गोविन्द केसीसँग स्वास्थ्यमन्त्री पौडेलले भने – तपाईंको माग पूरा गर्ने गरी सुधार थालेको छु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढेको बताए । ‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए । तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन्,’ मन्त्री पौडेलले भने, ‘त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन् ।’ मन्त्री पौडेलले विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटसमेत एमबीबीएस चिकित्सक अध्ययन थाल्ने गरी निर्णय कार्यान्वयनमा गएको जानकारी दिए । उपत्यकाबाहिर दक्ष चिकित्सा जनशक्ति तथा स्तरीय अस्पतालका विषयमा चिकित्सक केसीले उठाएकै मागसँग मिल्ने गरी हालै आफ्नै अध्यक्षताको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थप पोस्ट ग्रयाजुएट चिकित्सक उत्पादन गर्न मिल्ने गरी चिकित्सक दरबन्दी स्वीकृत गरेको जानकारी दिए । तत्काल चिकित्सक दरबन्दी थप्न नसकिए पनि भएकै चिकित्सकबाट अधिक सेवा दिने गरी दुई सिफ्टमा सघीय अस्पतालमा सेवा थालिएको भन्दै मन्त्री पौडेलले यसले सरकारी चिकित्सकले बाहिर काम गर्नुपर्ने समस्या कम गर्न सक्ने बताए । चिकित्सक केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरेका थिए । मन्त्री पौडेलले चिकित्सककै सुविधा र सेवा वृद्धि गर्नेगरी व्यवस्था गर्न थालेको भन्दै यसमा आफ्नो अधिकतम प्रयास रहने बताए । स्वास्थ्य सेवाका चिकित्सकको सेवा र समस्या सम्बोधन गर्नका लागि स्वास्थ्य सेवा ऐन ल्याउने तयारीसमेत आफूले गरिरहेको मन्त्री पौडेलले बताए । ‘चिकित्सा सेवाको भूमिका र उनीहरुको योगदानलाई मूल्यांकन गर्ने गरी नै चिकित्सा सेवा ऐन ल्याउन लागेका हौं,’ मन्त्री पौडेलले भने, ‘त्यसले पनि धेरै कुरा सम्बोधन गर्नेछ ।’
धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
काभ्रेपलाञ्चोक । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ८५ हजार ७० जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको हो । बोर्डको जिल्ला संयोजक मुना निरौलाका अनुसार १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । उक्त नगरका ३३ हजार ७ सय २६ जनसङ्ख्यामध्ये ३२ हजार ४ सय ११ जनाले स्वास्थ्य बीमा गराएका हुन् । विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषित धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको उक्त घोषणा गरिएको हो । “ सबै नगरवासीको स्वास्थ्य बीमा गराउने लक्ष्य छ, त्यो चालु आर्थिक वर्षमा पूरा गर्नेछौँ”, ब्याञ्जूले भने । जिल्लाका बिमितले धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी, सुन्थान र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपास्थित रेयूकाइ एईको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । सरकारले नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सामाजिक स्वास्थ्य बीमाको आधारमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
१८ करोड खर्चेर म्याग्दीका ६ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छ वटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार संघीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले १८ करोड रुपैयाँ लागतमा छ वटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८/८२ मा एक करोड ४५ लाख रुपैयाँको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०/८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले ८५ लाख ७३ हजार तीन सय ३५ रुपैयाँ भुक्तानी पाएको थियो । सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिए ।