तिरुवनन्तपुरम विमानस्थलमा अडानी समूहको १३०० करोड लगानी, वार्षिक १२ करोड यात्रुलाई सेवा दिने

काठमाडाैं । अडानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (एएएचएल) ले सन् २०२७ सम्ममा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल (टीआरभी) को विस्तारका लागि १३०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले ‘टीआरभी) ग्रोथ कन्क्लेभ’ मा यो घोषणा गरेको हो । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा ट्राभल तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । विमानस्थलको सुविधामा उल्लेख्य वृद्धि गर्ने उद्देश्यले यस आयोजनालाई ‘प्रोजेक्ट अनन्त’ नाम दिइएको अडानी विमानस्थलले जनाएको छ । नयाँ टर्मिनल केरलाका प्रतिष्ठित मन्दिरहरूको आधारमा डिजाइन गरिनेछ । हाल यो विमानस्थल ४५ हजार वर्गमिटरमा फैलिएको छ र यसले वार्षिक ३२ लाख यात्रुलाई सेवा दिन्छ । विमानस्थलको डिजाइनमा क्यास्केडिङ स्टेप्स र टेरेस्ड स्तरहरू समावेश हुनेछन् । नयाँ टर्मिनलमा प्लाजा, होटल, अतिरिक्त प्रशासनिक ठाउँ र सुधारिएको कार पार्किङ सुविधा सबै एकै ठाउँमा हुनेछ । विमानस्थलको विस्तारपछि यसको आकार ४५ हजार वर्गमिटरबाट १ लाख ६५ हजार वर्ग मिटर पुग्ने छ । यसपछि यसले हरेक वर्ष करिब १२ करोड यात्रु ह्याण्डल गर्न सक्नेछ । अन्य अपग्रेडहरूमा एयरपोर्टमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय कार्गो कम्प्लेक्स र रिमोट चेक–इन विकल्प समावेश छ । यी सबैले आधुनिक एयरपोर्ट अनुभवमा योगदान पुर्‍याउने विश्वास छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले अक्टोबर २०२१ मा तिरुवनन्तपुरमको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, व्यवस्थापन र विकासको जिम्मा लिएको थियो । तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल राज्यको चार विमानस्थलमध्ये पहिलो हो । सन् १९३२ मा सुरु भएको यो एयरपोर्ट पहिले भारतीय एयरपोर्ट्स अथोरिटीको स्वामित्व र सञ्चालनमा थियो । एजेन्सी

थप घट्यो बैंकहरूको ब्याज, १० बैंकले घटाउँदा ९ बैंकले राखे स्थिर

काठमाडौं । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार कात्तिकमा १० बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ०.१८ प्रतिशत घटेर औसत ६ प्रतिशतमा झरेको छ । यस्तै संस्थागततर्फ भने औसत ०.२१ प्रतिशत घटेर औसत ४.९७ प्रतिशतमा झरेको हो । कात्तिक महिनाका लागि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन् । यस्तै एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका हुन् । कात्तिकमा अधिकांश अधिकांश बैंकले ब्याजदर स्थिर र केही बैंकले घटाउँदा सानिमा बैंकले भने ब्याजदर बढाएको छ ।

निक्षेपको ब्याजदर ३१% र कर्जाको २४% ले घट्यो, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । एक वर्षको अवधिमा वाणिजय बैंकको कर्जाको ब्याजदर ३१.३८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत छ । २०८० भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०६ प्रतिशत रहेकोमा अहिले घटेर ५.५३ प्रतिशतको बिन्दुमा पुगेको हो । यस्तै, हाल विकास बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.३१ प्रतिशत र वित्त कम्पनीहरुको ७.५५ प्रतिशत रहेको छ । २०८० को सोही अवधिमा विकास बैंकहरुको ९.४३ प्रतिशत र वित्त कम्पनीहरुको १०.२७ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको छ । यो एक वर्षको अवधिमा वाणिज्य बैंकको कर्जाको ब्याजदर २१.४२ प्रतिशतले घटेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत रहेकोथियो । २०८० भदौमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत रहेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.४९ प्रतिशत, विकास बैंकहरुको ९.१५ प्रतिशत र वित्त कम्पनीहरुको १०.६५ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१४ प्रतिशत, विकास बैंकहरुको १२.१२ प्रतिशत र वित्त कम्पनीहरुको १३.५२ प्रतिशत रहेको थियो ।