रेयर अर्थ्सको चिनियाँ दबदबा बढ्दा अटो उद्योग आतंकित, दुर्लभ धातु खोज्दै कम्पनीहरू
काठमाडौं । विश्वका अटो निर्माता कम्पनीहरू चीनको आगामी निर्यात नियन्त्रण अघि अत्यावश्यक दुर्लभ धातु (रेयर अर्थ्स) खोज्दै विश्वभर दौडिरहेका छन् । कार्यकारी अधिकृतहरू यी नियन्त्रणले उत्पादनका लागि आवश्यक पुर्जाको अभाव र कारखाना बन्द हुने अवस्थासमेत निम्त्याउन सक्नेमा चिन्तित छन् । दुर्लभ धातुबाट बनेका चुम्बकहरूले साइड मिरर, स्पिकर, तेल पम्प, विन्डसिल्ड वाइपर, इन्धन चुहावट र ब्रेक सेन्सर जस्ता कारका विभिन्न भागका मोटरहरू सञ्चालन गर्छन् । विद्युतीय सवारीसाधन (ईभी) मा त तिनको भूमिका अझ बढी महत्त्वपूर्ण हुन्छ । अमेरिका–चीनबीचको एउटा सम्झौताले तत्कालको आपूर्ति जोखिम त घटाएको छ, तर यसअघि पनि यस्तै प्रतिबन्धका कारण भण्डारहरू सकिएका थिए । साथै बेइजिङले निर्यात अनुमति पाउन अझ कडा नियम लागू गरेको छ । त्यसबेलादेखि चीनले निर्यात नियन्त्रणलाई ठूलो मात्रामा विस्तार गरेको छ, जसका कारण कम्पनीहरू विश्वव्यापी आपूर्ति अभावको सामना गरिरहेका छन् । कन्सल्टेन्सी कम्पनी अलिक्सपार्टनर्सका अनुसार चीनले विश्वका दुर्लभ धातु खानीमध्ये करिब ७० प्रतिशत, रिफाइनिङ क्षमताको ८५ प्रतिशत र धातु मिश्रण तथा चुम्बक उत्पादनको करिब ९० प्रतिशत नियन्त्रणमा राखेको छ । चीनको नयाँ निर्यात नियन्त्रण सूचीमा इटर्बियम, होमियम र युरोपियमजस्ता तत्त्वहरू पनि छन्, जसको प्रयोग गाडी निर्माणमा पनि हुन्छ । ‘स्थिति अत्यन्तै तनावपूर्ण छ,’ जर्मन मेटल–पाउडर आपूर्तिकर्ता एनएमडीकी सीईओ नाडिन राज्नरले भनिन्, ‘ग्राहकहरू चीन बाहेक जहाँसुकैबाट दुर्लभ धातु ल्याउन चाहन्छन् ।’ राज्नरका अनुसार स्विडेनजस्ता देशमा यस्ता धातु प्रशस्त भए पनि त्यहाँ खानी र रिफाइनिङ क्षमता नभएकाले प्रयोगयोग्य बनाउन सकिँदैन । र भारी दुर्लभ धातुको सन्दर्भमा चीनले विश्व रिफाइनिङ क्षमताको ९९.८ प्रतिशत नियन्त्रण गरेको छ, जसले वैकल्पिक स्रोतहरू लगभग नगण्य बनाएको छ । ‘हामीले अहिले प्रायः सबै बिक्री गरिसकेका छौं र सीमित मात्रामा स्टक बाँकी छ,’ उनले भनिन् । दुर्लभ धातुहरू पुराना गाडीहरूबाट पुनःप्रयोग गर्न सकिन्छ, तर त्यो उद्योग अझ प्रारम्भिक चरणमै छ । रिनल्ट समर्थित कम्पनी न्युट्रलले अहिले फ्रान्समा हरेक वर्ष ४ लाख गाडीबाट यस्ता धातु पुनःप्रयोग गर्छ र युरोपका १५ ब्रान्डसँग सम्झौता गरेको छ। तर ‘यी गतिविधिहरूलाई ठूलो स्तरमा विस्तार गर्नु चुनौतीपूर्ण छ,’ न्युट्रलका सीईओ जाँ–फिलिप बाहुआदले भने । पहिले नै सकिएको स्टक यदि चिनियाँ आपूर्तिकर्ताहरूले नोभेम्बर ८ अघि नयाँ अर्डर पूरा गर्न सके पनि चीनबाट युरोप पुग्न जहाजमार्फत ४५ दिन लाग्छ । त्यसैले दुर्लभ धातुको अभाव गाडी उद्योगका लागि ठूला समस्यामध्ये एक बनेको छ । चीनले लिथियम–आयन ब्याट्री र ब्याट्रीका सामग्रीमा पनि निर्यात प्रतिबन्ध लगाएको छ जसले विद्युत सवारीका पुर्जाको आपूर्तिमा थप चिन्ता बढाएको छ । गत हप्ता चीन र नेदरल्याण्डबीचको बौद्धिक सम्पत्ति (आईपी) विवादले पनि नयाँ डर सिर्जना गर्यो । यसले नेक्पेरिया नामक सानो डच चिप निर्माता कम्पनीलाई प्रभावित पार्यो जसले गाडीका पुर्जामा प्रयोग हुने धेरै चिप आपूर्ति गर्छ । गाडी निर्माता कम्पनीहरू अमेरिकी शुल्कको चुनौतीसँग पनि जुझिरहेका छन् र तेस्रो त्रैमासिक नतिजामा यसले थपिएको लागत खुलाउने अपेक्षा गरिएको छ । तर दुर्लभ धातुमा चीनको नियन्त्रण भने गाडी उद्योगका लागि सबैभन्दा कठिन समस्यामध्ये एक बनेको छ । ‘चीनले चाहे दुई महिनामै सम्पूर्ण गाडी उद्योग बन्द गरिदिन सक्छ,’ टोयोटा मोटरका उत्तरी अमेरिकी खरिद तथा आपूर्तिकर्ता विकास उपाध्यक्ष रायन ग्रिमले भने। बोस्चका फ्रान्स, बेनेलक्स, पश्चिम र दक्षिण युरोपका अध्यक्ष ब्रुनो गाहेरीले भने, ‘गाडी उद्योगले म्यादअघि दुर्लभ धातुहरू बढी मात्रामा स्टक गर्न खोज्नेछ ।’ तर हुन्डाईका लागि चुम्बक आपूर्तिकर्ता एक कार्यकारीले भने, ‘हामीले यस वर्ष सुरुमा स्टक बनाए पनि अधिकांश पहिले नै सकिएका छन् र अहिले आपूर्ति निकै कडा छ ।’ तीन उद्योग स्रोतहरूले रोयटर्सलाई भने अनुसार अक्टोबर ९ मा नयाँ निर्यात नियन्त्रण घोषणा भएपछि चिनियाँ दुर्लभ धातु निर्यातकर्ताहरूले विदेशी ग्राहकहरूबाट अर्डरको ठूलो बाढी पाएका थिए । दुर्लभ धातु–रहित मोटरहरू गाडी निर्माता कम्पनीहरू निर्भरता घटाउने प्रयासमा छन् । जनरल मोटर्स, जेएफ र बोर्गवार्नरजस्ता ठूला कम्पनीहरूले कम वा शून्य दुर्लभ धातु प्रयोग हुने ईभी मोटर विकास गरिरहेका छन् । बीएमडब्ल्यू र रिनल्टले त पहिले नै दुर्लभ धातु–रहित मोटर उत्पादन गरिसकेका छन् । ब्रिटिश कम्पनी मोनुमोले कृत्रिम बौद्धिकता (एआई) र डीप–टेक सिमुलेशनको प्रयोग गरेर ग्राहक कम्पनीहरूको मोटरमा दुर्लभ धातु प्रयोग २४ प्रतिशतसम्म घटाएको छ, जसका ग्राहकहरूमा विश्वका शीर्ष १० गाडी निर्माता कम्पनीहरू पनि छन् । अटो कम्पनीहरू अब नयाँ पुस्ताका ईभीका लागि दुर्लभ धातु–रहित मोटरहरू अझ सुधार गर्ने प्रयासमा छन् । तर ती मोटरहरू बजारमा आउन अझै वर्षौं लाग्नेछ र चीन बाहेक अन्य देशमा नयाँ खानी र रिफाइनिङ प्लान्ट विकास गर्न पनि लामो समय लाग्नेछ । चीनले कम मूल्यमा प्रतिस्पर्धा गरेर ती प्रयासहरू असफल पार्न सक्छ । विशेषज्ञहरूका अनुसार अमेरिकी सरकारले यस विषयलाई युरोपभन्दा धेरै गम्भीर रूपमा लिएको छ । एससी इनसाइज्ट्सका सह–संस्थापक एन्डी लेल्यान्डका अनुसार ‘बेइजिङ सधैं मूल्यमा अरूलाई हराउने रणनीतिमा केन्द्रित छ र त्यही जारी राख्नेछ ।’ उनी भन्छन्, ‘चिनियाँ कम्पनीहरूले सधैं प्रतिस्पर्धीहरूलाई अन्डरकट गर्न सक्छन् । त्यसैले दुर्लभ धातु–रहित मोटर विकास गर्ने प्रयास महँगो र जोखिमपूर्ण लगानी हो ।’ यसबीच चीनले दुर्लभ धातुको आपूर्तिमा आफ्नो शक्ति कायम राख्ने अपेक्षा गरिएको छ ।
५ आर्थिक वर्षमा ड्राइफ्रुट्स आयातमै बाहिरियो १६ अर्ब ९ करोड, ओखर मात्रै ५ अर्ब
काठमाडौं । नेपालीहरूको दोस्रो महान चाड तिहार सुरु भइसकेको छ । तिहारका लागि अति महत्त्वपूर्ण खाद्यपदार्थमा पर्ने ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतको ड्राइफ्रुट्स सबैभन्दा धेरै खपत हुने गर्दछ । नेपाल कृषिप्रधान देश भएपनि कृषिसँग सम्बन्धित प्रायः सबै खाद्यपदार्थ विदेशबाट आयात गर्ने गरेको छ । यति मात्रै होइन, मूल्यको हिसाबले सबैभन्दा धेरै महंगो पर्ने ओखर, बदामजस्ता ड्राइफ्रुट्स आयातमा पनि नेपालले वार्षिक अर्बौं रकम खर्च गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा ओखर, बदाम, काजु, नरिवल, छोकडा र पिस्ता आयात गर्दा १६ अर्ब ९ करोड ४ लाख रुपैयाँ बाहिरिएको छ । नेपालमा सबैभन्दा धेरै ओखर आयात हुने गरेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार पाँच आर्थिक वर्षमा ५ अर्ब ४० करोड ४५ लाख रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार ओखरपछि नेपालमा सबैभन्दा धेरै काजु ३ अर्ब ७९ करोड ९४ लाख रुपैयाँको भित्रिएको छ । त्यस्तै, पाँच वर्षमा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको बदाम, ३ अर्ब २० करोड रुपैयाँ बराबरको नरिवल, १८ करोड ६३ लाख रुपैयाँको छोकडा र ८ करोड २३ लाख रुपैयाँ बराबरको पिस्ता आयात भएको विभागको तथ्यांकले देखाउँछ । ओखर आयात तथ्यांक नेपालमा ओखरको व्यवसायिक खेती छैन । नेपालमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा केही मात्रामा ओखर उत्पादन भइरहे पनि व्यवसायिक रूपमै खेती नहुँदा आयात गरेरै खानुपर्ने अवस्था छ । तथ्यांकअनुसार वार्षिक एक अर्ब रुपैयाँ बराबरको ओखर आयत हुँदै आएको छ । भाइटीकामा अति आवश्यक मानिने ओखर स्वास्थ्यको हिसाबले पनि फाइदाजनक मानिन्छ । जसको कारण पछिल्लो समय ओखर आयात बढ्दै गएको व्यवसायीहरू बताउँछन् । तथ्यांकअनुसार आव २०८१/८२ मा ओखर आयातमा सबैभन्दा धेरै नेपाली रुपैयाँ विदेशिएको छ । उक्त आवमा १ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ बराबरको ओखर आयत भएको छ । त्यसपछि आव २०८०/८१ मा १ अर्ब १४ करोड १३ लाख रुपैयाँको ओखर आयात भएको छ । आव २०७७/७८ मा १ अर्ब ५ करोड ९७ लाख रुपैयाँ, आव २०७८/७९ मा ७२ करोड ८५ लाख रुपैयाँ र आव २०७९/८० मा ९१ करोड ५२ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ । काजु आयात तथ्यांक नेपालमा खासै उत्पादन नहुने र मूल्यको हिसाबले पनि महंगो पर्ने काजु आयात आव २०७७/७८ मा सबैभन्दा बढी आयात भएको देखिन्छ भने आव २०८०/८१ मा घटेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा १ अर्ब १७ करोड २३ लाख रुपैयाँको आयात भएको छ । त्यस्तै, आव २०७८/७९ मा १ अर्ब १७ करोड २५ लाख रुपैयाँ आयात भएको छ । आव २०७९/८० यता भने काजु आयातमा केही कमी आएको देखिन्छ । तथ्यांकअनुसार आव २०७९/८० मा ५६ करोड ७ लाख रुपैयाँ, आव २०८०/८१ मा ३६ करोड १५ लाख रुपैयाँ र आव २०८०/८१ मा ५३ करोड २२ लाख रुपैयाँ आयात भएको छ । बदाम आयात तथ्यांक अत्यन्तै महंगो मानिने र नेपालमा मधेसी बदामको रूपमा चिनिने यो ड्राइफुड्स पनि वार्षिक करोड रुपैयाँ बराबरको आयात हुँदै आएको छ । भन्सार विभागको तथ्याकअनुसार आव २०७७/७८ मा ९१ करोड २४ लाख रुपैयाँको बदाम आयात भएको छ । आव २०७८/७९ मा ८४ करोड १८ दाख रुपैयाँ, आव २०७९/८० मा ५५ करोड ५३ लाख रुपैयाँ, आव २०८०/८१ मा ४३ करोड रुपैयाँ र आव २०८०/८१ मा ६७ करोड ७२ लाख रुपैयाँको आयात भएको छ । नरिवल आयात तथ्यांक नेपालका तराई क्षेत्रमा उत्पादन हुने नरिवल पनि दशैं तिहारको समयमा बढी खपत हुने गरेको छ । तथ्यांकअनुसार नेपालमा नरिवल आयातमा पनि ठूलो रकम विदेसिने गरेको छ । आव २०८१/८२ कै तथ्यांक हेर्ने हो भने ८६ करोड १४ लाख रुपैयाँको नरिवल आयात भएको छ । आव २०८०/८१ मा भने नरिवल आयात केही घटेको देखिन्छ । उक्त आवमा ३९ करोड ३१ लाख रुपैयाँको नरिवल आयात भएको छ । आव २०७७/७८ मा ६४ करोड ६२ लाख रुपैयाँको नरिवल आयात भएकोमा आव २०७८/७९ मा बढेको छ । उक्त आवमा ८२ करोड २५ लाख रुपैयाँको नरिवल आयात भएको छ ।
व्यवसायी प्रसिद्ध पाण्डेले २ अर्ब लगानीमा खोले सुविधा सम्पन्न रिसोर्ट, बेलायतको आईएचजीको व्यवस्थापन
काठमाडौं । सांग्रिला हस्पिटालिटी ग्रुपले चितवनको मेघौलीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण गरेको छ । ग्रुपले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण सम्पन्नको अन्तिम तयारी गरिरहेको छ । कम्पनीले चितवनको मेघौलीमा लक्जरी होटल/रिसोर्ट निर्माण गरिरहेको छ । जुन नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन नेशनल पार्कको नजिक अवस्थित छ । यस परियोजनाका लागि कम्पनीले बेलायतको इन्टर कन्टिनेन्टल होटल ग्रुप (आईएचजी)सँग मार्केटिङ र म्यानेजमेन्ट सम्झौता गरेको छ । यो विश्वका प्रमुख होटल समूहहरूमध्ये एक हो । यस रिसोर्टमा ३८ प्लस २ (स्वीट) कोठाहरू रहनेछन् । दोस्रो चरणमा थप ४० लक्जरी कोठा निर्माण गर्ने योजना कम्पनीको छ । जुन डिसेम्बर २०२६ सम्म सो काम पूरा गर्ने लक्ष्य कम्पनीको छ । अहिले रिसोर्टको भौतिक कामहरं सम्पन्न भए पनि मेकानिकल, विद्युतीय तथा प्लम्बिङ र फिनिसिङ कार्यहरू जारी छन् । सुरुमा यो परियोजना निर्माणका लागि १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि अहिलेसम्म लागत ४९ प्रतिशत बढेर कुल १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ पुगेको बताइएको छ । कामको सुस्सताले लागत पनि बढेको बताइएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नयाँ लागत संरचना अनुसार ऋण–इक्विटी अनुपात करिब ७२ः२८ रहेको उल्लेख गरेको छ । सन् २०२५ जुनसम्म आवश्यक इक्विटीको करिब ५६ प्रतिशत अर्थात् ३० करोड रुपैयाँमात्र लगानी भइसकेकाले वित्तीय जोखिम मध्यम रहेको इक्राले विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पनीले ९३ करोड ३० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेको छ । जसका लागि कम्पनीले दीर्घकालीन ऋणका लागि एलबी प्लस र खल्पकालिन ऋणका लागि ए फोर रेटिङ पाएको छ । चितवनको मेघौली क्षेत्रमा धेरै होटलहरू सञ्चालनमा आइसकेकाले प्रतिस्पर्धा तीव्र हुँदै गएको विज्ञप्तिमा उल्लेख छ । ऋण भार कम भएका पुराना र स्थापित होटलहरूले मूल्यमा दबाब सिर्जना गर्न सक्ने भएकाले नयाँ परियोजनाको अफटेक जोखिम बढ्न सक्ने रेटिङ एजेन्सीको भनाइ छ । सांग्रिला हस्पिटालिटी ग्रुपले काठमाडौं र पोखरामा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीका लगानीकर्ता प्रसिद्ध बहादुर पाण्डे हुन्, जो सांग्रिला हस्पिटालिटी ग्रुपका सञ्चालक हुन् । सन् २०२२ डिसेम्बरमा होटल व्यवस्थापनका लागि लस्ट होराइजन र आईएचजीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली ब्राण्डमा सञ्चालन हुने भएको छ । सांग्रिलाले पोखराको बेगनासमा पनि लक्जरी रिसोर्ट बनाएको छ । सांग्रिला हस्पिटालिटी ग्रुप होटल क्षेत्रमा परिचित छ । जसको संस्थापक श्यामबहादुर पाण्डे हुन् । उनको गत वर्षमात्रै निधन भएको थियो । अहिले उनका दुई छोराहरु प्रसिद्ध र प्रवीणले उनको व्यवसाय सम्हालिरहेका छन्।