन सम्पन्न हुने जनाउँदै त्यसलगत्तै सेवा सञ्चालन हुने बताए । उनले भने, ‘चिनियाँ आफैंले निर्माण गर्ने भएकाले काम छिटो हुन्छ ।’ उपकरण खरिद पनि चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाले गर्ने भएकाले झन्झटिलो नहुने भन्दै उनले भवन निर्माण सम्पन्न भएलगत्तै उपकरण जडान गरेर सेवा सञ्चालन हुने बताए । कार्यकारी निर्देशक डा. पौडेलका अनुसार भवन निर्माण र उपकरण खरिदपछि यहाँका जनशक्तिलाई तालिमसमेत चिनियाँ टोलीले उपलब्ध गराउने छ । उनले भने, ‘सम्पूर्ण तयारी पूरा गरेर अस्पताललाई हस्तान्तरण गर्ने हो । यो अस्पतालको निर्माणसमेत चिनियाँ सरकारको सहयोगमा भएको हो ।’