पोर्शेबाट मुक्त भएपनि फक्सवागनमा ‘डु अर डाइ’ को अवस्थामा ब्लुमे
काठमाडौं । फक्सवागनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमे यस वर्ष निर्णायक परीक्षामा रहेको लगानीकर्ताहरू बताउँछन् । चीनमा घट्दो बजार हिस्सेदारी रोक्नसक्ने र प्रतिस्पर्धीहरूसँगको प्रविधि अन्तर कम गर्न सक्ने क्षमता प्रमाणित गर्नु नै जर्मन अटोमोबाइल कम्पनीको सफल पुनरुत्थानका लागि अनिवार्य तत्व मानिएको छ । स्पोट्र्स कार डिभिजन पोर्शे संकटमा परेपछि जनवरीदेखि फक्सवागन र पोर्शे दुवैको सीईओको दोहोरो भूमिका त्याग्न बाध्य भएका ब्लुमेले समूह सीईओका रूपमा पाँच वर्षे करार विस्तार गर्दै विश्वासको मत भने प्राप्त गरे । ब्लुमेको कार्यकालमा कम्पनीहरूको संयुक्त बजार मूल्य करिब ४८ अर्ब युरो (५६ अर्ब डलर) ले घटिसकेको छ । यसले ठूलो क्षति बेहोरेका लगानीकर्ताहरू अब देखिनेगरी नतिजा चाहिरहेका छन् । समय बित्दै जाँदा उनीहरूको धैर्य पनि खस्कँदै गएको छ । रोयटर्सले साना सेयरधनीदेखि लिएर शीर्ष १० ठूला फन्डसम्मका छ जना लगानीकर्तासँग कुरा गर्दा सबैको एउटै धारणा देखियो— ब्लुमेमाथि विश्वको दोस्रो ठूलो कार उत्पादक फक्सवागनलाई पुनर्जीवित गर्ने उनको रणनीति वास्तवमै काम गरिरहेको छ भन्ने ठोस प्रमाण देखाउने दबाब बढ्दो छ । सीईओ ओलिभर ब्लुमे । तीन दशकदेखि फक्सवागनसँग जोडिएका ब्लुमेले सेप्टेम्बरमा म्युनिख कार शोमा चुनौती स्पष्ट पारेका थिए । ‘अटोमोबाइल उद्योगमा दशकौंदेखि मनाइँदै आएको पार्टी अहिलेको स्वरूपमा सकिएको छ,’ उनले भनेका थिए, ‘अब पुनःअभिमुखीकरणको समय आएको छ ।’ ब्लुमेले चीनमा बिक्री पुनर्जीवित गर्न स्थानीय कम्पनीहरूसँग सहकार्य गर्दै ‘इन चाइना, फर चाइना’ रणनीतिमा दाउ लगाएका छन् । विश्वकै सबैभन्दा ठूलो कार बजार चीनमा जहाँ फक्सवागनले कुनै समय वर्चस्व जमाएको थियो । पश्चिमी बजारका लागि तयार पारिँदै गरिएको कम्पनीको भावी सफ्टवेयर प्लेटफर्म घाटामा चलिरहेको क्यालिफोर्नियाली ईभी निर्माता रिभियनसँगको उच्च जोखिमयुक्त संयुक्त लगानीमै टेकेको छ । गत साता सार्वजनिक गरिएको अपेक्षाभन्दा राम्रो २०२५ को नगद प्रवाह (क्यास फ्लो) ले ५७ वर्षीय ब्लुमेका प्रयास सही दिशामा छन् भन्ने आशा बढाएको छ । तर साना सेयरधनीहरूको प्रतिनिधित्व गर्ने ९ हजार सदस्यीय संस्था एसडीकेका मार्क लिब्शरका अनुसार ब्लुमेको गल्ती गर्ने सम्भावना झन् साँघुरिँदै गएको छ । ‘उनीमाथिको दबाब अत्यन्त ठूलो छ,’ उनले रोयटर्सलाई भने, ‘अहिले ब्लुमे अत्यन्त कठिन बजार वातावरणमा आफ्ना प्रारम्भिक दाबीहरू प्रमाणित गर्न बाध्य छन् ।’ लगानीकर्ताहरूका अनुसार फक्सवागनले कुनै समय अर्बौं युरो कमाएको चीन बजार ब्लुमेले तत्कालै पुनःजित्नैपर्छ । २०२४ मा फक्सवागनलाई बीवाईडीले उछिनेको थियो भने गत वर्ष अर्को स्थानीय प्रतिस्पर्धी जिलीपछि तेस्रो स्थानमा झरेको छ । पोर्शे र अडी ब्रान्डहरू पनि संघर्षरत छन् । यो गिरावट ब्लुमे सीईओ बन्नुअघि नै सुरु भएको भए पनि शाङ्घाईबाट इन्जिनियरिङमा पीएचडी गरेका ब्लुमेले अन्ततः समस्यालाई सम्बोधन गर्न थालेको भन्दै केही लगानीकर्ताले श्रेय दिएका छन् । ‘अहिलेसम्म उनले गरेका कामहरू आशाजनक छन्,’ शीर्ष २० फक्सवागन लगानीकर्तामध्येका युनियन इन्भेस्टमेन्टका मोरिट्ज क्रोननबर्गले भने । फक्सवागनले प्रमुख प्रविधि र सवारी विकास चीनमै सारिसकेको छ जसले विकास प्रक्रिया छिटो बनाउने र चिनियाँ उपभोक्ताको रुचिअनुसार उत्पादन उपलब्ध गराउने कम्पनीको दाबी छ । ब्लुमे चीनमा बनेका थप गाडी विदेश निर्यात गर्ने सम्भावनामा पनि छन्, यद्यपि कम्पनीको सबैभन्दा ठूलो बजार युरोप भने हालका लागि यस योजनाबाट बाहिर छ । शाङ्घाई अटाे शाे- २०२५ मा राखिएकाे पाेर्शे जीटीथ्री । चीनमा बनेका गाडी वा पार्टपुर्जाको आयात विस्तार गर्न शक्तिशाली जर्मन श्रमिक प्रतिनिधिहरूको स्वीकृति आवश्यक पर्ने एक कम्पनी स्रोतले रोयटर्सलाई बताएको छ । दुई वर्षभन्दा कम समयअघि जर्मनीमा ३५ हजार रोजगारी कटौती गर्न सहमति दिएको वर्क्स काउन्सिलले यसमा कडा विरोध गर्न सक्ने सम्भावना छ । ब्लुमेले चिनियाँ व्यवसायको समस्या चिनेको देखिए पनि यस्ता अवरोधहरूले केही लगानीकर्तालाई चिन्तित बनाएको छ । ‘यो अझै समस्या पहिचानमै सीमित छ, समाधानमुखी देखिँदैन,’ शीर्ष १० लगानीकर्तामध्येका डीडब्ल्यूएसका हेन्ड्रिक स्मिटले भने । पश्चिमका लागि ब्लुमेको ५ अर्ब डलरको सफ्टवेयर दाउ फक्सवागनको चीनमा देखिएको संकटले परम्परागत अटो इन्जिनियरिङमा अग्रणी कम्पनी सफ्टवेयरप्रधान युगमा पछि पर्दै गएको बुझाउँछ । ‘आइफोन आएको झन्डै २० वर्ष हुन लाग्यो,’ एसडीकेका लिब्शरले भने, ‘फक्सवागनले आफ्नै सफ्टवेयर समाधान विकास गर्न नसक्नु लज्जास्पदका साथै चकित पार्ने कुरा हो ।’ आन्तरिक सफ्टवेयर इकाइ क्यारियाडमा वर्षौंदेखिका समस्यापछि ब्लुमेले बाह्य सहयोग लिँदै रिभियनसँग ५ अर्ब डलरको संयुक्त लगानी गरेका हुन् । उनीहरू फक्सवागनका परम्परागत पश्चिमी बजारमा बेचिने भविष्यका उन्नत मोडेलका लागि नयाँ इलेक्ट्रोनिक प्लेटफर्म विकासमा सहकार्य गरिरहेका छन् । भविष्यका मोडेलका लागि नयाँ सफ्टवेयर प्रणालीको परीक्षण निर्णायक चरणमा छ, जसमा थप लगानी निर्भर रहने जनाइएको छ । विगतमा सफ्टवेयर ढिलाइकै कारण सीईओ हटाइएकाले पनि यो विषय फक्सवागनका लागि अत्यन्त संवेदनशील बनेको छ । अहिले सेयरधनी परिवारहरूको समर्थन भए पनि नेतृत्वले ठोस नतिजा देखाउनुपर्ने दबाब कायमै छ ।
बैंकहरूको नाफा साढे ३० अर्ब रुपैयाँ, कुमारीले ८८६.५० प्रतिशत बढायो, नबिलको सबैभन्दा धेरै
काठमाडौं । वाणिज्य बैंकहरुले ६ महिनामा साढे ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा गरेका हुन् । यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.५० प्रतिशत अर्थात् ३ अर्ब १५ करोड ६९ लाख रुपैयाँ बढी हो । गत वर्षको पुसमा बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको पुसमा सबैभन्दा धेरै नाफा कुमारी बैंकको वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासमा कुमारी बैंकको ८८६.५० प्रतिशत बढेर २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो । चालु आवको ६ महिनामा नेपाल बैंकको १८३ प्रतिशत बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १ अर्ब ३२ करोड ६६ लाख ५३ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशत बढेर १ अर्ब ७७ करोड ५ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यस्तै, पुस मसान्तमा नबिल बैंकको ४६.७० प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल नम्बर वान बनेको छ । गत वर्षको पुसमा नबिलको नाफा ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा माछापुच्छ«े बैंकको ११ करोड ११ लाख ७३ हजार रुपैयाँ, सानिमा बैंकको १६.६७ प्रतिशत बढेर १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको १४.५५ प्रतिशत बढेर १ अर्ब ३ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, प्राइम बैंकको ९.२७ प्रतिशत बढेर २ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको २.०४ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ नाफा गरेका छन् । समीक्षा अवधिमा विभिन्न ८ बैंकको नाफा घटेको छ । सिटिजन्स बैंकको ४५.७७ प्रतिशत घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) ४३.०४ प्रतिशत घटेर १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ, कृषि विकास बैंकको २६.१२ प्रतिशत घटेर ७० करोड ७४ लाख २६ हजार रुपैयाँ, प्रभु बैंकको २४.०७ प्रतिशत घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । एनएमबि बैंकको १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.२८९ प्रतिशत घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ, हिमालयन बैंकको १४.८८ प्रतिशत घटेर १ अर्ब २९ करोड २६ लाख ८१ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १३.५३ प्रतिशत घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् । तर, समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक रहेको छ । पुस मसान्तमा लक्ष्मी सनराइजको नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
विजय र भगवतीको टक्करमा रास्वपाको फरक रणनीति, यस्तो छ सुनसरी-३ को चुनावी विश्लेषण
काठमाडौं । विजय गच्छदारको सुनसरी-३ मा प्रतिनिधि सभाको निर्वाचनमा टिकट अनिश्चितजस्तै थियो । किनभने नेपाली कांग्रेसमा शक्तिको सत्ता फेरिएको थियो । गच्छदार राजनीतिमा निर्वतमान सभापति शेरबहादुर पक्षधर थिए । उनी पूर्वउपसभापति समेत थिए । कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व फेरिसकेको छ । गगन थापा सभापति बनेर टिकट बाँडेका छन् । टिकट पाइसकेर धेरै उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् । विजय गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिँदै आएका थिए । आफ्नो गढ मानिएको ठाउँमा उनलाई जान सधैं हतारो हुन्थ्यो । यसपालि पनि त्यस्तै भयो जहाँ उनलाई उम्मेदवारी दर्ता गर्नु थियो । यसपटक भने गच्छदार अलमलमा परेका थिए, टिकट पाउने हुँ कि नपाउने भनेर । किनभने उनलाई पार्टीभित्र शक्तिक्षीण भएको महसुस भएको थियो । उनी सधैं राज्य र पार्टीको शक्तिमा थिए । पार्टीले पनि सुनसरी ३ नम्बर क्षेत्रमा दुई जनाको नाममा टिकट वितरण गर्यो । विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट पाए । दुवै जना टिकट लिएर निर्वाचन क्षेत्र पुगे । निर्वाचन आयोगमा केही समय उम्मेदवारी दर्ता हुन सकेन । वेदनारायण गच्छदार दुहबी नगरपालिकाका मेयरसमेत हुन् । गच्छदारले अन्तिम पटक भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे । उनको आग्रहपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे । विजय गच्छदार गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित बनेका थिए । उनले ३५ हजार ६०० मत पाएका थिए । गत निर्वाचनमा उनले चुनावी इतिहासमा पहिलोपटक हार बेहोरेका थिए । छैठौं पटक जित हासिल गरेपछि गच्छदारले सातौं पटकमा निर्वाचनको परिणाममा फेल खाएका हुन् । यसपटक भने उनै गच्छदार एमालेकी उम्मेदवारसँग बदला लिने तयारीमा छन् । जसले गर्दा राज्य शक्तिबाट च्युत भए पनि पार्टीबाट शक्ति गुमाएनन् । कुनै समय सुनसरीमा कांग्रेस भन्नु नै गच्छदार थिए । गच्छदारले आफ्नो शक्ति र मत चिन्न नसक्दा जनताको पराजित बन्न पुगेका थिए । अन्तिम पटकको चुनावी लडाइँमा लागेका उनी आफ्नो पक्ष मत ल्याउने छन् । उनी इतिहास दोहोर्याउने दाउमा छन् । गच्छदारको सत्ता तोड्ने चौधरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी यसपटक पुनः जित हासिल गर्न कस्सिएकी छन् । गत निर्वाचनमा उनी ४० हजार ७८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले गच्छदारलाई निर्वाचनमा हराइनन् मात्र उनको सुनसरीमा देखिने सत्ताको शक्तिलाई समेत हराएकी थिइन् । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेको छ । चौधरीलाई आदिवासी समुदायको सूचीमा राखिएको छ । सोही ठाउँबाट उनले साहसी महिलाको रूपमा विजयी झण्डा फहराउँदै र हात हल्लाउँदै संसदमा छिरिन् । चौधरीले संसदमा मात्र पाइला राखिनन् । पहिलोपटक बालुवाटारमा मन्त्रीको हैसियतले आफ्नो उपस्थिति जनाइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भइन् । आफ्नो कार्यकालमा सामाजिक न्याय, समावेशीकरण र संरक्षणका क्षेत्रमा उल्लेखनीय नीतिगत पहल गरेको चौधरीको भनाइ छ । उनले महिला उद्यमशीलता, सामाजिक न्याय र सुशासनका सवालमा छोटो कार्यकालमा सार्वजनिक स्थानमा राम्रो काम गरेको दाबी गर्दै आएकी छन् । एमालेकी उम्मेदवार भगवती चौधरी । चौधरी अर्थतन्त्र, सामाजिक विकास र अन्तर्राष्ट्रिय समन्वयमा अनुभव हासिल गरेकी उनी युवाहरू तथा महिलाहरूको स्वरोजगार र आत्मनिर्भरताको सवालमा निरन्तर क्रियाशील रहँदै आएकी छन् । राजनीतिलाई पेसा–व्यवसायभन्दा पनि समाजसेवा र नीति निर्माणमा काम गर्ने थलो बनाइनु पर्ने नेतृ चौधरी बेला–बेलामा बताउने गर्छिन् । असफल नेताहरूको मत तान्ने रणनीतिमा रास्वपा सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक उनी सोही क्षेत्रमा विगतमा विजयी भएकाहरू असफल भएको भन्दै आएका छन् । उक्त क्षेत्रलाई सबैभन्दा बढी रोचक मानिएको छ । जेनजी आन्दोलनपछि नेपालको राजनीति परिदृश्य बदलिएको छ । नयाँ–नयाँ राजनीतिक दलको उदय भएकाले आफ्नो स्थान बलियो बनाउन खोजेका छन् । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेका थिए । यसपटक सबै दलले आफ्नो उम्मेदवार उठाएका छन् । गठबन्धन नगरेका कारण पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्ने गरेर हौसिएका छन् । सुनसरी ३ का मतदातासँग मत माग्दै रास्वपाका उम्मेदवार अशोककुमार चौधरी । चुनावी एजेण्डामा नयाँ-नयाँ मुद्दा र अनुहार देखिएका छन् । निर्वाचनमा युवा उम्मेदवारको संख्या बढी छ । पछिल्लो समय मुलुकमा रास्वपाको माहोल राम्रो बन्दै गएको देखिन्छ । राम्रो माहोल बनिरहेका बेला रास्वपाका उम्मेदवार अशोककुमार आफ्नो पक्षमा मत परिणाम ल्याउन खोजिरहेका छन् । गत निर्वाचनमा रास्वपाका उम्मेदवारले ६ हजार चार सय ५३ मत प्राप्त गरेका थिए । चौधरी असन्तुष्ट मतदाताहरूको मत आफूतिर तान्ने पक्षमा छन् । गच्छदार र चौधरीसँग रुष्ट बनेका मतदाताहरूलाई घण्टीमा मत हाल्न लगाएर चौधरी विजयीको पथमा लम्किने दाउमा छन् । कस्तो छ पार्टीको माहोल ? नेपाली कांग्रेस दुहबी नगर कार्य समितिका सभापति वेदनारायण गच्छदारले यसपटक नेपाली कांग्रेसको उम्मेदवारले सहजै विजयी हासिल गर्ने दाबी गरेका छन् । ०४८ सालदेखि निर्वाचित भएको उम्मेदवार यस क्षेत्रमा उम्मेदवार रहेकाले विजयी हुनेमा कांग्रेस ढुक्क रहेको उनी बताउँछन् । एमालेको मत पनि धेरै बिग्रेकाले कांग्रेसले मत बढाउन सक्ने गच्छदारले विश्वास व्यक्त गरे । गत निर्वाचनमा विजयी भएको उम्मेदवारले यस क्षेत्रमा केही नगरेकाले मतदाताहरू सचेत भइसकेको उनले बताए । उनी भन्छन्, ‘यसपालि रास्वपाले मत बढाउँछ । तर, हामीलाई असर पर्दैन । दुवै ठूला–ठूला दलको मत काट्ने छ ।’ नेपाली कांग्रेस रूपान्तरित भएर निर्वाचनमा गएकाले जित सुनिश्चित रहेको उनको बुझाइ छ । विकासप्रेमी र अनुभवी राजनीतिज्ञ रहेकाले यस क्षेत्रका लागि योग्य उम्मेदवार पार्टीले उठाएको उनको ठहर छ । ३ नम्बर क्षेत्रका मतदाता कपिल घिमिरे यस क्षेत्रमा निर्वाचन कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । एमालेकी उम्मेदवार भगवती चौधरीलाई हेभीवेटको रूपमा लिएको उनले बताए । ‘उनले राम्रो काम गरेकाले पनि एमालेकी उम्मेदवारको विजयी हुने सम्भावना रहेको छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसका विजय गच्छदार अर्का उम्मेदवार भए पनि सर्वसाधारणप्रति राम्रो धारणा बनेको छैन ।’ घिमिरेले काम र कार्यक्रमको आधारमा भगवती चौधरी क्षमतावान भएको उनको विश्लेषण छ । रास्वपाले एमालेको मत नकाट्ने उनले विश्वास व्यक्त गरे । रास्वपाले कांग्रेसको मत काट्ने उनको तर्क छ । रास्वपा समर्थित स्थानीय हीरामणि घिमिरेले पार्टीको संगठन विस्तार गरिरहेको बताए । ‘गत निर्वाचनमा उम्मेदवारीको मनोनयन गर्दा ५ जना थिए अहिले सयौंको भीड छ,’ उनले भने । रास्वपाप्रति स्थानीय मतदाता सकारात्मक रहेको घिमिरेले बताए । यस क्षेत्रको मतदाताले परिवर्तन खोजेको उनले उल्लेख गरे । रास्वपाकै ठूल्ठूला राजनीति दलका उम्मेदवारलाई मतदाता प्रश्न गर्न सक्ने भइसकेको उनको भनाइ छ । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेकाले ठूला दलका उम्मेदवारले प्रभावमा पार्न नसकेमा रास्वपाकै उम्मेदवारले सहजै जित हासिल गर्न सक्ने घिमिरेले बताए । सुनसरी ३ नम्बर क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट दुर्गेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ्, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टी राम नारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिप बहादुर तामाङ्ग, समावेशी समाजवादी पार्टी नेपाल किशोर कुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट आसुतोष ढुङ्गेल चुनावी मैदानमा छन् । यस्तै, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी, उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव, नागरिक उन्मुक्ति पार्टीबाट बासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहन कुमार शाह, स्वतन्त्र उम्मेदवार कासनी थरुनी, स्वतन्त्र उम्मेदवार कुमारी उराव, स्वतन्त्र उम्मेदवार चीतनारायण चौधरी, स्वतन्त्र उम्मेदवार राजन कुमार गौतम, स्वतन्त्र उम्मेदवार श्याम कुमार मुडियारी र स्वतन्त्र उम्मेदवार सुमन कुमार चौधरी रहेका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार ३ नम्बर क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । सोही क्षेत्रमा ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र रहेका छन् ।