माथिल्लो तामाकोसीको ९७ प्रतिशत काम सकियो, १ अर्ब ५८ करोडको तेस्रो आईपीओ कात्तिक अन्तिममा आउने
काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (तेस्रो आईपीओ) कात्तिकको अन्तिम सातामा आउने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गरेको दोस्रो आईपीओको बाँडफाँडमा केही समय लाग्ने भएपछि तेस्रो आईपीओ कात्तिक अन्तिममा धकेलिएको अपरतामाकोसीका प्रवत्ता गणेश न्यौपानेले बताए । उनका अनुसार दोस्रो आईपीओ बाँडफाँड गर्न ४० दिन समय लाग्ने र त्यसमा पनि नभए थप १५ दिन समय थप छ । दोस्रो आईपीमा तीन गुणा बढीको आवेदन परेको छ । प्रवक्ता न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा ३ गुणा बढी आवेदन परेको छ । २ लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । २ लाख ८२ हजारले आवेदन दिन पाउने भएपनि ७५ प्रतिशतले मात्र आईपीओ भरेको उनले बताए । बाँकी २५ प्रतिशतले आईपीओ भर्न नचाहेको न्यौपानेको भनाई छ । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । करिव ३ अर्ब रुपैयाँ बराबबरको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत निष्कासन गरेको हो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । आयोजनाको ९७ प्रतिशत काम सकियो ४५६ मेगावाटको माथिल्लो तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउदो बैशाखदेखि तामाकोसीबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म सडक बिग्रिएकाले ठुला पाइल आपूर्ति गर्न समस्या भएको प्रवत्ता न्यौपानेले जानकारी दिए । ढुवानीमा भएको समस्याले आयोजनाको काम प्रभावित हुदै आएको उनको भनाई छ ।
आईएमई ग्रुपले ओमानको सलाम एयरलायन्सलाई नेपाल ल्यायो, काठमाडौं–मस्कट उडान भर्ने
काठमाडौं । आईएमई ग्रुप अन्तर्गतको आईएमई इन्टरनेशनल ट्राभल्स प्राइभेट लिमिटेडले ओमानको सलाम एयरलायन्सलाई नेपाल भित्राएको छ । एयरलायन्सले काठमाडौंदेखि ओमानको मस्कटमा उडान भर्नेछ । मंगलबारदेखि सलाम एयरले काठमाडौंदेखि मस्कटसम्म उडान सुरू गरेकाे छ । सन् २०१७ देखि वजेट एयरलायन्सको रुपमा उडान थालेको सलामको काठमाडौं १५ औं गन्तव्य हो । ए ३२० सिरिजको सलाम एयरको १७४ यात्रु बोक्ने क्षमता छ । ओमानबाट काठमाडौं बिहान ८ बजेर ३० मिनेटमा अवतरण गर्ने र ८ बजार ४० बजे मस्कटका लागि उडान भर्नेछ । आईएमई सलाम एयरको जनरल सेल्स एजेन्ट (जीएसए) हो । मध्यपुर्व जाने नेपालीलाई लक्षित गरी सलाम एयरले उडान गरेकाे आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले १० पटक यात्रा गर्दा १ टिकट निःशुल्क प्रदान गर्ने जानकारी दिए । पहिलो उडानका यात्रुलाई चन्द्रागिरी हिल्सले केवलकार टिकटमा ५० प्रतिशत र अन्यलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सलामले भारतको गोवा, पाकिस्तानको कराँची, जेद्धा, वाकु, टिब्लिक, दोहा, दुवई, खार्तुमलगायत १४ क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं १५ औं गन्तव्य भएको छ । ओमान एयरले पनि काठमाडैंदेखि मस्कटसम्म उडान गर्दै आएको छ ।
नेपालमै सुरु भयो साइबर जोखिमको इन्स्योरेन्स
काठमाडौं । नेपालमै साइबर जोखिमको इन्स्योरेन्स सुरु भएको छ । एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि बैंक तथा वित्तिय संस्थाहरु उच्च साइबर जोखिममा देखिएका थिए भने बीमा कम्पनीहरुले त्यसको बीमा गर्ने योजना बनाएका थिए । नेपाल इन्स्योरेन्सको साइबर क्राइमसम्बन्धी बीमा पोलिसी स्वीकृत गरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले पनि साइबर क्राइम सम्बन्धी बीमा पोलिसीले स्वीकृति पाएको बताए । ‘हामीले पेश गरको पोलिसी बीमा समितिबाट स्वीकृत भएको छ, अहिले बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग त्यसबारे छलफल गरिरहेका छौं’, शाहले भने । उनले नेपालको वित्तिय प्रणाली उच्च साइबर आक्रमणको जोखिममा रहेकाले पनि इन्स्योरेन्स गराउनु अनिवार्य भएको बताए । ‘चोर बैंकमा छिर्यो भने बोक्न सक्ने पैसा मात्रै लैजान्छ तर एउटा ह्याकरले एक क्लिकमा अरबौं रकम उडाइदिन सक्छ, त्यसकारण यस्तो जोखिमको बीमा गराउनुपर्छ’, प्रमुख कार्यकारी अधिकृत शाहले भने । उनले प्राकृतिक विपत्तीसँगै मानव श्रृजित विपत्तिले पनि संसारमा ठूलै चुनौती ल्याएको बताए । ‘संसारमा प्रकृतिले विपत्ति ल्याउँछ, हामीले त्यसको बीमा गराउँदै आएका छौं, अहिले मानव श्रृजित साइबर अपराध अर्काे ठूलो विपत्तिका रुपमा आएको छ, त्यसको पनि बीमा सुरु गर्न लागेका हौं’, प्रमुख कार्यकारी अधिकृत शाहले भने । नेपालमा पछिल्लो समय एटिम ह्याक गरेर पैसा चोरी भैइरहेको छ । त्यस्तै, पछिल्लो समय एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याकपछि सिंगो वित्तिय क्षेत्रको प्रणालीमै जोखिम निम्तिएको छ । अब त्यस्तो जोखिमको समेत बीमा गरेर जोखिम हस्तान्तरण गर्न सकिने भएको हो । एनआईसी एसिया काण्डपछि अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले साइबर सेक्युरीटीको बीमा गराउन चाहेका थिए । नेपालमा त्यस्तो बीमा गर्ने व्यवस्था नभएपछि उनीहरुले भारतीय कम्पनी मार्फत समेत बीमा गराउन खोजेका थिए । तर नियामक निकाय बीमा समितिले नै त्यस्तो बीमा विदेशी कम्पनीमा गर्ने व्यवस्था नभएको बताएको थियो । नेपाल इन्स्योरेन्सले साइबर सेक्युरटीको बीमा पोलिसी बनाएर यतिबेला बैंक तथा वित्तिय संस्थाहरुमा पठाईरहेको छ ।