अन्तशुल्क बृद्धिसँगै गाडीकाे भाउ ३० लाखसम्म बढ्ने
काठमाडौं । सरकारले करको दर बढाउदा सवारीसाधानको मूल्य न्युनतम ५ लाखदेखि ३० लाख रुपैयाँ बढ्ने भएको छ । सरकाले ल्याएको आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटमा मोटरसाइकालमा ५ लाख र कार, जीप लगायतको गाडीको ३० लाख रुपैयाँसम्म भाउ बढ्ने देखिएको हो। सरकारले प्रस्तुत गरेको बजेटको आधारमा दुई पाङ्ग्रे र चारपांग्रे सवारी साधनको मूल्य ह्वात्तै बढ्ने अटो व्यवसायीहरुले बताएका छन् । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा लाग्ने अन्तशुल्क बृद्धि गरेको छ । त्यस्तै १ हजार सीसीभन्दा बढीका चारपाङ्ग्रे गाडीमा सरकारले अन्तशुल्क बृद्धि भएको छ। नयाँ बजेटले अटोमोबाइल क्षेत्रमा हलचल नै मच्चाएको व्यवसायीको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा अटोव्यवसायी शेखर गोल्छाले सरकारले सवारी साधनमा नयाँ अन्तशुल्क कायम गरेसँगै मोटरसाइकलमा ५ लाख, कार, जिप लगायतका सवारीसाधनमा ३० लाख रुपैयाँसम्म भाउ बढ्ने बताए । ‘मोटरसाइलमा मात्रै ३५ हजारदेखि ५ लाख रुपैयाँसम्म मूल्य बढ्ने देखिन्छ,’ उनले भने ‘नेपाली बजारमा पछिल्लो समय ४०० सीसीभन्दा बढीका मोटरसाइकलहरु भित्रिरहेको छ ।’ बजेटले त्यस्ता मोटरसाइकलको मूल्य अधिक बढ्ने उनले जानकारी दिए । त्यस्तै उनले चारपाङ्ग्रे सवारीसाधनको मूल्य समेत २ देखि ३० लाख रुपैयाँसम्म बढ्न सक्ने गोल्छाको भनाई छ । उनले अहिले मुलुकमा सवारी साधनहरु विलासी साधनको रुपमा मात्र प्रयोग नभई सुरक्षा र सहजताको लागि उपयोग भएको भन्दै सरकारको नीतिको कारण मध्यम वर्गले उपयोग गर्दै आएको सवारी साधनहरु अब उनीहरुलाई धान्न गाह्रो हुने बताए । ‘अब मध्यम बर्गले राम्रो गाडी चढ्न नसक्ने अवस्था भयो,’ उनले थपे ‘अटोमोबाइलको बजार घट्नेछ ।’ उनको अनुसार पछिल्लो समय नेपाली बजारमा विश्वकै महंगा दुई वा चार पाङ्ग्रे सवारी साधनहरु भित्रिन थालेको थियो । त्यस्ता सवारी साधनहरुको आयातमा पनि ह्वात्तै कमि आउने उनको बुझाइ छ । अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) का पूर्व उपाध्यक्ष तथा अटो व्यवसायी शिवराज गिरीले बजेटमार्फत सरकारले अटोमोबाइल क्षेत्रमा ल्याएको नीतिप्रति दुख व्यक्त गरे । ‘मुलकुमा कृषि, निर्माण कार्य लगायतमा अहिले दुई र चार पङ्ग्रे सवारीसाधन आधारभूत आवश्यकताको रुपमा प्रयोग भइरहेका छन्,’ उनले भने ‘यस्ता साधनलाई विलासी वस्तुको रुपमा सरकारले लिन दुखको कुरा हो ।’ उनले अहिले सारकारले सवारी साधनहरुको अन्तशुल्क मात्र नभइ सडक निर्माण दस्तुर समेत बढाएको बताए । सडक बनाउनअघि निर्माण दस्तुर लिनु मुनासिव नभएको उनको तर्क छ । अटो व्यवासायीका अनुसार १२ सय सीसीभन्दा बढीको कार, जीप, भ्यान लगायतका सवारी साधनहरु प्रयोग भइरहेको छ । सरकारले सडक निर्माण दस्तुरको रुपमा पछिल्लो नीति अनुसार २ हजार सीसीसम्मका कार, जीप र भ्यानमा मूल्यको ८ प्रतिशत र २ हजार सीसीभन्दा माथिका गाडीहरुमा मूल्यको १० प्रतिशत कर लिने भएको छ ।
१ वर्षमा सहकारीको लगानी २९ अर्ब बढाउने सरकारको लक्ष्य
काठमाडौं । आउँदो आर्थिक वर्षमा वचत तथा ऋण सहकारी संस्थाको लगानी २९ अर्ब रुपैयाँ थप हुने भएको छ । हालसम्म ३ खर्ब रुपैयाँ लगानी रहेकोमा यसलाई बढाएर आगामी आर्थिक वर्षको अन्त्यसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ पुग्ने सरकारको अनुमान रहेको छ । यस्तै निक्षेप पनि २७ अर्ब रुपैयाँ बढ्ने प्रक्षेपण रहेको छ । आगामी वर्षको असारसम्म सहकारी संस्थाबाट हुने लगानी साढे ३ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ । सरकारले ल्याएको बजेटमा एक वर्षमा सहकारी संस्थाका सदस्य २ लाख ७० हजार बढाएर ६७ लाख ५० हजार पुर्याउने भनिएको छ । हालसम्म ६४ लाख ८० हजार जना सहकारीमा आवद्ध रहेका छन् । आउदो वर्ष सहकारी क्षेत्रले मात्रै ३ हजारलाई रोजगारीको सिर्जना गर्ने बजेटमा उल्लेख छ । आउदो वर्ष यसको संख्या बढेर ६५ हजार पुग्ने छ । हाल ६४ हजार रहेको छ । सार्वजनिक, निजी र सहकारी अर्थतन्त्रको ३ खम्बाको रुपमा लिइएको छ ।
रेल किन्न ५० करोड बजेट, अर्काे बर्ष गुड्ने पक्का
काठमाडौं । सरकारले रेल खरिदका लागि ५० करोड रुपैंयाँ बजेट छुट्याएको छ । रेल खरिदका लागि बजेट विनियोजन भएसँगै आगामी आर्थिक बर्षभित्रै नेपाली भूमिमा रेल गुड्ने पक्का भएको हो । ‘रेलका डब्बा खरिदका लागि ५० करोड रुपैंयाँ बजेट विनियोजन भएको छ, आगामी आर्थिक बर्षभित्रै नेपाली भूमिमा रेल गुड्नेछ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकास न्यूजलाई भने । सरकारले आफ्नो श्रोतबाट ३ करोड ७५ लाख र विदेशी सहयोगबाट ४६ करोड २५ लाख रुपैंयाँ रेल खरिदका लागि छुट्याएको हो । उपाध्यायका अुनसार जनकपुर जयनगर रेलमार्गको काम अन्तिम चरणमा पुगिसकेको छ । सोही मार्गमा गुडाउन रेलका डब्बा खरिदका लागि रकम विनियोजन गरिएको हो । जयनगर जनकपुर बर्दिबाससम्म ६९ किलोमिटर रेल वे ट्रयाकमा गुडाउन डब्बा खरिद गर्न लागिएको हो । बजेट पाएपछि तत्कालै रेलका डब्बा बुक(अर्डर) गर्न सकिने उपाध्यायले जानकारी दिए । ‘यो ५० करोडले तत्कालै पाँच सात वटा रेलका डब्बा अर्डर गर्न सकिन्छ, हामीले छिट्टै त्यो काम सुरु गर्छाै’, उपाध्यायले भने । सरकारले आगामी आर्थिक बर्षभित्रै पुर्वपश्चिम रेलमार्ग अन्तगर्त बर्दिबास लालबन्दीदेखि निजगढसम्मको खण्डमा रेल मार्ग निर्माणको काम अघि बढाउन लागेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।