सुनको रफ्तारमा बढ्दैछ तरकारीको मूल्य, किसानलाई फाइदा न उपभोक्तालाई

काठमाडौं । झरी लागेयता सुरु भएको बाढीपहिरोका कारण पर्याप्त परिमाणमा भित्रिन नसक्दा काठमाडौंमा तरकारीको भाउ आकासिएको छ। मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा पछिल्ला केही दिनदेखि बढ्न थालेको तरकारीको भाउ रोकिने छाँट छैन । बजारमा माग बढिरहने तर आपूर्ति कम हुँदा भाउ उकालो लागेको हो । किसानले बारीबाट टिपेको तरकारी बाढीपहिरोले सडक अवरुद्ध हुँदा उतै रोकिन पुगेको छ । यसका कारण न किसानले सही भाउ पाएका छन्, न उपभोक्ताले । कम परिमाणमा उपलब्ध हुँदा उपभोक्ता केही दिनयता महँगोमा तरकारी किन्न बाध्य छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ वर्षायाममा तरकारीको मूल्य माथि नै जाने बताउँछन् । ‘यतिबेला उत्पादन कम हुन्छ, बजारमा तरकारी पनि कम आउँछ,’ उनी भन्छन्, ‘अहिले बाटोको अवस्था पनि राम्रो छैन ।’ सूचना अधिकारी श्रेष्ठ अहिले किसानहरू रोपाइँमा व्यस्त हुने भएकाले पनि तरकारी खेतीमा त्यति ध्यान दिएका छैनन् । भएका बालीनाली पनि पानीले नोक्सानी पुर्याइहेको छ । ‘अहिले यो तरकारीको समस्या कालीमाटीको मात्रै होइन, सबैतिर उस्तै छ,’ उनी भन्छन्, ‘यस्तो समस्या यो वर्ष मात्रै आएको होइन, हरेक वर्ष दोहोरिने समस्या हो यो ।’ मौसमको अवस्था सामान्य रहे र वर्षात् कम हुँदै गए यो अवस्था आफैं समाधान हुने उनको भनाइ छ । ‘वर्षा बढी हाबी भएन, उत्पादन बढ्यो र बजारमा आपूर्तिको समस्या भएन भने मूल्य आफैं तल झर्दै जान्छ,’ उनी भन्छन्, ‘बजार आपूर्ति पनि कम छ र उत्पादन पनि कम छ भने मूल्य आकाशिनु स्वाभाविक हो, अहिलेको अवस्थामा मूल्य घटाएर बेच भनेर कसैलाई भन्न मिल्दैन ।’ सूचना अधिकारी श्रेष्ठ अहिले किसानको बारीमै पुगेर तरकारी ल्याइरहेको बताउँछन् । किसानको बारीम पुगेर तरकारी ल्याउँदा पनि अलिकति महँगो पर्न गएको उनको भनाइ छ । ‘उसै पनि किसानको बारीमा तरकारी नै कम फलेको छ, फलिहालेको रहेछ भने पनि बारीमै कुहिले, बिग्रिने, झर्ने हुन्छ,’ उनी भन्छन्, ‘बारीबाट बजारमा ल्याउन पनि धेरै गाह्रो छ, अहिले बाढीपहिरोले बाटो अवरुद्ध भएको छ, हाइवेबाट तरकारी काठमाडौं ल्याउन धेरै गाह्रो छ, ट्रान्स्पोटेसन कस्ट पनि बढी छ ।’ श्रेष्ठका अनुसार उपत्यकामा धेरै तरकारी धादिङ, नुवाकोट, चितवन, काभ्रे, रामेछाप लगायत जिल्लाबाट आउँछ । अहिले यी जिल्लाका ग्रामीण कृषि सडकहरू अवरुद्ध हुँदा तरकारी संकलन गर्न गाह्रो भइरहेको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रिने तरकारी नै अहिले ४० देखि ५० प्रतिशतसम्म घटेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । उनका अनुसार समान्य अवस्थामा उपत्यकामा ६ देखि ७ सय टन तरकारी भित्रिन्थ्यो भने अहिले ४ देखि ५ सय टनमात्रै भित्रिएको छ । ‘तरकारी खाने उपत्यकाको जनसंख्या घटेको छैन,’ उनी भन्छन्, ‘अहिले विवाह, ब्रतबन्धको सिजन पनि चलिरहेको छ, त्यसमा तरकारी बढी खपत हुन्छ, तरकारी बाहिरबाट आइरहेको छ तर पर्याप्त मात्रामा आइरहेको छैन ।’ पछिल्लो एक सातादेखि तरकारीको मूल्य निरन्तर उकालो लागिरहेको छ । वर्षाका कारण आपूर्ति कम हुँदा कालिमाटी तरकारी बजारमा तरकारीको भाउ आकासिएको छ । आज (मंगलबार) कालीमाटी बजारमा साग, आलु, बन्दा, घिरौँला, फर्सी, च्याउ, सिन्की सहितका तरकारीको मूल्य बढेको छ । केही तरकारी भने हिजो अस्तिकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ । कालीमाटीमा मंगलबार सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो डल्ले च्याउ छ । गोलभेँडा २५ रुपैयाँ प्रतिकिलोमा किनबेच हुँदा डल्ले च्याउको मूल्य ४ सय १६ रुपैयाँ छ । कालीमाटीमा सोमबार किलोको ५६ रुपैयाँ रहेको रातो आलुको मूल्य मंगलबार १४ रुपैयाँ बढेर ७० रुपैयाँ पुगेको छ । सोमबार २७ रुपैयाँ रहेको बन्दाको मूल्य मंगलबार ५५ रुपैयाँ पुगेको समितिले जनाएको छ । यस्तै सोमबार ७५ रुपैयाँ रहेको करेलाको मूल्य मंगलबार २० रुपैयाँ बढेर ९५ पुगेको छ । हिजो ९५ रुपैयाँ रहेको घिरौँलाको मूल्य आज १ सय १० पुगेको छ । हिजोभन्दा आज भिन्डी ३० रुपैयाँ महँगिएको छ । समितिका अनुसार सोमबार १ सय २६ रुपैयाँ रहेको रायोको सागको मूल्य मंगलबार २ सय ४० रुपैयाँ पुगेको छ । त्यसैगरी कन्य च्याउको मूल्य भने घटेको छ । सोमबार २ सय २६ रुपैयाँ रहेको कन्य च्याउको मूल्य आज १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, मंगलबार कालीमाटीमा ठूलो गोलभेँडा १ सय १५, सानो लोकल गोलभेँडा २५, स्थानीय ज्यापु काउली ९५, डल्ले भन्टा ८५, तने बोडी १ सय १५, हरियो फर्सी ७५, भिन्डी १ सय ४०, रायोको साग २ सय ४०, कन्य च्याउ १ सय ८०, डल्ले च्याउ ४ सय १६, ब्रोकाउली १ सय ३५ रुपैयाँ र सिन्की २७६.६७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारी देश आन्तरिक उत्पादनमा भन्दा पनि वाह्य उत्पादनमा निर्भर भएकाले यो समस्या देखिएको बताउँछन् । प्राकृतिक रूपमा उत्पादन घट्नु र बाहिरबाट आयात हुने वस्तुको आपूर्ति घट्नु पनि मूल्यवृद्धि हुनुको कारण भएको उनी बताउँछन् । आन्तरिकतर्फको उत्पादन अहिले बर्खा सिजन भएकाले तरकारीका लागि अफसिजन भएको उनको भनाइ छ । ‘हिउँदे बाली सकिएको र बर्खे बाली सुरु नभइसकेकाले यो अवस्थामा समस्या देखिएको हो,’ उनी भन्छन्, ‘यो मूल्यवृद्धिको समस्या अहिलेको मात्रै होइन, हरेक वर्षको समस्या हो ।’ मूल्यवृद्धिका कारण उपभोक्ता मारमा पर्नु स्वाभाविक भएको उनको भनाइ छ । अहिलेको उत्पादन प्रणाली भत्किँदै गएको र उपभोगको संस्कृति जसरी विकसित हुँदै गएको छ त्यसले मूल्यकै हिसाबले होस् या स्वास्थ्यलाई पार्ने नकारात्मक असर होस् या अन्य विविध पाटाहरूबाट हेर्ने हो भने उपभोक्ता जहिले पनि मारमा परेको उनी बताउँछन् । ‘विशेष गरेर बजारमा सस्तो होला र उपभोग गरौँला, बजारले शुद्ध वस्तु सप्लाई गरेर खान पाइएला, सरकारले सशक्त रूपमा नियमन गर्ला भन्ने अवस्था हामीकहाँ नभएको हुनाले अब उपभोक्ता पनि बिस्तारै उत्पादनमा जोडिनुपर्छ, यो दिगो समाधानको उपाय हुन सक्छ,’ उनी भन्छन् । ‘मसँग पैसा छ र मैले सस्तोमा राम्रो चिज खान पाउनुपर्छ भन्ने उपभोक्ताको अधिकारको कुरा हो’ तर हामीकहाँ न त त्यो खालको सुशासनको अभ्यास छ, न जवाफदेहिता छ न त बजार इमानदार छ । यो हिसाबले हामी सकेसम्म पर्यक्ष रूपमा उत्पादनमै जोडिनुपर्ने उनी बताउँछन् । अध्यक्ष अधिकारी पछिल्लो समय खाद्यन्नमा बढ्दै गइरहेको मूल्यवृद्धि खाद्य संकटको संकेत पनि भएको बताउँछन् । उनी भन्छन्, ‘मूल्यवृद्धि भयो भनेर गुनासो गरिरहँदा हामीले आन्तरिकतर्फ उत्पादन बढाउन कति लगानी गरेका छौं, राज्यको कति योगदान छ त्यो सबै हेनुपर्ने हुन्छ, यसका सबै सूचक नकारात्मक छन्, खेतीयोग्य जमिन बाँझा छन्, हामीसँग भएको २२ लाख हेक्टर जमिनमा १० लाख हेक्टर बाँझै भएका रेकर्ड छन्, उपभोक्ताले अब बजारले सस्तोमा दिन्छ र हामीले पेटभरि खाउँला भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ, र उत्पादनमा नजोडिने हो भने खाद्य संकट निश्चित छ ।’ पछिल्लो समय सुनको मुल्य दैनिक बढिरहेको छ । अहिले तरकारीको मूल्य पनि सोही किसिमले वृद्धि भइरहेको हाे ।

अर्थमन्त्रीले सेयर बजारलाई अर्थतन्त्रको ऐना भनेपछि ९ अर्ब बढीको कारोबार, दर्जन कम्पनीमा सर्किट

काठमाडौं । नयाँ सरकार गठन भएको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीहरूले सपथ लिएका थिए । ओली नेतृत्वको सरकारका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिएको बताएपछि लगानीकर्ता उत्साहित भएका छन् । साथै विगतमा पनि पौडेल अर्थमन्त्री हुँदा पुँजी बजार सकारात्मक लयमा थियो । यसपटक पनि उनी अर्थमन्त्री हुने चर्चासँगै पुँजी बजार उकालो यात्रामा छ । अहिले पुँजी बजारमैत्री अर्थमन्त्री पाएको भन्दै लगानीकर्ता उत्साहित भएको मंगलबारको सेयर बजारले पनि प्रस्ट हुन्छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा पुगेको हो । साढे २ वर्षपछि नेप्से परिसूचकले २३ सय अंक पार गरेको हो । मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढ्दा एक दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, बरूण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै सिक्लेस हाइड्रो, सिंगटी हाइड्रो, रिडी पावर कम्पनी, अरूण भ्याली हाइड्रो, इङ्ग्वा हाइड्रो, अपि पावर कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । मंगलबार दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार कित्ता सेयर १ करोड १९ लाख बढी पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्याङ्दी ग्रुप पावरको सर्वाधिक २१ करोड ७७ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड २७ लाख रुपैयाँ, अपि पावरको १७ करोड ९३ लाख रुपैयाँ, जानकी फाइनान्सको १७ करोड १७ लाख रुपैयाँ र अरूण भ्यालीको १६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थमन्त्री पौडेलले सोमबार पदभार ग्रहण गर्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र सहज नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । सेयर बजार सन्तुलित ढंगले अघि बढाउने र लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनको भनाइ छ । साथै साउन महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरूका ब्याजदर घटेका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको बुझिएको छ ।

विदेशी खोपको डम्पिङ साइट बन्दै नेपाल, ‘आयात हुन्छ, प्रयोग हुँदैन’

काठमाडौं । कुनैबेला खोप लगाउनकै लागि तछाड मछाडको अवस्था थियो । जुन बेला कोरोनाको कहरले मान्छेलाई घरभित्रै थुनिनु पर्ने अवस्था थियो । मान्छेले मान्छेलाई देख्दै भाग्नुपर्ने अवस्था थियो । कोभिड संक्रमणको त्रासमा रहेका नागरिकले तब राहातको महसुस गरे जब कोभिड १९ विरुद्धको खोप बन्यो र लगाउन सुरु भयो । नेपाल सरकारले विभिन्न देशबाट खोप ल्याइसकेपछि खोप लगाउन नागरिकको दौडधुप सुरु भयो । मान्छे खोप लगाउन काम छोडेरै अस्पताल पुगे । खोपकै लागि घण्टौं लाइनमा बसे । यति सम्म कि खोप पाउन सोर्स फार्स नै लगाउनुपर्यो । कतिपय ठाउँमा भ्याक्सिन नै गायव पारिएका समाचारहरू पनि आए । अझ विदेश जानेहरूले त लाइनमा बस्दा खोप नै नपाएपछि पहुँचको आधारमा खोप नलगाएर कार्ड बनाउन समेत भ्याए । धेरैजसोले पहिलो, दोस्रो र बुस्टरडोज पनि लगाए भने कतिपयले पहिलो र दोस्रो मात्र लगाए । तर, अहिले खोप नागरिकको प्राथमिकतामा पर्दैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अहिले कोरोना विरुद्धको खोप नागरिकले लगाउन छोडेको बताउँछन् । ‘खोप लगाउँदा कसैलाई हानी गर्देन, बरु राम्रो हुन्छ,’ उनी भन्छन, ‘यति भन्दा पनि खोपप्रति नागरिकको रुची घट्दै गएको छ, नागरिकले खोप नलगाइदिँदा खोप खेर जान थालेको छ ।’ नेपाल सरकारले भेरोसेल, कोभिडसिल्ड, स्ट्राजेनेका, जोनसोन एण्ड जोनसेन, मोडर्ना र फाइजर लगायतका खोपहरू ल्याउँदै आएको छ । नागरिकहरूले खोप लगाउन छोडेपछि धेरै खोप खेर नै गएको छ । खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती एकातिर छ भने अर्कोतिर सरकारले फेरि १६ लाख बढी कोरोना विरुद्धको खोप ल्याएको छ । ल्याएको खोप कहिले कहाँ र कसरी लगाउन सुरु गर्ने भन्ने ठोस निर्णय नै बनाएको छैन । डा. प्रकाश बुढाथोकी । नागरिकले खोप लगाउन छोडेको बेला सरकारले खोप ल्याएपछि कतिपयले आलोचना समेत गरेका छन् । नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्र्तगत कोभिडविरुद्धको खोप आउँछ । खेर गएको खोप नस्ट गर्न चुनौती नेपालमा खरिद तथा अनुदान गरी अहिलेसम्म ६ करोड ७७ लाखा मात्रा खोप ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९१.१ प्रतिशत नागरिकले पहिलो मात्रा, ९४.२ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् भने पहिलो बुस्टरको मात्रा ४६ प्रतिशत र दोस्रो बुस्टरको मात्रा ७ प्रतिशतले लगाएका छन् । खोप ल्याउनु राम्रो भएपनि त्यो भन्दा अगाडि गर्नुपर्ने पूर्व तयारीमा ध्यान नदिँदा खोप खेर गइरहेको छ । जुन राम्रो अभ्यास नभएको जानकारहरु बताउँछन् । सरकारले चीनबाट अनुदानमा ल्याएको ४० लाख खोप खेर गएको छ । लामो समयसम्म पनि प्रयोगमा नआएपछि सनोभ्याक-कोरोनाभ्याक खोप खेर गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रयोग नभएर खेर गएको खोप कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेको छैन । यो खोप चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल ल्याइएको थियो । किन यति धेरै मात्रामा खोप खेर गयो भन्ने प्रश्नमा आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया कोरोना विरुद्धको कुनैपनि खोप नलगाएका व्यक्तिले मात्र लगाउन मिल्ने हुँदा खेर गएको जवाफ दिन्छन् ।   खोप खेर जानुको दुई/तीन कारण छन् । ‘त्यो बेला अधिकांश नागरिकले कोरोना विरुद्धको पहिलो र दोस्रो डोज लगाइसकेका थिए,’ डा. चौरासिया भन्छन्, ‘यो खोप आइसकेपछि खोप सल्लाहकार समिति र डब्लूएचओले प्राइमरी सेयरिङमा लगाउन नमिल्ने अथवा कनै पनि खोपको पहिलो र दोस्रो मात्रा लगाएकोले लगाउन नमिल्ने निर्णय गर्यो, अर्को कुरा हामीले अनुदानमै त्यो भन्दा राम्रो खोप पायौं, त्यसैले पनि यो खोप प्राथमिकतामा परेन र खेर गयो ।’ ‘राम्रो खोप ल्याएका हौं’ सरकारसँग भएको खोप नागरिकले नलगाई थन्किरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने फेरि कोरोना भाइरसविरुद्धको खोप ल्याएको छ । गत साता स्वास्थ्य मन्त्रालयले १६ लाख ६८ हजार चार सय ८० मात्रा फाइजरको ‘मनोभ्यालेन्ट’ नामक खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका उनका अनुसार यो खोप वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख १ हजार २८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार २ सय मात्रा खोप ल्याएको हो । असार १६ गते २ लाख ७६ हजार ४८० मात्रा, असार १७ गते २ लाख ७० हजार ७२० मात्रा, असार १८ गते २ लाख ७६ हजार ४८० मात्रा, असार २० गते २ लाख ७६ हजार ४८० मात्रा, असार २१ गते २ लाख ७० हजार ७२० मात्रा र असार २३ गते २ लाख ३० हजार चार सय मात्रा खोप नेपाल आएको हो । खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी) बाट अनुदानमा ल्याइएको जनाइएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतम अहिले ल्याएको खोप कुनै पनि खोप नलगाएका व्यक्ति र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूले लगाउन मिल्ने बताउँछन् । खोप खेर गइरहेको बेला फेरि किन खोप ल्याइयो भन्ने जिज्ञासामा स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखाले अहिले पनि कोभिड संक्रणका बिरामी भेटिरहेकाले सुरक्षित रहन खोप ल्याएको बताएको छ । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । शाखाका प्रमुख डा. चौरासिया अहिलेको नयाँ सम्झौता नभई पहिले नै खोप दिने प्रतिबद्धता अनुरुप खोप आएको बताउँछन् । कतिपय देशले अहिले पनि खोप लगाएको प्रमाण मागिरहकाले विदेश जाने युवा, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीका लागि खोप आवश्यक रहेको बताउँछन् । सित्तैमा पाउँदा जतिपनि ल्याउने प्रवृत्ति कोरोनाको खोपमात्र होइन नेपालमा बालबालिकालाई लगाइने खोप पनि वर्सेनि लाखौं डोज खेर गइरहेको हुन्छ । यत्तिकै मात्रामा औषधी पनि खेर जान्छ । नेपालमा औषधीजन्य पदार्थ यसरी खेर जानुमा नेपालले आवश्यक छैन भनेर भन्ने हैसियत नराखेकोले भएको जानकारहरु बताउँछन् । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी आवश्यक नभएको सामान कसैले लैजा भन्दा नाइँ भन्न नसक्नु पनि यसको एक कारण रहेको बताउँछन् । ‘कतिपय संघ सस्थाले नेपाललाई खोप लगायतका धेरै जस्तो स्वास्थ्य सामाग्री सहयोग गर्छन्, यो राम्रो पक्ष हो,’ उनी भन्छन्, ‘तर आवश्यक नभएको सामान फाल्नलाई मात्र ल्याउनु हुँदैन, कुनै सामान ल्याउनुअघि यसको उपयोग कसरी गर्ने भन्ने योजना हुनुपर्छ ।’ कतिपय सरोकारावाला भने नेपाललाई विदेशी संघसस्थालदे डम्पिङसाइडको रुपमा प्रयोग गरिरहेको बताउँछन् । विज्ञहरूको यस्तो प्रश्नमा डा. चौरासिया आपत्ति जनाउँछन् । उनी आवश्यक नभएका कतिपय सामानलाई पर्दैन भनेर नल्याएको बताउँदै नाइ भन्न सक्ने हिम्मत भएको र भनिरहेको बताउँछन् । व्यवस्थापनमा चुनौती सेवाग्राहीले प्रयोग नगरी म्याद सकिएको कोराना भ्याक्सिन कसरी नष्ट गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयले कुनै निर्णय गरेको छैन । भ्याक्सिन नष्ट गर्दा झोल कसरी नस्ट गर्ने सीसा के गर्ने भन्ने योजना पनि बनाउन सकेको छैन । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा, व्यवस्थापन महाशाखाका प्रमुख उपेन्द्र ढुंगाना खेर गएको औषधि र भ्याक्सिन व्यवस्थापनका लागि भइरहेको बताउँछन् । कुनै पनि सामग्री नस्ट गर्न जिन्सी निरीक्षण प्रतिवेदन बनाउनुपर्ने कार्यविधमा उल्लेख छ । यसका लागि अब यो साउनमा समिति बनाएर खेर गएका औषधी र भ्याक्सिनबारे छलफल गर्ने उनी बताउँछन् । समितिले जिन्सी निरीक्षण प्रतिवेददन बनाइ बुझाइसकेपछि प्राविधिक रुपमा कसरी नस्ट गर्ने भन्ने कुरा अगाडि बढ्छ,’ ढुंगाना भन्छन्,’ ‘हामीसँग म्याद सकिएका औषधी नस्ट गर्ने दुई/तीन वटा उपाय छन्, यीमध्ये कसरी खोप नस्ट गर्ने भन्नेबारे छलफल गर्न बाँकी छ ।’ कार्यविधि अनुसार म्याद गुज्रेका अथवा प्रयोगमा नआउने औषधी उत्पादकलाई फिर्ता गर्ने, केमिकल विधिबाट नस्ट गर्ने र अल्ट्रा हाइ टेम्प्रेचर अथार्त अधिक तापक्रमले नस्ट गर्न सकिने उल्लेख छ । कोभिडको खोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले गैर–खतरानाक औषधिजन्य फोहोर भनेको छ ।