शिखरलाई उछिन्दै अघि बढे सलिको र सिद्धार्थ प्रिमियर, एनएलजी र प्रभुबीच टक्कर
काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरु बिजनेसमा एग्रेसिभ देखिएका छन् । भदौसम्मको तथ्यांकअनुसार मर्जरमा गएका कम्पनीहरुले बीमाशुल्क आर्जन अर्थात प्रिमियम संकलनमा एग्रेसिभ देखिएका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अधिकांश सूचकमा नम्बर वान स्थानमा रहेको शिखर इन्स्योरेन्सलाई मर्जरमा गएका कम्पनीले उछिनेका छन् । सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शिखर इन्स्योरेन्सको पहिलो स्थान खोस्दै प्रिमियम संकलनमा क्रमशः पहिलो र दोश्रो स्थानमा प्रवेश गरेका छन् । १४ कम्पनीमध्ये सलिकोले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । भदौ महिनासम्ममा कम्पनीले ९१ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ७३ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जारी बीमालेखमा भने सलिकोलाई सिद्धार्थ प्रिमियरले उछिनेको छ । सिद्धार्थ प्रिमियरले ५० हजार ८६१ वटा बीमालेख जारी गर्दा सलिको ४६ हजार ९५८ वटा बीमा पोलिसी जारी गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स तेश्रो स्थानमा झरेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ४३ हजार १८६ वटा बीमालेख जारी गरी ६६ करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । बीमा क्षेत्रमै पहिलो पटक मर्ज भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो अवधिमा कम्पनीले ३७ हजार ३८७ वटा बीमा पोलिसी जारी गरेको छ । पाँचौं स्थानमा आईजीआई प्रुडेन्सियल र छैटौंमा नेको इन्स्योरेन्स रहेका छन् । भदौसम्ममा आईजीआई प्रुडेन्सियलले ५५ करोड र नेकोले ५२ करोड ६४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । यी दुई कम्पनीले क्रमशः ३६ हजार २६३ वटा र ४५ हजार ३१५ वटा बीमा पोलिसी बिक्री गरेका छन् । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले ६ हजार ४८९ वटा बीमा पोलिसी जारी गरी ५१ करोड २९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । युनाइटेड इन्स्योरेन्सले ३१ हजार ९५९ वटा बीमा पोलिसी बिक्री गरी ४५ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । एनएलजी र प्रभु इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । एनएलजीले ४२ करोड ८९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्दा प्रभुले ४१ करोड ४३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जारी बीमालेखको आधारमा भने एनएलजीभन्दा प्रभु इन्स्योरेन्स धेरै पछाडी छ । एनएलजीले ३१ हजार ५९ वटा बीमालेख जारी गर्दा प्रभुले १५ हजार २८६ वटा पोलिसी बिक्री गरेको छ । मर्जरमा गएका सानिमा जिआईसीले समीक्षा अवधिमा २४ हजार ९२ वटा बीमा पोलिसी बिक्री गरी ४१ करोड ४३ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । त्यस्तै, नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख र नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सबैभन्दा कम बीमाशुल्क नेपाल इन्स्योरेन्सले आर्जन गरेको छ । जारी बीमालेखमा भने नेशनललाई नेपाल इन्स्योरेन्सले उछिनेको छ । दुई महिनामा नेपाल इन्स्योरेन्सले २७ हजार २२ वटा र नेशनले ६ हजार ४८० वटा पोलिसी बीमितहरुलाई बिक्री गरेका छन् । समग्रमा निर्जीवन बीमा क्षेत्रबाट ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । कम्पनीहरुले साउन र भदौमा कूल ४ लाख ८ हजार ९७३ वटा पोलिसी बिक्री गरी सो मात्राको प्रिमियम उठाएका हुन् ।
विदेशी लगानीका कम्पनीको लाभांश निरन्तर घट्दै, कुन क्षेत्रबाट कति बाहिरियो ?
काठमाडौं । विदेशी लगानीका कम्पनीहरुले प्राप्त गर्ने लाभांश वर्षेनी घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी लगानी रहेका कम्पनीहरुले लिने लाभांश घट्दै गइरहेको तथ्यांकले देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लाभांश लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश लिएको देखिएको हो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीका कम्पनीले लिने लाभांश ३९.८८ प्रतिशतले घटेको हो । यस्तै, आथिृक वर्ष २०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को लाभांश भने सार्वजनिक गरेको छैन । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीका कम्पनीले कुल कुल १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले कम हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी लाभांश उत्पादनमुलक उद्योगबाट फिर्ता गएको छ । सो क्षेत्रबाट ७ अर्ब ३१ करोड ५० लाख, सुचना प्रविधि क्षेत्रबाट ५ अर्ब ४० करोड २० लाख, विद्युतीय क्षेत्रबाट १ अर्ब ६७ करोड ८० लाख रुपैयाँ लाभांश बाहिरिएको तथ्यांकले देखाउँछ । यस्तै, बैंक, बीमा तथा वित्तीय क्षेत्रबाट अघिल्लो वर्ष १ अर्ब ८ करोड ९० लाख रुपैयाँ लाभांश बाहिरिएको छ । कुन क्षेत्रबाट कति लाभांश ?
नेपालमा ५७ देशको लगानी, कुन देशको कति ?
काठमाडौं । नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ मा नेपालमा ५७ देशको प्रत्यक्ष लगानी रहेको तथ्याङ्क छ । भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रुपैयाँ लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ, आयरल्याण्डबाट २० अर्ब ९० करोड रुपैयाँ, सिङ्गापुरबाट १६ अर्ब ७ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।