खातामा साढे १५ खर्ब विदेशी मुद्रा, साट्न जाँदा ३०० डलर भन्दा बढी पाइँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही सयम अघि सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति छ । अझ अमेरिकी डलरमा हिसाब गर्दा ११ अर्ब ७४ करोड अमेरिकी डलर नेपालसँग छ । तर, राष्ट्र बैंकमा अमेरिकी डलर साट्न जाने नेपालीहरुले भने सहजै विदेशी मुद्रा पाइरहेका छैनन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई समेत प्रशस्त विदेशी मुद्रा उपलब्ध गराउन सकेको छैन् । पछिल्ला दिनमा राष्ट्र बैंकमै विदेशी मुद्रा साट्न जाने नेपालीहरुको ताँती नै लाग्ने गरेको छ । विगतमा दैनिक ७/८ सय जनाले विदेशी मुद्रा सटही गरिरहेका भए पनि आइतबार भने १५ सयको हाराहारीमा मानिसहरु विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैैंक पुगेका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । ‘दैनिक सयौंको संख्यामा विदेशी मुद्रा सटहीका लागि आइराख्नु भएको छ, विद्यार्थी, पर्यटक लगायत सबै जना विदेश गइरहेका छन’, पोखरेलले भने । तथ्यांकमा हेर्दा विदेशी मुद्राको सञ्चिति प्रशस्त देखिने तर, नगद लिन जाँदा नपाउने अवस्था कसरी भयो ? राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेल भन्छन्, ‘बैंकको खातामा विदेशी मुद्रा प्रशस्त छ । तर, हामीसँग अहिले विदेशी नोट कम भएकोले मागे जति दिन सकेका छैनौं ।’ अन्य बैंकहरुको पनि अवस्था त्यस्तै छ । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली पनि विदेशी नोट पर्याप्त नहुँदा ग्राहकले मागे जति नगद दिन नसकिएको बताउँछन् । अहिले वाणिज्य बैंकदेखि राष्ट्र बैंकसम्मै विदेशी मुद्रा साट्न जानेमध्ये विद्यार्थी धेरै छन् । विदेश अध्ययनमा जाने विद्यार्थीहरु आफु जाने देशको मुद्रा अथवा अमेरिकी डलरको माग गर्दै राष्ट्र बैंक पुग्ने गरेका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट डलर सटही सुविधालाई खुकुलो बनाएको थियो । राष्ट्र बैंकले प्रतिब्यक्ति १५ सयबाट बढाएर २५ सय डलरसम्म नगद सटही गर्न सक्ने व्यवस्था गरेको छ । तर, अमेरिकी डलरको नोट अभाव भएपछि राष्ट्र बैंकले नै ३/४ सय अमेरिकी डलर मात्रै उपलब्ध गराइरहेको डा. पोखरेल बताउँछन् । राष्ट्र बैंकमा नगद नै माग गरेर गइरहेकाहरूलाई भने डलर कार्ड बनाउन र त्यसैमा पैसा लोड गर्न आग्रह गरिरहेको पोखरेलले बताए । ‘राष्ट्र बैंकले २५ सय डलर नै उपलब्ध गराउन सकेको छैन, अहिले ३/४ सय डलर मात्रै दिइरहेको छौं, नगदमा हामी धेरै दिन सक्दैनौं, डलर कार्ड बनाउनुहोस् भनिरहेका छौं’, उनले भने । हिमालयन बैंकका सहायक सीईओ गोर्खालीले पनि बैंकहरूमा विदेशी मुद्राको नगद सञ्चिति नभएपछि ग्राहकले मागेजति विदेशी मुद्रा नगदमै दिन नसकिएको र थोरै दिएर फर्काउने गरेको बताए । नेपालमा १५ खर्ब विदेशी मुद्रा सञ्चिती भएपनि त्यो खातामा मात्रै सीमित रहेको उनले बताए । नेपालमा बैंकिङ प्रणालीमा विदेशी मुद्रा (नगदमा) अभाव हुनुको कारण पर्यटनमा आएको कमी मुख्य रहेको बैंकरहरु बताउँछन् । पर्यटन नेपाल आउँदा उनीहरुले विदेशी मुद्रा ल्याइदिने हुँदा बैंकिङ प्रणालीमा अमेरिकी डलर नगदमै रहन्थ्यो । ‘विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदा प्रतिब्यक्ति ५/७ हजार डलर साट्छन्, त्यसरी नगद बढी हुन्थ्यो तर, अहिले पर्यटक पनि कम आएका छन्, साथै पयर्टकहरुले पनि डिजिटल कारोबार गर्न थाले, ट्राभल एजेन्सीलाई पनि नगद दिँदैनन्, क्रेडिट कार्डबाटै भुक्तानी गर्छन्, होटल रेष्टुरेन्टमा खाँदाबस्दा पनि कार्ड नै प्रयोग गर्छन्,’ उनले भने । नेपालीहरूलाई विदेश जाँदा कार्ड लिएर जानु भन्दा पनि नमान्ने गरेको गोर्खाली बताउँछन् । नेपालीहरुलाई नगद मात्रै कारोबार गर्ने बानी बसेकाले डलर कार्डको महत्व जानकारी नभएको उनले बताए । ‘हामीसँग प्रयाप्त मात्रामा विदेशी मुद्रा छ, बैंकहरुलाई डलर दिन केही समस्या छैन । तर, नगद मात्रै नभएको हो, विदेशी पर्यटकले नगद ल्याउने गरेका थिए । तर, पछिल्लो समय उनीहरुले पनि नगद ल्याउन छाडिसके,’ उनले भने, ‘नगद नभएपछि कार्ड लिएर जानुहोस् भन्दा नेपालीहरु मान्नुहुन्न ।’ साथै, दशैंमा हजारौं नेपालीहरु विदेश घुम्न जाने भएकाले अमेरिकी डलरको नगद माग अझै बढ्ने उनको भनाइ छ । उनका अनुसार यदि सबैलाई २५ सयका दरले नगद दिने हो भने पुग्दैन । ‘विदेशीहरु नेपालमा आउँदा एक हजार डलर मात्रै खर्च गर्छन्, तर नेपालीहरु विदेश जाँदा २५ सयदेखि चार हजार डलर खच गर्छन्,’ उनले भने । पर्यटनको सिजन सुरु हुन थालेकाले आगामी दिनमा नगदमा विदेशी मुद्रा बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । तर, विदेशी पर्यटकहरुले नगद नल्याइ कार्ड प्रयोग गरे भने समस्या हुन सक्ने बैंकरहरु बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले डलरको नगद अभाव हुन थालेपछि बैंकहरुले कार्डमा जोड दिइरहेको बताए । ‘बैंकहरुमा अहिले अमेरिकी डलरको नोट अभाव छ तर बैंकहरुले बाहिरबाट ल्याइरहनु भएको छ, राष्ट्र बैंकले पनि सहजीकरण गरिरहेको छ, रकम अभाव हुँदा कार्डलाई प्रमोट गरिरहेका छौं,’ उनले भने, ‘कार्ड सुरक्षित पनि हुन्छ, कार्ड प्रयोग गर्ने बानी नभएपनि बिस्तारै बानी बसाल्नु पर्छ ।’

विदेशी सम्बन्धन लिएका कलेजमा फेलै हुँदैनन् विद्यार्थी, त्रिविमा भने ४१ प्रतिशत मात्रै उत्तीर्ण

काठमाडौं । विदेशका विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुने गरेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार, विदेशको सम्बन्धन लिएर सञ्चालित कलेजमा पढ्ने कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन् । सामान्यतया नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालका निजी शिक्षण संस्थाहरुले मेडिकल, इन्जिनियरिङ, सूचना प्रविधि जस्ता विषयहरुबाहेक अन्य उपयोगितामुलक (एप्लाइड कोर्ष) र विषयगत कोर्षका शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । नेपालमा ८७ वटा कलेजहरुले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ । ती शिक्षण संस्थामा करीब २६ हजार विद्यार्थी स्नातक तह अध्ययन गर्छन । सम्बन्धित विश्वविद्यालयले लिने परीक्षामा सबै विद्यार्थी उत्तिर्ण हुने गरेको तथ्यांक विश्वविद्याय अनुदान आयोगले प्रकाशन गरेको रिपोर्टमा उल्लेख छ । कसरी सम्भव छ शतप्रतिशत उत्तीर्ण ? काठमाडौं तीनकुनेमा रहेको आइएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहमा बिएससी, बीबीए, बीएचएम र एमबीए लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका बिजनेस डेभलपमेन्ट अफिसर बासुदेव वस्तीकाअनुसार पढाइ बीचमा छाड्ने विद्यार्थी बाहेक कलेजमा पढ्ने सबै विद्यार्थीले आफ्नो तह उत्तीर्ण गर्ने गर्छन् । वस्तीका अनुसार विद्यार्थी पास वा फेल हुने नेपाली विश्वविद्यालयको जस्तो परीक्षा मोडल सन्डरल्यान्ड विश्वविद्यालयको छैन । ‘नेपालमा मात्रै पास र फेल भन्ने मोडालिटी हुन्छ, हामीकहाँ विद्यार्थी क्वालिफाइड भयो की भएन अथवा उसले अब के प्रोग्रेस गर्नुपर्ने थियो भन्ने हुन्छ अथवा सुधारात्मक सुझाव दिइन्छ’, उनले भने । विद्यार्थीलाई ३/४ तहमा परीक्षण गर्ने गरिएको र त्यस्तो परीक्षण पास वा फेल गराउनको लागि नभई उसलाई थप उत्कृष्ट बनाउनको लागि हुने गरेको वस्तीले बताए । ‘तीन–चार तहमा जाँच हुन्छ, पहिलो तहमा जाँच गर्दा उसले राम्रो गर्न सकेको देखिएन भने उसलाई आवश्यक सुझाव दिइन्छ र उसको सुधार तोकिएका विषय विज्ञले त्यसलाई हेर्छन्, त्यसपछि विश्वविद्यालयले भेरिफिकेसन गर्छ’, उनले भने । विद्यार्थीले पढ्ने विषयहरु अनुसन्धान र योजनामा आधारित हुने भएकाले अनुसन्धान तथा योजना कसरी सफल बनाउने भन्नेमा नै पढाइ र परीक्षा केन्द्रित हुने भएकाले विद्यार्थी फेल नहुने तर, तुलनात्मक रुपमा कम र बढी अब्बल भने हुने उनले बताए । त्यस्तै, काठमाडौं कमलपोखरी स्थित आइआइएमएस कलेजले मलेसियाको टेलर्स विश्वविद्यालयबाट सम्बन्धन लिएर बिसिएस, बिएचएम र बीबीए लगायतको कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका एकेडेमिक डाइरेक्टर बृहत बोस्वाका अनुसार बीचैमा पढाइ छाडेका बाहेक अरु सबै विद्यार्थी परीक्षामा शतप्रतिशत उत्तिर्ण हुन्छन् । ‘हाम्रो कलेजमा पढ्ने विद्यार्थी सेमेस्टरअनुसार हेर्दा ९० प्रतिशत भन्दा धेरै उत्तीर्ण हुँदै जान्छन्, अनि फाइनल सेमेस्टरमा पुगेपछि फेल हुने भन्ने नै हुँदैन’ बोस्वाले भने । नेपाली विश्वविद्यालयमा भने भर्ना भएका सबै विद्यार्थी एकै पटक परीक्षामा उत्तीर्ण भने हुँदैनन् । नेपालमा अहिले संघीय र प्रदेश सरकारको पहलमा खुलेका १६ वटा विश्वविद्यालय छन् भने अझै केही विश्वविद्यालय सञ्चालनको प्रक्रियामा छन् । आर्थिक सर्वेक्षण अनुसार २०७९ असार मसान्तसम्म नेपालका ११ वटा विश्वविद्यालयमा ६ लाख ८७ हजार विद्यार्थीले अध्ययन गर्थें । अन्य प्रारम्भिक रुपमा सञ्चालनमा आएका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या जोड्ने हो भने नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या झण्डै सात लाख पुगेको देखिन्छ । विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार स्नातक तहको अध्ययन पश्चात त्रिभुवन विश्वविद्यालयको ४१ प्रतिशत, पोखरा विश्वविद्यालयमा ६९ प्रतिशत, सूदूरपश्चिम विश्वविद्यालयमा ८२ प्रतिशत, लुम्बिनी बुद्ध विश्वविद्यालयमा ५१.९८ प्रतिशत, मध्य पश्चिम विश्वविद्यालयमा ३९.४८ प्रतिशत र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका छन् ।

विकास बैंक र फाइनान्सको सेयर कर्जा : ग्रीन र सेन्ट्रल आक्रामक, कुनको कति ?

काठमाडौं । राष्ट्र बैंकले कडाई गरेको भएपनि बैंक तथा वित्तीय संस्थाहरुले भने गत वर्ष सेयर कर्जा बढाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विकास बैंक र फाइनान्स कम्पनीले १३.८२ प्रतिशत सेयर कर्जा बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब १६ करोड ८८ लाख रुपैयाँ बढाएर १७ अर्ब ८५ करोड ६२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ मात्रै सेयर कर्जा दिएको तथ्याङ्कमा उल्लेख छ । समीक्षा अवधिमा विकास बैंकहरुको सेयर कर्जा २०.३२ प्रतिशत बढेर १४ अर्ब १६ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ७७ करोड रुपैयाँ सेयर मार्जिन कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरुले कर्जा बढाएको भएपनि वित्त कम्पनी अर्थात् फाइनान्स कम्पनीहरुको भने घटेको देखिन्छ । गत असारसम्म फाइनान्स कम्पनीहरुको सेयर कर्जा ५.७२ प्रतिशत घटेर ३ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीको सेयर कर्जा ३ अर्ब ९१ करोड रुपैयाँ थियो । ग्रीन डेभलपमेन्ट बैंक आक्रामक बन्दा ८ बैंकको बढ्यो गत वर्ष अधिकांश विकास बैंकले सेयर कर्जा बढाएको भएपनि केही बैंकले भने घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले सेयर कर्जा बढाएको छ । बैंकले १५०.२२ प्रतिशत बढाएर २ करोड २६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२६.७० प्रतिशत बढेर १ अर्ब २५ करोड, एक्सेल डेभलपमेन्ट बैंकको ९८.१६ प्रतिशत बढेर ४३ करोड २० लाख, गरिमा विकास बैंकको ४८.४० प्रतिशत बढेर १ अर्ब ५४ करोड र मुक्तिनाथ विकास बैंकको ३५.७४ व्रतिशत बढेर २ अर्ब ७८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै लुम्बिनी विकास बैंकको १८.२७ प्रतिशत बढेर १ अर्ब ८२ करोड, कामना सेवा विकास बैंकको १७.९२ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ र महालक्ष्मी विकास बैंकको १३.८३ प्रतिशत बढेर २ अर्ब ६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । मितेरी डेभलपमेन्ट बैंकले अघिल्लो वर्ष कर्जा दिएको थिएन भने गत वर्ष ५ करोड ३० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । तर, ज्योति विकास बैंकको ९.४७ प्रतिशत घटेर १ अर्ब ६६ करोड, नारायाणी डेभलपमेन्ट बैंकको १९.१४ प्रतिशत घटेर ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकको २२ प्रतिशत घटेर ९३ करोड ३३ लाख, सप्तकोशी डेभलपमेन्ट बैंको २५.८९ प्रतिशत घटेर १ करोड ३० करोड र सिन्धु विकास बैंकको ४५.५६ प्रतिशत घटेर १५ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । १३ वटा फाइनान्समध्ये ४ वटाले मात्रै बढाए गत वर्ष १३ वटा फाइनान्स कम्पनीले सेयर कर्जा प्रदान गरेका छन् । जसमध्ये ४ वटा फाइनान्सले बढाउँदा अधिकांशले सेयर कर्जा घटाएका छन् । गत असारसम्म सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सले ३०.८१ प्रतिशत बढाएर ६५ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेको छ । यस्तै, आइसिएफसिको २२.२५ प्रतिशत बढेर ५४ करोड ३६ लाख, श्रीइन्भेष्टमेन्ट फाइनान्सको २०.३२ प्रतिशत बढेर ४३ करोड ८७ लाख र नेपाल फाइनान्सको ५.७१ प्रतिशत बढेर १९ करोड ५७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । बेस्ट फाइनान्सको ०.५० प्रतिशत घटेर २२ करोड ६९ लाख, रिलायन्स फाइनान्सको ४.२५ प्रतिशत घटेर ४२ करोड ३४ लाख, मञ्जुश्री फाइनान्सको ७.३१ प्रतिशत घटेर ५४ करोड १० लाख र पोखरा फाइनान्सको १२.१८ प्रतिशत घटेर १९ करोड २७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको १२.५६ प्रतिशत घटेर ३४ करोड १४ लाख, समृद्धि फाइनान्सको १८.५० प्रतिशत घटेर १० करोड ४८ लाख, गुडविल फाइनान्सको २३.९६ प्रतिशत घटेर ३२ करोड ३५ लाख, प्रोग्रेसिभ फाइनान्सको २५.१६ प्रतिशत घटेर १६ करोड ४५ लाख र गोर्खाज फाइनान्सको ३५.६९ प्रतिशत घटेर १६ करोड १ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।