नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु
काठमाडौं । विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्ठ स्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । विरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो । स्ट्रोक युनिटका लागि तालिम प्राप्त नर्सिङ सेवा देखि छुट्टै बेड, अपरेशन थिएटर, आईसियु र जाँच गर्ने ठाउँ छुट्याइएको छ । त्यस्तै यो युनिट सञ्चलान गर्नका लागि अस्पतालले अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल र गाइडलाईन तयार पारेको छ जसमा स्ट्रोकको आपतकालीन अवस्थाको मुल्याङकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी तथा थ्रोमबोलाइसिस् उपचार विधि अपनाउने, विरामीलाई स्वालोइङ तथा स्पिच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकता पर्छ, त्यही अनुसार सेवाहरुको व्यवस्था गरिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका विरामी बढ्दै गएको र यसको अपतकालीन समयबारे मानिसहरुमा कम जनचेतना रहेका कारण उक्त युनिट सञ्चालनमा ल्याइएको बताए । ‘हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरुको प्रचारका लागि नभई मानिसहरुमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका विरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरेका हौं,’ उनले भने । स्ट्रोक युनिटलाई पूर्ण रुपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरद्धारा उद्धार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्राकको विरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पुर्याउनुपर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टीम पनि उपचारका लागि साथ रहन्छ । न्यूरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा.बाबुराम पोखरेलले नेपालमा स्ट्रोकका विरामीहरुका लागि यसरी विशेष स्ट्रोक युनिट सञ्चालनमा ल्याउनु भनेको एकदमै राम्रो कदम रहेको बताए । उनले अन्य विरामीहरु माझ स्ट्रोकका विरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने सम्भावना धेरै र पुर्नस्थापना पनि छिटो हुने बताए । ‘स्ट्रोक युनिटमा रहँदा विरामीलाई आपतकालीन उपचार, होमियोस्टेसिसको सामान्यीकरण, जटिलताहरुको रोकथाम, पुर्नस्थापना देखि विभिन्न विभागहरुबाट पनि हेरचाह गर्ने प्रबन्ध मिलाइएको हुन्छ, जसले गर्दा मृत्यु र अशक्तताको जोखिमलाई कम गर्दछ’, उनले भने । डा. पोखरेलले यो युनिटको आवश्यकता पर्नुको अर्को मुख्य कारण भनेको बढ्दै गएको स्ट्रोेकको विरामीको संख्या रहेको बताए । हृदयघात पछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक ४ जनामा एक जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ । नेपाल मेडिसिटी अस्पतालमा सञ्चालनदेखि नै स्ट्रोकको उपचार गरिँदै आएको छ । अस्पतालमा दैनिक ४ जना विरामीहरु स्ट्रोकका कारण भर्ना हुने गरेका छन् । एक अध्ययनका अनुसार हरेक वर्र्ष नेपालमा ३३००० मानिसहरुलाई स्ट्रोक हुने गरेको छ । ‘धेरै जसो विरामीहरु ढिला अस्पताल आइपुग्ने गरेका छन् । स्ट्रोकको लक्षण देखिन थालेको ३ देखि ४ घण्टाभित्र अस्पताल आइपुगी उपचार गर्न सके विरामीमा कुनै किसिमका अपाङगता हुने सम्भावना कम रहन्छ । त्यतिबेलासम्ममा ब्रेन ड्यामेज रिभर्स गर्न सकिन्छ, तर ढिला भएमा मानिसको ज्यान देखि जिन्दगीभर अशक्त भई बस्नुपर्ने अवस्था आउन सक्छ,’ डा. पोखरेलले भने ।
ड्राइभ गर्दा कारको झ्याल खुल्ला राख्नुहुन्छ ? यस्ता छन् बेफाइदा, स्वास्थ्यमा पनि जोखिम
काठमाडौं । के तपाईं गाडी चलाउँदा झ्यालको सिसा खोल्नुहुन्छ ? कार चलाउँदा मानिसहरू रहरले सिसा वा सनरुफ खोल्छन् तर के तपाईंलाई थाहा छ- त्यसो गर्नु घातक हुन सक्छ ? यदि तपाईंलाई थाहा छैन भने आज हामी तपाईंहरूलाई यसबारेमा संक्षिप्तरूपमा बताउन गइरहेका छाैं । यस्ताे बानीले तपाईंकाे कारको साथसाथै तपाईंको स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ । कारकाे इन्धन खपतमा वृद्धि गाडी चलाउने क्रममा कारको झ्याल खोल्दा हावा कारभित्र आउँछ र एयर ड्र्याग बनाउँछ । यो एयर ड्र्याग कम गर्न कारले कडा मेहनत गर्नुपर्छ र यसले इन्धन खपत बढाउँछ । झ्याल खोलेर चलाउँदा एसीको तुलनामा १० प्रतिशतसम्म इन्धन खपत बढ्न सक्छ । झ्यालहरू खुला राख्नाले गाडीभित्र धुलो र फोहोर पनि जम्मा हुन्छ । प्रदूषणको खतरा जब तपाईं झ्याल तल राखेर कार चलाउनुहुन्छ तब तपाईं सिधै वायु प्रदूषणको सामना गर्नुहुन्छ । बाहिरी हावामा रहेको धुलोधुवाँ र हानिकारक ग्यासहरू तपाईंको शरीरमा प्रवेश गर्न सक्छन् । लामो समयसम्म प्रदूषित हावामा सास फेर्दा सास फेर्न समस्या, आँखा जलन र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छन् । कारका झ्यालहरू खुला राख्नाले बाहिरी आवाज सिधै तपाईंको कानमा पुग्छ, जसले तपाईंको कानमा पनि क्षति पुर्याउन सक्छ । सुरक्षासँग सम्बन्धित खतराहरू पनि झ्यालहरू खुला राख्दा चोरहरू सजिलै कारभित्र घुस्न सक्छन् । साथै झ्यालको सिसा खुलै राख्दा कारभित्र लामखुट्टे र अन्य कीरा पस्न सक्छन्, जसले समस्या निम्त्याउन सक्छ । तपाईं कारको झ्याल कुनबेला खुला राख्न सक्नुहुन्छ ? छोटो दूरीमा यात्रा गर्दै हुनुहुन्छ भने झ्याल खोल्नु राम्रो हुन्छ । तर, काठमाडाैंदेखि भरतपुर अथवा पाेखरा जाँदै हुनुहुन्छ भने यस्तो गल्ती नगर्नूहोस्, किनकि प्रदूषण अत्यधिक छ । यदि तपाईं सफा हावा भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ । यदि तपाईंको कारको एसी बिग्रिएको छ भने पनि तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ ।
सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामार्थ्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसैअन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ । नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए । समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ, उनले भने, तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं । मन्त्री पौडेलले कार्यभार सम्हाल्नासाथ पहिलो निर्णय राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरेर थालेका थिए । र, नीतिअनुसार बालबालिकाको क्यान्सर न्यूनीकरण गर्न पहिलो निर्णय गरेको तीन महिनाभित्रै उनले तीन महिना पुग्नासाथ उपचार निःशुल्क गराउने निर्णय गरेका हुन् । सरकारले हरेक व्यक्तिलाई उपचारका लािग दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट उपचार खर्चको व्यवस्थापन गरि उपचार गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।