ग्याँस बुलेटले युपी र बिहारका लाखौं भारतीयको ज्यान जोखिममा
काठमाडौं, २३ असोज । नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरले भारतीय सिमा क्षेत्रमा रोकिएका ग्याँस बुलेटले लाखौं भारतीय जनताको जिवन जोखिममा पारेको बताएका छन् । भारतीय नाका बन्दीका कारण सिमा क्षेत्रमा हाल एलपी ग्याँस र पेट्रोलियम पदार्थले भरिएका एक हजार भन्दा बढि गाडी दुई महिनादेखि रोकिएका छन् । एलपी ग्याँस भरिएका बुलेटहरु बिस्फोट हुने सम्भावना बढ्दै गएको र त्यसले लाखौं भारतीयको हताहती हुन सक्ने उनले दावी गरे । ‘महिनौंदेखि एलपी ग्याँसका बुलेटहरु तातो घाममा सुकाएर राख्नु भनेको त लाईन मिलाएर बम राखे जस्तै हो, मानव वस्तीहरुको बिचमा बुलेट छन, एउटा भड्कियो भने लाखौं भारतीयको ज्यान जान सक्छ ।’ घिमिरले भने । ग्यासका बुलेटलाई आगोे नजिक राखिएको बमको संज्ञा दिँदै उनले भने ‘यो नाका बन्दीबाट नेपाललाई भन्दा पनि भारतलाई ठुलो क्षति र जोखिम छ । अहिले बिहार र युपीका सिमामा एलपीजी र पेट्रोलियम पदार्थ बोकेका हजारौं गाडी छन् र तीनले भारतीयलाई उच्च जोखिममा पारेको छ ।’ घिमिरेका अनुसार बिगत दुई महिनादेखि युपि र बिहार राज्यका ६ वटा नाकामा गरेर ३५० बुलेट लाईनमा छन् । त्यसले निम्त्याउन सक्ने जोखिमको आंकलन गर्दै घिमिरेले भने ‘यो घामका कारण आफैं तात्ने बस्तु हो । हाम्रा उद्योगहरुमा चारैतिर पानीको फोहरा राखिएका हुन्छन् । यसलाई समय समयमा चिस्याईरहनु पर्छ । भारतमा रोकिएका ग्यासँ बुलेटमा त त्यस्तो कुनै सुबिधा छैन् ।’ बुलेटहरुकै नजिक मानिसहरुले चुरोट खाईरहने, नजिकै आलु पकौडा बनाउँन आगो बालिरहने तथा घामले पनि निरन्तर तातिरहेकाले बुलेटहरु उच्च जोखिममा रहेको उनले दावी गरे । ‘ती बुलेटहरु टाईम बम जस्तै हुन, कल्पना गरौं, कुनै आतंकवादीले एउटा बुलेटमा आगो झोसिदियो भने के हुन्छ ? कति भारतीय धनजनको क्षति हुन्छ होला ?’ घिमिरेले प्रश्न गरे ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्का, ओलीको पक्षमा कम्तिमा ३१२ मत
काठमाडौँ, २३ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा एमाले अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । Bikashnews.com उम्मेदवारी दर्तासँगै भोली हुने निर्वाचनमा ओली प्रधानमन्त्री हुने पक्का भएको छ । उनले कम्तिमा ३१५ मत ल्याउने देखिएको छ । हाल ५९८ सांसद रहेकोले प्रधानमन्त्रीमा विजयी हुन ३०० मत पाए पुग्छ । ओलीले ३३० भन्दा बढी मत पाउने सक्ने एमालेको मुख्य सचेतक अग्नी खरेलले बताए । ओलीलाई प्रधानमन्त्री बन्न नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा(माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र नेपाली जनता दलको समर्थन देखिएको छ । ओलीको समर्थनमा देखिएका दलहरुमध्ये एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५ सांसद रहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा(माले) को ५, राष्ट्रिय जनमोर्चाको ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको २, बहुजन शक्ति पार्टीको १, नेपाली जनता दलको १ सांसद छन् । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति तथा वहालवाला प्रधानमन्त्री सुशील कोइरालाले पनि उम्मेदवारी दर्ता गराउने भएको छन् । व्यवस्थापिका–संसद् सचिवालयले शुक्रबार प्रकाशित सूचनाअनुसार शनिवार बिहान संसद् भवन नयाँ बानेश्वरमा ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउने समयसीमा तोकिएको छ । आवेदन दर्ता भएपछि शनिबार ४ः३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्ने व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । यस्तै, आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा सुरु हुनेछ ।
घटस्थापनादेखि सार्वजनिक विदा भएपनि बैंकिङ्ग सेवा बन्द नहुने, किस्ता तिर्ने समय १ महिना थपिने
काठमाडौं, २२ असोज । पेट्रोलियम पदार्थको अभावमा सेवा सुचारु गर्न नसकिएको भन्दै सरकारले घटस्थापनादेखि सार्वजनिक विदा दिने तयारी गरेपनि आधारभूत बैंकिङ्ग सेवा भने बन्द नहुने भएको छ । दशै–तिहार जस्ता ठूला पर्वमा नयाँ नोटको ब्यवस्थापन गर्नुपर्ने र लामो समय बैंकिङ्ग सेवा बन्द हुदा सर्वसाधारणलाई ठूलो समस्या पर्ने भन्दै नेपाल राष्ट्र बैंकले सेवा आधारभूत सेवा बन्द नगर्ने निर्णय गरेको हो । बैंक जस्तो संवेदनशील सेवा लामो समय बन्द गर्दा सर्वसाधारणलाई ठूलो समस्या पर्ने भएको आधारभूत बैंकिङ्ग सेवा सुचारु गर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । ‘घटस्थापनादेखि नै सार्वजनिक विदा भयो भने पनि राष्ट्र बैंकको बैंकिङ्ग कार्यालय खुल्छ, अहिलेको भन्दा कार्यालय समय केहि हेरफेर गरेर भएपनि सेवा सुचारु गर्न मैले सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको छु,’ अधिकारीले भने । अहिले गभर्नर डा. चिरन्जीबी नेपाल र अर्का डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले देश वाहिर रहेकाले राष्ट्र बैंक उच्च ब्यवस्थापनको नेतृत्व अधिकारी एक्लैले गरिरहेका छन् । यस्तै सवै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आधारभूत बैंकिङ्ग सेवा बन्द नगर्न आग्रह गरिएको राष्ट्र बैंकको भनाइ छ । घटस्थापनादेखि नै सरकारले सार्वजनिक विदा दिए पनि एटिएम काउन्टर, नगद राख्ने र झिक्ने, एक ठाउबाट अर्काे ठाउमा पैसा पठाउने जस्ता आधारभूत बैंकिङ्ग सेवा सुचारु गर्न सवै बैंक तथा वित्तीय संस्था सहमत रहेको राष्ट्र बैंकको भनाइ छ । घटस्थापनादेखि नै सरकारले सार्वजनिक विदा दिएमा असोज मसान्तमा तिर्नुपर्ने कर्जाको सावा ब्याज तथा किस्ता तिर्ने समय १ महिना थप गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यद्यपि घटस्थापनादेखि सार्वजनिक विदा दिने औपचारिक निर्णय सरकारले गरिसकेको छैन । ‘असोज मसान्तमा तिर्नुपर्ने कर्जाको सावा ब्याज तथा किस्ता असोज २५ गते नै तिर भन्ने अवस्था छैन, विदा अघि कसैले बुझाए ठिकै छ, नत्र बाँकी किस्ता र सावा ब्याजको लागि एक महिना समय थप गर्ने गृहकार्य भएको छ,’ अधिकारीले भने । राष्ट्र बैंकले समय थप गरेपछि कर्जाको किस्ता रोकिएको भनेर बैंक वित्तीय संस्थाले ऋणीसँग हर्जना लिन पाउने छैनन् भने कर्जाको भाका नाघेको भन्दै उनीहरुले कर्जाको प्रोभिजनिङ्ग पनि गर्नुपर्ने छैन । तराइ–मधेशमा जारी आन्दोलन र भूकम्प जस्ता कारणले असोज बैंक तथा वित्तीय संस्थाको असोज मसान्तको नाफा कम हुने नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष अनिल शाहको भनाइ छ । ‘भूकम्पको असर बाँकी नै थियो, यसमा २ महिनादेखिको तराइ आन्दोलन पनि थपियो, अव कुनै पनि ठूला ऋणीले कर्जाको किस्ता तथा सावा ब्याज समयमै तिर्न सक्ने अवस्था छैन, यसकारण असोज मसान्तमा बैंकहरुको नाफा कम हुने देखिन्छ,’ मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले भने ।