दशैंमा सहकारी पीडितको विचल्ली, मन्त्री निवासमा सञ्चालकहरुको भीड

काठमाडौं । केही दिनअघि भूमि सुधार तथा सहकारी मन्त्रालयमा सर्वसाधारणको निकै नै भीड थियो । सहकारी सञ्चालकहरु आफ्नो सहकारीलाई समस्याग्रस्त घोषणा नगर्नका लागि अनुरोध गर्न पुगेका थिए । अर्कोतिर, समस्याग्रस्त घोषणा भइसकेका सहकारी सञ्चालकहरु त्यो हटाउनका लागि सहकारीमन्त्री रञ्जिता श्रेष्ठलाई भेट्न गएका थिए । मन्त्रालयमा मात्र होइन्, विभागमा पनि सहकारी सञ्चालकहरुको लस्कर थियो । सहकारी सञ्चालकहरु आफ्नो सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउन हरकोशिस गरिरहेका छन् । प्रलोभन देखाएर हुन्छ कि पहुँच लगाएर सहकारी सञ्चालकहरु आफ्नो योजना सफल पार्न जोडतोडका साथ लागिपरेका छन् । मन्त्री र विभागका महानिर्देशक भेट्ने दौडधुप चलेको छ । अहिले ठूलो संख्यामा सहकारी समस्यामा रहेको पाइन्छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता दिन सकिरहेका छैनन् । यता, बचतकर्ताले सहकारीमा बचत गर्न नै छोडिदिएका छन् । सरकारले सहकारी जोगाउनका ऐन नै परिवर्तन गर्न लागेको छ । पहिलेको ऐनमा एउटा व्यक्तिले सहकारीमा २५ लाख रुपैयाँ मात्र राख्न पाउने उल्लेख छ । हाल सीमा हटाउन सहकारीका सञ्चालकहरुले माग गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए । सहकारीले बचत फिर्ता नदिँदा लाखौ बचतकर्ताको दशैं नै खल्लो भएको छ । पैसा नहुँदा कतिपय गाउँ जान सकेनन् त कतिपयलाई दशैं मान्नै महामुश्किल पर्यो । यता, सहकारी सञ्चालकलाई चाँहि मन्त्री र विभागका महानिर्देशक भेटेर भ्याइनभ्याइ छ । आफ्नो निक्षेप डुबेपछि यसअघि सहकारी पीडितहरुले महिनौं आन्दोलन गरेका थिए । सरकारले उनीहरुको आन्दोलन रोक्न आश्वासन दियो । सात बुँदे सहमति गरेको थियो । यता, सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारले कमिटीसमेत गठन गरेको थियो । उक्त कमिटीले भदौ २५ गते प्रतिवेदन बुझाइसकेको छ । तर, सो प्रतिवेदन दराजमा थन्काइएको छ । बचतकर्ताहरु बचत गुमेपछि रोएर हिँडेका छन् । हजारदेखि करोडसम्म डुबेको छ । करोडपतिबाट रातारात सडकपति बनेका छन्, बचतकर्ता । यद्यपि, सहकारी सञ्चालकहरु अझैपनि कालो सिसा भएको गाडी चढेर हिँडेका छन् । सरकारचाँहि तिनीहरुलाई कारबाही गर्नुको साटो उल्टै तिनकै कुरा सुनिरहेको छ ।

एउटै रुद्राक्षको ५३ लाखसम्ममा कारोबार, कुनको कति मूल्य ?

काठमाडौं । विगत केही वर्षदेखि सुस्ताउँदै आएको रुद्राक्षको व्यापार यस वर्ष भने उत्साहजनक भएको छ । रुद्राक्षको, खरिदबिक्री बढेसँगै व्यापार पनि उत्साहजनक भएको हो । रुद्राक्षले यस वर्ष आकर्षक मूल्य पाएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले बताए । लामो समयदेखि रुद्राक्षले उचित मूल्यन पाउँदा किसान र व्यवसायीहरू समस्यामा परेका थिए । चापागाईंकाअनुसार यस वर्ष रुद्राक्षको मूल्य दोब्बर हुँदा किसानले पनि राम्रो आम्दानी लिन सफल भएका छन् । ‘रुद्राक्षबाट किसानहरूले राम्रो आम्दानी लिनु भएको छ, रुद्राक्षको आकार, बनावट तथा त्यसको प्रकृति हेरेर किन बेच हुने भएकाले मूल्य यति नै पर्छ भन्न सकिँदैन, तर रुद्राक्षले यस पटक मूल्य पाएको छ,’ उनले भने । बजारमा अहिले २१ मुखे रुद्राक्ष करिब २२/२३ वटा किनबेच भएको चापागाईंले बताए । उनकाअनुसार सबैभन्दा बढी १६/१७/१८/१९ मुखे रुद्राक्ष उत्पादन भएको छ । रुद्राक्ष व्यापारी प्रयाग गौतमले २१ मुखे रुद्राक्षको कारोबार प्रतिगोटा २० लाखदेखि ५३ लाख रुपैयाँसम्म भएको बताए । उनकाअनुसार पहिलाको तुलनामा सानो रुद्राक्ष (७ देखि १४ मुखे) २० प्रतिशत मात्र उत्पादन भएको छ । ‘गतवर्ष भन्दा यस वर्ष रुद्राक्षको व्यापार राम्रो छ, रुद्राक्षको मूल्य पनि दोब्बर छ, १५ मुखे रुद्राक्ष न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म कारोबार हुँदै छ,’ उनले भने । १६ मुखे रुद्राक्ष ४० हजारदेखि ३ लाख रुपैयाँसम्म किनबेच भएको गौतमले बताए । उनकाअनुसार १७ मुखे रुद्राक्षको खरिदबिक्री एक लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्म र १८ मुखेको २ लाख ३० हजारदेखि ९ लाख रुपैयाँसम्म बिक्री भएको छ । यसैगरी १९ मुखे रुद्राक्षको चार लाखदेखि लिएर ११ लाख रुपैयाँसम्म र २० मुखेको ५ लाखदेखि लिएर १३ लाख रुपैयाँसम्म बिक्री भएको गौतमले बताए । संखुवासभा, भोजपुर लगायतका जिल्लालाई रुद्राक्षको हब मानिन्छ । सो जिल्लाका किसानहरूको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो । षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको हेरचाह, गोडमेल तथा यसलाई प्रशोधन गर्नुपर्दछ । यसको खेती गर्दा अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नुनपर्ने तथा राम्रो आम्दानी हुने भएकाले धेरै कृषकको रोजाइमा पर्दै आएको छ । रुद्राक्षको दानाचोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानलाई यसको सुरक्षामा समेत समस्या छ । संघका अध्यक्ष चापागाईंले केही हप्ता अघि पाँचखपनमा ४५ लाख रुपैयाँ बराबरको रुद्राक्ष बोटै काटेर चोरी भएको बताए । यसको सुरक्षाको निमित्त सम्बन्धित निकायले पनि चासो देखाउनु पर्ने बताए । रुद्राक्ष वर्षेनी उत्पादन हुन्छ भने यसको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ । चीन र भारत मात्र निर्यात हुँदै आएको रुद्राक्ष हाल अमेरिका, क्यानडा, सिंगापुर लगायका देशमा पुग्नथालेको व्यवसायीहरु बताएका छन् ।

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले  विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिए  । वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युतीयहाजिरीले काम दिएन । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन । पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि १८  माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ । तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्नेगरी विसं २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौँ खर्च गरेर विद्युतीयहाजिरी सञ्चालनमा ल्याइएको थियो । बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन् । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनःसञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावक बताउने गरेका छन् । विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो । विद्युतीय हाजिरी ट्रयाकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ । नगरपालिकाले कुनै एउटा निजी कम्पनीको  विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगर प्रमुख रिजालको आलोचना हुने गरेको छ । यतिसम्म कि तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट र वर्तमान नगर प्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन् । कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगर प्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराई बताए । ‘कतै चल्छन्, कतै चल्दैनन् । सबै विद्यालयमा जडान गरिएका  विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ’, उनले भने, ‘बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ । यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ ।’ निकै तामझामका साथ जडान गरिएको  विद्युतीय हाजिरी केही विद्यालयमा छ/सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन् । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ । रासस