नक्कली स्टीकर प्रयोग गरी राजश्व छल्ने ११ वटा मदिरा कम्पनी बन्द, अरु कम्पनीमाथि पनि अनुसन्धान शुरु

काठमाडौं । उत्पादित मदिरामा अन्तुल्कको नक्कली स्टीकर प्रयोग गर्ने ११ वटा कम्पनीलाई आन्तरिक राजश्व विभागले बन्द गरिदिएको छ । यसरी बन्द गरिएका कम्पनीहरु मध्ये अधिकांश तराई क्षेत्रमा सञ्चालित रहेको पाइएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक किशोर जंङ कार्कीका अनुसार झापा जिल्लामा रहेको विनर लिकर्स, भोलेबाब डिस्ट्रलरी, सुनसरीस्थित पूर्वाञ्चल डिस्ट्रलरी, धनुषाको नारायणी डिस्ट्रलरी र सांग्रिला डिस्ट्रलरी, सर्लाहीको अभिनव डिस्ट्रीलरीले आफ्ना उत्पादनमा नक्कली स्टीकर प्रयोग गरि बिक्री वितरण गर्दै आएको पाईएको छ । त्यस्तै, काभ्रेको शिखर डिस्ट्रलरी, रौतहतको एभरेष्ट डिस्ट्रलरी, धादिङको रसुवा डिस्ट्रलरी, रुपन्देहीको सुनछहारी डिस्ट्रलरी र दोभान डिस्ट्रलरीले पनि नक्कली स्टीकर प्रयोग गरी राजश्व छलेको पाइएको छ । ती सबै कम्पनीमाथि छानविन भईरहेको कार्कीले बताए । ‘११ वटै उद्योग बन्द गरिएको छ र उनीहरुको कारोबारमाथि सुस्म छानविन भइरहेको छ’ कार्कीले भने–‘११ वटा मध्ये एउटा उद्योगले अरु कम्पनीको अडरमा उनीहरुकै ब्राण्ड उत्पादन गर्ने र त्यसमा नक्कली स्टीकर लगाएर बजारमा पठाउने गरेको पाइएको छ ।’ अनुसन्धानका क्रममा बन्द गरिएको कम्पनीहरु कानुन बमोजिम जरिवाना तिरेपछि पुन सञ्चालनमा आउन सक्ने उनले बताए । विभागका महानिर्देशक कार्कीले अन्तशुल्कको नक्कली स्टीकर कारोबारीको सञ्जाल माथि गम्भिर रुपमा अनुसन्धान भईरहेको बताए । ‘नक्कली स्टीकर कसले बनायो ? कसले बनाउने आदेश दियो ? कसले ल्यायो ? क–कसले प्रयोग गरिरहेका छन् ? सबै पक्षको अनुसन्धान भईरहेको छ’ कार्कीले भने–‘अनुसन्धानमा सम्बन्धित क्षेत्रका कर कार्यालय प्रमुख, तोकिएका कर अधिकृतहरुले काम गरिरहेको छन् । आवश्यकता अनुसार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरोको सहयोग लिईरहेका छौं ।’ नक्कली स्टीकर आयात गर्ने समूहका केही व्यक्तिलाई पक्राउ गरी उनीहरुमाथि अनुसन्धान भईरहेको उनले बताए । मदिरा उत्पादन गर्ने अन्य कम्पनीहरुले पनि नक्कली स्टीकर प्रयोग गरेको हुन सक्ने आशंका गरिएको र बजारमा सुस्म अध्ययन तथा निगरानी बढाईएको उनले जानकारी दिए ।

गाडी चढ्नेको क्षमता कहाँबाट बढ्यो ? हिसाव राखेको छु–अर्थमन्त्री युवराज खतिवडा

बढी कर संकलन हुने क्षेत्र मध्ये अटोमोवाईल क्षेत्र पर्छ । बढी कर तिर्ने अटोमोवाइल व्यवसायीहरु संस्था भएकोले, तपाईहरुलाई सम्मान गर्नु पर्छ भनेर म नाडाको यस वार्षिक साधारणसभामा सहभागि हुन आएको हुँ । अटोमोवाइल व्यवसायी करै घटाउने कुरा गर्नुहुन्छ भनेर मेरो मन्त्रालयको सचिवहरु त आउदै आउनु भएन । म पहिलो चोटी तपाईहरुको कार्यक्रममा आए । कुरा त्यही रहेछ भन्ने बुझेँ । म आटोमोबाइलको आयातालाई बढो ध्यानपूर्वक हेर्छु । कुन साल कति सवारी आयात भए, कुन सालदेखि कुन साल दोब्बर आयात भयो भनेर तथ्याङ्क राख्ने र केलाउने गरेको छु । अनि अटोमोबाइल किन्नेहरुको कसको क्षमता कहाँबाट बढ्यो, त्यो पनि हिसाब राख्ने गर्छु । त्यस्तै अटोमोबाइल मोबिलिटीको लागि वा सोखको लागि हो भनेर पनि अर्थशास्त्रीय दृष्टिकोणको हेर्छु, विश्लेषण गर्छु । कति सीसीको, कति सिलिण्डरको, कति क्षमताको, कति ध्वनी निकाल्ने, कति ननिकाल्ने, कति प्रदुषण गर्ने, कति नगर्ने, सवारी साधान पनि प्रकार–प्रकारका हुने भए । खुला आयात नीतिको लाभ लिएर नचाहिने चिजहरु पनि हामी त्यही द्वारबाट प्रवेश गराउछौं । मूलतः यातायातको साधन उत्पादनसँगै जोडिने हो । यसमा कुनै शंका छैन । तर हामी आफै कति उत्पादनसँग जोडिएका छौं । मैले किनेको सवारी साधनले म कारखानासम्म जान पाउनुपर्दछ । मेरो कारखानाबाट बजारिकरण गर्न पाउनु पर्दछ । उत्पादनलाई निर्यात गर्ने बिन्दुसम्म जान पाउनुपर्दछ । कुनै चिज उत्पादन प्रयोगको हिसाबले हुन्छ । आफैमा त्यो उत्पादक अनुत्पादक हुँदैन । प्रयोग कसरी गर्छौ । मानौं तपाईको हातमा भएको मोबाइल ग्याम खेल्दा पनि भयो, विजनेशमा लाउदा पनि भयो, मार्केट इन्फर्मेशन लिदा पनि भयो, प्रविधिको लागि प्रयोग गर्दा पनि भयो । यो हेर्दा खेरी विलासी जस्तो देखिन्छ । तर यो तपाईको उत्पादनसँग जोडिएको पनि हुन्छ । के खायौ ? भनेरै लामो समयसम्म गफ मात्रै गरिराखेको पनि हुनसक्छ । त्यसो हुनाले हामीले भन्ने के हो भने हामी सबैले आयात गर्ने वस्तुलाई उत्पादनसँग जोड्न सकौं । निर्यात बढाउन सकौं । आयात प्रतिस्थापन गर्न सकौं र मुलुकलाई अघि बढाउनलाई एउटा आधार बनाउन सकौं भन्ने नै हो । मैले पहिले आदिकवि भानुभक्तको श्लोक पढेको थिए कान्तिपुरको बारेमा । त्यहाँ भनिए अनुसार काठमाडौंको ७ फुटको सडकमा ९ फुटको बस दगुड्छ । कवितामा केही अतिरन्जि गरिएको होला । तर कुरो के हो भने सडक साँगुरा छन् । गाडी ठूला भए । गाडीको संख्या कम छन् । गाडी चढ्ने बढी भए । हामीले दुईटा काम गर्नुछ । पहिलो, सवारी साधनको संख्या, आकार सबै बढाउनु पर्छ । दोस्रो, सडकको आकार पनि बढाउनुपर्छ । अब सडकको आकार यसै बढ्दैन पैसा लाग्छ । सरकारले राजस्व उठाउनु पर्छ । अनि सडकमा जे कुद्ने हो त्यसैबाट ट्याक्स उठाउनुपर्छ । मोटर चढ्नेसँग पैसा नउठाएर किसानसँग पैसा उठाउने र सडक बनाउने भन्ने कुरा हुन सक्दैन । जो सवारी साधन चढ्छ । उसले कर तिर्नु पर्यो । त्यहि पैसाबाट सडक चौडा गर्ने काम सरकारको हो । त्यो राजस्वलाई सरकारले दुरुपयोग गरेको अवस्थामा तपाईहरुले औला ठढ्याउने हो । राजस्व दुरुपयोग भयो भने तपाईहरुले प्रश्न गर्नुहोस् । तपाईहरु कर तिर्नुहोस् । तपाईहरुले तिरेको करको हामी राम्ररी सदुपयोग गर्छौ । नयाँ सडक, सडक विस्तार गर्ने काम हामी गर्छौ । धेरै भन्दा धेरै नागरिकले गाडी किन्न सक्ने गरि आर्थिक गतिविधि माथि लैजान्छौं । त्यसमा तपाईहरुको व्यवसाय पनि बढ्छ, देशको विकास पनि हुन्छ । यसमा वीन–वीनको कुरा छ । तपाईहरुले तिरेको राजस्वलाई हामीले राम्रो काममा उपयोग गर्न सक्नुपर्छ । त्यो हाम्रो प्रयास छ । तपाइहरु ढुक्क हुनुहोस् । तपाईहरुले तिरेको राजस्व हामी दुरुपयोग हुन दिदैनौं । दोस्रो कुरा हामी अहिले केही दिगो विकासका मोडलहरुको कुरा गर्दैछौं । दिगो विकासका कुरा गर्ने वित्तिकै उपभोग र उत्पादन प्रणालीमा पनि दिगो विकासका अबधारणा ल्याउनु पर्छ । वातावरणीय रुपमा उत्पादनको साधनहरुलाई प्रयोग गर्ने रुपमा, समाजको रुपमा तिनीहरु टिकाउ हुन् । अर्को हामी सुरक्षित सहर, सुरक्षित बस्ती, सुरक्षित आवागमनको कुरा गर्छौ, सहरी यातायात सुरक्षित भएन भने हाम्रो दिगो विकास लक्ष्य पनि प्राप्त हुदैन । त्यो हुनाले सुरक्षित सहरी यातायात, सुरक्षित सवारी साधनहरु र ती सुरक्षीत सवारी साधनहरु पनि वातावरण नविगार्ने किसिमको हुनु पर्दछ भन्ने हाम्रो मान्यता छ । त्यसो भएर हामीले सार्वजनिक ठूला सवारीका साधनहरुलाई विद्युतिय प्रणालीमा लैजाने भनेर काम शुरु गरिसकेका छौं । सार्वजनिक सवारीका ठूला साधनहरु भयो भने सडकको कन्जक्सन पनि कम हुने र विद्युतिय भयो भने प्रदुषण पनि कम हुनेछ । त्यो प्रयासमा यहाँहरुले हामीलाई साथ दिनुहोला । किनभने तपाईहरुले आयात गर्ने ठूला सवारीका साधन, अटोमोबाइलहरुले नै हाम्रो उद्देश्यहरु पूरा गर्नलाई सहयोग पुर्याउछ । त्यसको लागि सरकारले के–कस्तो सहकार्य गर्नु सक्छ, त्यो गर्न हामी तयार छौं । हामीसँग यतिधेरै अटोमोबाइलको माग छ । मुलुकमै इन्डस्ट्रि बनाउ अथवा केही चिज नेपालभित्र पनि उत्पादन गरौं । त्यसको लागि ठूलै औद्योसगक अथवा विशेष अर्थिक क्षेत्र चाहिन्छ भने त्यस्को पनि व्यवस्था गरौं भनेर हामीले ठूलठूला औद्योगिक तथा विशेष अर्थिक क्षेत्रहरुका परिकल्पना पनि गरेका छौं । अब प्रदर्शनी कक्षको मात्र होइन, उत्पादन कक्षको पनि कुरा गर्न थाल्यौं । हामीहरु डिलर्स मात्र नभएर एसेम्ब्लर्स पनि हौं । काँही काँही भ्यालु चेन्जको लागि कुनै–कुनै पार्टपूर्जाहरु हामीले पनि उत्पादन गर्न सकौं । तपाईहरुलाई उद्योगसँग पनि जोड्न पायौं भने हामी धेरै खुसी हुन्छौं । तपाईहरुको त्यस्तो उद्देश्यले पनि आइदिनुभयो भने हामी खुसी हुन्छौं र सहकार्य गर्न हामी तयार हुन्छौं । एक हातले तालि काँही पनि बज्दैन । तपाईहरु इमान्दर भइन्जेल नेपाल सरकारका कर्मचारीहरुले बेइमानी गर्ने ठाँउ नै हुदैन । अथवा नेपाल सरकारका कर्मचारी इमान्दार भइन्जेल तपाईहरुलाई बेइमान गर्ने पनि ठाँउ हुदैन । त्यसैले मेरो प्रयास के हो भने हामी सदाचारमा रहन्छौं । अर्थमन्त्रालय मातहतमा तपाईहरुलाई कसैले दस्तुरी मागेको, कसैले केही मोलाइहिज्जा गर्न खोजेको गुनासो छ भने हाम्रो हटलाईनको व्यवस्था छ । सिधै इलेक्ट्रोनिक मेलमा राख्न सक्नुहुन्छ । अर्थमन्त्रालयको वेवसाईटमा त्यस्तो एउटा पेज छ जहाँ तपाईले इलेक्ट्रोनिकली कम्प्लेन पनि राख्नुसक्नुहुन्छ । फिजिकल कम्प्लेन पनि मन्त्रालयमा पठाउन सक्नुहुन्छ । फोन नम्बरमार्फत पनि सम्पर्क गर्नुसक्नुहुनेछ । हाम्रो मन्त्रालयदेखि केही दिनमा पाउनुहुनेछ । त्यसो भएर हामीले तपाईहरुसँग सदाचारीताको अपेक्षा गरेका छौं । साथै हामी पनि त्यसमा बस्ने प्रतिवद्धता जाहेर गर्दछु । एउटा अर्को विषय छ । खुला सीमाना छ । अनि सवारी साधनहरुको आवगमन हुन्छ । कोही आएका फर्किदै फर्किदैन । कोही गएका फर्किदैनन् । कहिले भन्सार विन्दुभन्दा अर्को विन्दुबाट आउछ । नजानेको मान्छेले किन्छ । किनिसकेपछि पक्राउ पर्छ । उसले भन्छ ‘मैले त यहीँको सवारी साधन भनेर किने मलाई प्रहरीले पक्रर्यो भन्छ’ गुनासो गर्छ । यसको लागि हामीले हाम्रो खरिदकर्ताहरुलाई चेतना जगाउनु पर्ने काम छ भने, अर्को हामीले सीमा नियन्त्रण पनि त्यतिकै गर्र्नुछ । सीमा व्यवस्थित गर्नुको लागि र अस्वस्थ्य प्रतिस्पर्धा नहोस् भन्नका लागि त्यो काम हामीले गर्नुछ । हामीले सीमा सुरक्षा, व्यवस्थापन र भन्सार व्यवस्थापनलाई अलि कडाइका साथ अघि बढाउन खोजेका छौं । भन्सार वा अरु करका दरहरु मुलुकअनुसारको हुन्छ । चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्लले नेपालमा भन्दा भुटानमा मोटरमा लाग्ने कर कम छ, गाडी सस्तो छ भन्नुभयो । मैले भुटानमा काम गरेको हुनाले मलाई थाहा छ । भुटानको अर्थतन्त्र बिगार्ने अटोमोबाइल नै भएको छ । मैले त्यहाँ काम गर्दा भुटानको राजधानी थिम्पुमा कुनै समय ट्राफिक नै थिएन । ट्राफिक र ट्राफिक लाइट नभएको कुनै देशको राजधानी भन्न पर्दा थिम्पुलाई भनिन्थ्यो । अहिले ट्राफिक जाम हुन्छ । गाडीको आयात बढ्दा भुटानको ब्यलेन्स अफ पेमेन्टको समस्या आएको छ । आयात गरेको सामानको भुक्तानी गर्न पैसा भुटान अहिले अप्ठ्यारो स्थितिमा परेको छ । मुलुकका आकारअनुसार यस्ता कुराहरु हुन्छन् । सिंगापुरका कथाहरु पनि तपाईहरुलाई थाहा भएकै हो । मैले यो भनेर हामी गाडीको आयातलाई कुन्ठीत गर्नुपर्छ, रोक्नुपर्छ भनिराखेको छैन । मुलुकको विकासको आवश्यकता, व्यावसायिक सम्भावना र मान्छेको मोभीलीटीलाई व्यवस्थित गर्ने क्रममा अर्थतन्त्रको विकास सँगसँगै यसलाई अघि बढाउनु पर्दछ । निरपेक्ष ढङ्गले कुनै सेक्टर मात्रै अघि बढ्न सक्दैन । मुख्य कुरो नेपालीहरुको आम्दानी सृजना गर्ने अवस्था सृजना गर्न सक्यौं भने त्यो आम्दानीले कर पनि तिर्नु हुन्छ, गाडी पनि किन्नु हुन्छ । तपाईहरुले तिरेको करले हामी सडक बनाउछौं । तपाईहरु गाडी बिक्री पनि बढ्छ । अहिलेनै काठमाडौंको ट्राफिक हेर्नुभयो भने तपाईहरु आफैलाई एक किसिमले महशुस हुँदो हो नि कति गाडी बेचिएछ भनेर । भलै त्यो पनि सरकारकै कारणले हो । हामीले आयात गर्न छोडेकै छौं । तपाईहरुले व्यवसाय गरिरहनु भएको छ । त्यही कारण भएर । तर हाम्रो सडक विस्तारको योजना त्यसअनुरुप हुन सकेन । व्यवसायीहरु पनि काठमाडौं केन्द्रित भए । अब संघीयता कार्यान्वयनसँगै अलिकति केही हाम्रा क्रियाकलापहरु, राजनैतिक शक्ति वाँडफाँड क्षेत्रहरु केही विकेन्द्रीकृत भएका छन् । तर पनि कतिपय ठाँउमा यो समस्या छ । त्यसो भएको हुनाले हामीले काठमाडौं उपत्यकाभित्रको सवारी व्यवस्थापनमा तपाईहरुको सहयोगले केही कामहरु गर्नुपर्नेछ । सार्वजनिक यातायातको क्षेत्र बढाउने, हाम्रो अटोमोबाइलको क्षेत्रलाई कसरी व्यवस्थित गर्ने ? हामीले ल्याउने सवारी साधनहरु कस्तो प्रकृति, मोडेलको हुने, कुनलाई विलासीताको भन्ने ? कुनलाई आवश्यकताको भन्ने यसको पनि परिभाषा त होला नि ? वहस गरौं । २५/२६ सय देखि ३/४ हजार सीसीको पनि बाइक हुन्छ भन्ने सुनेको छु । त्यो के होला ? त्यसो हुनाले राज्यले विचार गर्नु पर्ने पक्ष हुन्छ । तपाईहरुले पनि बिचार गर्नु पर्ने हुन्छ । व्यवसायी जवाफदेहीता तपाईहरुको छ । तर त्यो व्यवसायिक जवाफदेहीता भित्रनै व्यवसाय गरेर तपाईहरुको संरक्षण, तपाईहरुको व्यवसायलाई संरक्षण गरिदिने र त्यसको आधारबाट राज्यले राजस्व लिएर देश विकास गर्ने हाम्रो जवाफदेहीता हुन्छ । त्यसैले हामी सहकार्यता गरौं । निजी क्षेत्रसँग यो सरकार धेरै नजिकमा रहेर काम गर्न चाहन्छ । चाहे उद्योग, व्यापार वा कुनै क्षेत्रमा होस् कोही पनि दुविधामा पर्नु हुदैन । हामी हाम्रो नीतिहरुलाई पछाडि फर्काउने पक्षमा छैनौं । तर जहाँ सुधार आवश्यक छ । जहाँ परिमार्जन आवश्यक छ । त्यो हामीले गर्नैपर्छ । किनभने हामीले रोजेको बाटो सबै नेपालीहरु सुखी हुन् । सबै नेपालीहरु समृद्ध होऊन् । कुनै एउटा वर्ग व्यक्ति मात्र धनी भएर मुलुक धनी हुदैन । हामी सबै धनी भयौं भने मुलुक धनी हुन्छ भन्ने हाम्रो सिद्धान्त हो । त्यसकै आधारबाट हामी अघि बढ्न चाहन्छौं । (नाडा अटोमोवाईल्स डिलर्स एशोसिएशन अफ नेपालको ४१ औं वार्षिक साधारणसभामा अर्थमन्त्री खतिवडाले व्यक्त गरेको विचार)  

गहना बेचेर शुरु गरेकाे नाइटिङ्गेल स्कूलको भ्यालु अहिले एक अर्बभन्दा बढी छ– तेजुलाल चौधरी

कुनै बेला सरकारी स्कूलमा मावि तहको स्थायी शिक्षक हुनुहुन्थ्यो तेजुलाल चौधरी । जब उहाँलाई इच्छा विपारित विकट स्थानमा जबरजस्ती सरुवा गरियो, तब उहाँले जागिरै छाडेर नयाँ बाटो लिनुभयो । नयाँ भाग्यरेखा त्यहिबाट कोरियो । र, अहिले उहाँ नेपाली काँग्रेसको नेता, सांसद्, राज्यमन्त्री र शिक्षा क्षेत्रको सम्मानित व्यक्तित्व बन्नुभएको छ । उहाँले २०४९ सालमा स्थापना गरेको नाइटिङ्गेल स्कूल अहिले करिव २५ सय विद्यार्थी पढिरहेका छन् । यस स्कूलमा उहाँकै शब्दमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई नेपाल सरकारले २०७०, ७१ र ७२ सालमा लगातार राष्ट्र भरिकै उत्कृष्ठ स्कूल भनेर सम्मान गरेको छ । यस विद्यालयले बोर्ड फस्ट र नाइटिङगेल नर्सिङले टप विद्यार्थीहरु जन्माइरहेको छ । सप्तरी जिल्लाबाट २०७० र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लगातार दुई पटक निर्वाचित सांसद समेत रहनुभएका यस विद्यालयको अध्यक्ष तेजुलाल चौधरीसँग नाइटिङ्गेल स्कूल, निजी लगानीमा सञ्चालित विद्यालयलको भविष्य र सरकारको सम्भावित नीतिमा केन्द्रीत भएर कुराकानी गरेको छौं । तेजुलाल चौधरी, अध्यक्ष–नाइटिङगेल इन्टरनेशनल सेकेण्डरी स्कूल नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूललाई एउटा अभिभावकको रुपमा कसरी बुझ्ने ? नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कूल आजभन्दा २५ वर्षअघि ललितपुर जिल्लाको कुपन्डोलमा स्थापना भएको हो । वैशाखदेखि स्कूल २६ वर्षमा प्रवेश गर्दैछ । परिश्रम गरौं, सम्मानित होउ भन्ने मुख्य धेय लिएर स्कूलको स्थापना गरेको हुँ । फ्लोरेन्स नाइटिङ्गेलको नामबाट खुलेको स्कूल हो । स्कूलको शुरुवाती अवस्थामा धेरै संघर्ष, दुःख गर्नु परेको थियो । मैले श्रीमतीको गहनासमेत बेचेर स्कूलमा लगानी गरेको थिएँ । स्कूल स्थापनाताका आफ्नै किसिमको इतिहास छ । नेपालको शिक्षा नियमावली २०४८ आउैगर्दा एकैचोटी हाइस्कूल स्वीकृत दिने चलन थियो । त्यसैलाई टेकेर सिधै हाइस्कूल खोलेको थिए । एकै पटक ६ क्लासदेखि ४०/५० जना विद्यार्थीहरुबाट स्कूल शुरुवात गरेको थिएँ । स्कूलले केही इतिहास कायम गरेको छ । नेपालको हरेक क्रियाकलापमा भाग लिने, विजय हासिल गर्दै आएको छ । यस स्कूलबाट १४ ब्याज विद्यार्थीले एसएलसी दिइसकेका छन् । हाम्रा विद्यार्थीहरुले राष्ट्र, अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा ख्याती कमाइसकेका छन् । मध्यम विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर स्कूल स्थापना गरिएको हो । ठूलो घरघरनाका नभइ कर्मचारीहरुको छोराछोरीहरु यस विद्यालयमा पढ्छन् । स्कूलमा पढाइ अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास लगायतका हरेक क्षेत्रमा विद्यार्थीहरु सवल र अब्बल दर्जाका उत्पादन भएका छन् । हाल स्कूलमा अहिले २२ सय भन्दा बढी विद्यार्थीहरु अध्ययरत छन् । ११ र १२ कक्षा मा करिब तीन सय विद्यार्थी छन् । नर्सिङमा कोटा अनुसार १२० जना अध्ययनरत छन् । नर्सिङ कलेजतर्फ हामीले दुई पटक नेपाल टप गरिसकेका छौं । स्कूलमा धेरै पटक हामीले बोर्ड फस्ट ल्याएका छौं । शिक्षा मन्त्रालयले राष्ट्रको, क्षेत्रको उत्कृष्ठ विद्यालयको रुपमा धेरै पटक सम्मान गरेको छ, पुरस्कृत गरेको छ । हामीले सस्तो शुल्क लिएर गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गरिरहेका छौं । तपाई आफैले चाहीँ कस्तो स्कूल पढ्नु भएको हो ? म सरकारी स्कूल पढेको हुँ । पहिला म सरकारी स्कूल माविको स्थायी शिक्षक थिएँ । म ललितपुरकै सरकारी स्कूलमा जागिरे थिएँ । वदनियतपूर्ण मलाई ललितपुरकै पहाडमा सरुवा गरियो । त्यसपछि मैले स्कूल छोडेर आफै केही गर्छु भनेर अघि बढेको हुँ । अहिलेसम्म यस स्कूलमा कति लगानी गर्नुभएको छ ? जुत्ता नखोलिकन, खाना नखाइकन बिहानदेखि बेलुका रातदिन नभनिकन, परिवार, छोराछोरीलाई छोडेर भएपनि नेपालको टप स्कूल कसरी बनाउने भनेर धेरै वर्ष मिहेनत गरेँ । एक नम्बरमा कसरी ल्याउने मेरो एउटै उद्देश्य त्यही थियो । अहिले यो स्कूलको आफ्नै भवनहरु छन् । ४÷५ वटा भवनहरु छन् । भौतिक सुविधा सम्पन्न स्कूल भएको छ । नाइटिङ्गेलको, स्कूल, कलेज, नर्सिङको ब्राण्ड चल÷अचल सम्पत्ति बिक्री गर्नु पर्दा मूल्य कति राख्नुहुन्छ ? बिक्री गर्ने कुरा नगरौं । सबै जोड्ने हो भने, यसको भ्यालु एक अर्ब रुपैयाँ भन्दा बढी नै हुन्छ, घटी छैन । स्वास्थ्य र शिक्षा निजी क्षेत्रले होइन, राज्यले सञ्चालन गर्नुपर्छ भन्ने विचार बारम्बार आउँछ । यस्तो विचार सुन्दा आफ्नो लगानी कति सुरक्षित ठान्नुहुन्छ ? संविधानमा यो विषयमा ३ वटा कुरा प्रष्टै लेखिएको छ । कुनै पनि क्षेत्रमा सरकार, निजी र सहकारीबाट लगानीको हुनसक्छ । म आफै पनि पूर्व राज्यमन्त्री भएको नाताले नेपाल सरकारलाई निजी स्वास्थ्य र शिक्षालाई कसरी व्यवस्थित बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दछु । सही व्यवस्थापन गर्नका लागि आग्रह गर्दछु । नेपाल सरकार तथा स्थानीय निकायहरुलाई सामुदायिक स्कूल, स्थास्थ्य क्षेत्रलाई सबैभन्दा पहिले सुधार्न सक्नुप¥यो । अरबौ÷खरबौं रकम सरकारले लगानी गर्छ । सरकारसँग रेकर्ड छ ? सरकारी स्कूल राम्रो भए किन बोर्डिङ खोल्नु प¥यो ? कुनै पनि अभिभावकले आफ्नो छोराछोरी राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सोच्छन् । त्यही भएर सरकारी स्कूलहरुले त्यसलाई सम्बोधन गर्न नसकेपछि निजी तथा आवासिय विद्यालयहरुको जन्म भएको हो । यदि निजी स्कूलहरु नखुलेको भए धनढ्याहरु छोराछोरीहरु पहिलेको झै डार्जिलिङ, भारत लागयत देश पढ्न जान्थे । अहिले पनि कहीँ कतै गइरहेका छन् । गिटी बालुवा बोक्नेको छोराछोरी पनि निजी स्कूलमा पढ्छन् भन्नुभयो । साँच्चैकै पढ्छन् त ? शुल्क त महङ्गो नि ? हजार÷पन्ध्रसय रुपैयाँ शुल्क लिएर पनि निजी स्कूल सञ्चालन भएका छन् । अहिले पनि काँधका कपडा बेच्ने एक जैसुवालले आफ्नो दुई छोराहरुलाई यसै नाइटिङ्गेल स्कूल पढाएर इञ्जिनियर बनाए । यस्ता विद्यर्थीलाई नाइटिङ्गेलले क्षात्रवृत्ति दिएको छ । नाइटिङ्गेलमा विद्यार्थीको लागि शुल्क कति निर्धारण गर्नुभएको छ ? शुल्क एकदम सस्तो छ । ३ हजार ३ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म छ । वार्षिक भर्ना शुल्क १० देखि २१ हजार रुपैयाँसम्म छ । बीचमा कुनै शुल्क लाग्दैन । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएको भन्छन् नि, तपाईको यसप्रतिको बुझाइ कस्तो छ ? सरकारले जसरी शिक्षामा लागानी गरिरहेको ९० प्रतिशत रिटर्न आउदैन । १ क्लासमा भर्ना हुने बच्चा दशौं बाह्रौं लाख हुन्छन् । एसएलसी दिने समयमा ४ लाख मात्र हुन्छ । ५ लाख बच्चा कहाँ हराउछ थाहा छैन । हराएको बच्चालाई के गर्ने । के तालिम दिने, के शिप सिकाउने, कुन जातीका बच्चाहरु स्कूल छोड्छन् ? कस्ता बच्चाहरुले पढ्दैनन्, किन छोड्छन् ? अहिलेसम्म नेपाल सरकारले पार्टीकुलर रुपमा यस सम्बन्धि अध्ययन गरेको छैन । म विगतमा राज्यमन्त्री भएको थिए । शिक्षा क्षेत्रमा बसेर काम गरेको ४ वर्ष भयो । जति लगानी गरेता पनि पार्टीकुलर स्थानीय सरकारले २÷३ वटा कुरा गर्न सकेन भने सोचेअनुसारको शिक्षामा परिवर्तन आउन सक्दैन । एउटा सबैभन्दा पहिले ७५३ वटा स्थानीय तह छ । प्रत्येक स्थानीय तहको परीक्षाको प्रणाली छ । पाठ्यक्रम केन्द्रकै भएपनि स्थानीय सरकारको पनि आफ्नै पाठ्यक्रम हुन्छ । मेयर, स्थानीय प्रमुखहरु शिक्षामा राम्रो दख्खल राख्छन् । त्यहाँको शिक्षा राम्रो हुन सक्छ । हैन भने सबै ठाँउको शिक्षा राम्रो हुन सक्दैन । तत्कालै सरकारले नमूना कानून बनाएर केन्द्र, प्रदेश, स्थानीय सरकारले के–के गर्ने भनेर जिम्मा दिनुपर्छ । सरकारले प्राविधिक शिक्षामा जोड दिनु पर्छ । तराईवासीका, जनजाति, थारु लगायतका छोराछोरी शिक्षाबाट बञ्चित छन् । उनीहरुलाई समेट्न सरकारले आवासीय विद्यालयको अबधारणामा ल्याउनुपर्छ । नमूनाको रुपमा त्यस्ता विद्यालयहरु सञ्चाल गर्नुपर्छ । सरकारले १२ कक्षासम्म सम्पूर्ण व्यवस्था गरेर विद्यार्थीलाई निःशुल्क पढाउनु पर्छ । आगामी योजना के–के छन् ? नाइटिङ्गेलस्कूल अबको २/४ वर्षमा विश्वस्तरिय शिक्षा दिने सोचका साथ अघि बढेको छ । सम्पूर्ण सेवासुविधा सम्पन्न हुन्छ । जस्तै प्रतेक क्लासमा मल्टिमिडिया प्रोजेक्ट जडान गरिन्छ । यसैपालि २० ओटा क्लासमा जडान गर्दैछौं । विश्वको शिक्षासँग प्रतिस्पर्धा गर्ने हिसाबले अघि बढ्दैछौं । प्रविधि, सिकाइ लगायत हरेक दृष्टिकोणले प्रतिस्पर्धात्मक रुपमा अघि बढ्दैछौं । केही वर्षमै अन्तर्राष्ट्रिय स्कूलहरुसँग जोडिने योजना छ । विद्यालयमा आइटी सम्बन्धि प्रविधिहरु अहिले के–के छन् ? ३÷४ प्रकारका विभिन्न प्रविधिहरु प्रयोग गरिरहेका छौं । क्लासमा प्रत्येक दिन १/२ ओटा प्रोजेक्टर अथवा मल्टिमिडियाको प्रयोग गर्र्नु पर्ने व्यवस्था गरेकाछौं । कोर्ष तथा बाहिरको विषयमा मल्टिमिडियाको प्रयोग गरिन्छ । बच्चाहरु स्कूल पुग्यो पुगेन । स्कूल पुग्ने वित्तिकै घरमा म्यासेज जान्छ । गाडीमा चढ्ने बित्तिकै मोबाइलमा म्यासेज जान्छ । गाडी कहाँ पुग्यो ? अथवा जाममा छ भने अभिभावकले मोबाइलमार्फत थाहा पाउछन् । भएका सुविधाहरुलाई व्यापक रुपमा प्रयोग गरेका छौं । शुल्क तिरेको छ, छैन? बाँकी कति छ ? घरमै बसीबसी हेर्न सकिन्छ । स्कूल कलेजमा दक्ष जनशक्ति आकर्षित छैन । जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ ? नेपालमा जनशक्ति अभाव ठूलो समस्याको रुपमा आएको छ । राम्रो जनशक्ति विदेश पलायन हुने अथवा आफै रोजगारी सृजना गर्ने, ठूला–ठूला बैंकहरुमा जागिर खान जाने लगायतका समस्या छन् । उनीहरु शिक्षा पेशातर्फ आकर्षण गर्न तथा भएकाहरुलाई पनि टिकाइ राख्न गाह्रो छ । उनीहरुलाई कति तलब दिदा बस्छन् । अनुमान गर्न गाह्रो छ । यद्यपि नाइटिङ्गेलमा २५ वर्षदेखि काम गर्ने शिक्षकहरु अझै करिब २० जना छन् । उनीहरुनै यो स्कूलको खम्बाको रुपमा रहेका छन् । १५ वर्ष जागिर गर्नेहरु ३०/४० जना छन् । हामी प्रत्येक वर्ष केही न केही तलब बढाउछौं । कम्तिमा पनि हामी शिक्षकलाई सरकारी स्केल बराबरको तलब दिन्छौं । अहिल राम्रो शिक्षक छन् भने उनीहरुको माग अनुसार तलब दिन्छौं । शिक्षकको माग अनुसार कति वर्षको लागि हो करार गरेर तलब दिने प्रचलन पनि आइसकेको छ । यहि स्कूल पढेका विद्यार्थीहरु करिब १०/१२ जनाले पढाउँछन् ।