इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?

काठमाडौं । इरानले आइतबार मोज्तबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ । एसोसिएटेड प्रेस र रोयटर्सले इरानी सरकारी मिडियालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मोज्तबा खामेनेई हालै युद्धको सुरुवाती चरणमा मारिएका अयातोल्लाह अली खामेनेईका छोरा हुन् । उनी यस पदका लागि प्रमुख दाबेदार मानिएका थिए । अली खामेनेईले सन् १९८९ देखि मृत्यु नहुन्जेलसम्म इरानमा शासन गरेका थिए । मोज्तबा खामेनेईको नियुक्तिसँगै इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) र अन्य कठोरपन्थी समूहहरूमा उनको नियन्त्रण हुनेछ । एसोसिएटेड प्रेसका अनुसार रिभोलुसनरी गार्डले उनको समर्थनमा वक्तव्य जारी गरेको छ । इरान समर्थित लेबनानी लडाकु समूह हेजबोल्लाहले पनि टेलिग्राममा मोज्तबा खामेनेईको तस्बिर राखी ‘आशीर्वादित इस्लामिक क्रान्तिका नेता’भनेर उल्लेख गरेको छ । यस नियुक्तिले इरानको शासनमा कठोरपन्थी शक्तिहरूको नियन्त्रण कायम रहने संकेत दिएको छ । साथै यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सीधा चुनौतीको रूपमा पनि हेरिएको छ । ट्रम्पले इरानको नयाँ नेताको चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका छन् । ट्रम्पले यसअघि मोज्तबा खामेनेईलाई ‘हल्का तौलका नेता’  भनेर टिप्पणी गरेका थिए । उनले तेहरानमा आफ्नो स्वीकृति बिना नयाँ नेता चयन भए त्यो लामो समय टिक्न नसक्ने चेतावनी पनि दिएका थिए । ‘उसले हामीबाट स्वीकृति लिनुपर्छ,’ ट्रम्पले एबीसी न्यूजसँग भनेका थिए, ‘यदि उसले हामीबाट स्वीकृति पाएन भने ऊ धेरै समय टिक्दैन ।’ यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । उता अमेरिकासँगै इरानविरुद्ध आक्रमणको नेतृत्व गरिरहेको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार सम्भावित नयाँ उत्तराधिकारीहरूलाई समेत लक्षित गर्ने चेतावनी दिएको छ । फारसी भाषामा एक्समा पोस्ट गर्दै आईडीएफले उत्तराधिकारी चयन प्रक्रियामा सहभागी हुनेहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको हो । मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्छन् त ? मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्लान् कि सक्दैनन् भन्ने विषयमा मिश्रित धारणा देखिन्छ । धेरै विश्लेषकका अनुसार उनी लामो समयदेखि आफ्नो पिता अलि खामेनेईका नजिक रहेर पर्दापछाडिबाट प्रभाव जमाउँदै आएका व्यक्ति हुन् । विशेष गरी इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग उनको निकट सम्बन्ध रहेको मानिन्छ, जसका कारण सत्ता सञ्चालनमा उनलाई संस्थागत समर्थन मिल्न सक्ने पश्चिमी विश्लेषकहरूको तर्क छ । तर धेरै पश्चिमी मिडियाले उनको अनुभव र वैधतामाथि प्रश्न पनि उठाएका छन् । उनी सार्वजनिक राजनीतिमा कहिल्यै ठूलो सरकारी पदमा देखिएका छैनन् र प्रायः पर्दापछाडि रहने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले केही विश्लेषकका अनुसार यदि उनले नेतृत्व सम्हाले भने सुरुका वर्षहरूमा धार्मिक प्रतिष्ठान र सुरक्षा निकायहरूको प्रभाव निकै बलियो रहने सम्भावना छ । अर्कोतर्फ उनको चयनलाई लिएर केही टिप्पणीकारहरूले आलोचना पनि गरेका छन् । इरानियन रिभोलुसनपछि इरानमा राजतन्त्र अन्त्य भएको थियो, तर अहिले बुबाबाट छोरामा सत्ता सर्ने सम्भावनालाई केहीले ‘राजवंशीय शैलीको राजनीति’ भनेर व्याख्या गरेका छन् । त्यसैले पश्चिमी मिडियाको समग्र धारणा अनुसार मोज्तबा खामेनेई शक्तिशाली नेटवर्क भएका व्यक्ति भए पनि उनको नेतृत्वको प्रभाव र स्थायित्व कस्तो हुन्छ भन्ने कुरा अझै अनिश्चित मानिएको छ । खाडी देशमा इरानको आक्रमण जारी इरानले क्षेत्रीय सहयोगी देशहरूमा आक्रमण जारी राख्दा खाडी क्षेत्रका मुलुकहरूले पूर्वाधारमा थप क्षति पुगेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आएको मिसाइल र ड्रोन खतरासँग जुधिरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार देशको हवाई सुरक्षा प्रणालीले बलिस्टिक मिसाइलहरू अवरोध गरिरहेको छ भने लडाकु विमानहरूले ड्रोनहरू नष्ट गरिरहेका छन् । शनिबार साँझ दुबई र अबुधाबीमा मिसाइल खतराको चेतावनी दिँदै साइरन बजाइएको थियो । दुबईको २३ मरिना भवनमा खसेको भग्नावशेषले एक पाकिस्तानी चालकको मृत्यु भएको दुबई मिडिया अफिसले जनाएको छ। युद्धको असरले तेल महँगियो मध्यपूर्वका प्रमुख ऊर्जा उत्पादक देशहरूले उत्पादन घटाएपछि अमेरिकी कच्चा तेलको मूल्य आइतबार साँझ प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द जस्तै भएपछि तेल बजारमा ठूलो अवरोध आएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले खाडी देशहरूलाई तेल निर्यात गर्न कठिन भएको छ । बहराइनले आइतबार ड्रोन आक्रमणबाट पानी प्रशोधन (डिसेलिनेसन) प्लान्टमा क्षति पुगेको जनाएको छ । यद्यपि पानी आपूर्तिमा असर नपरेको बताइएको छ । उता इरानले भने अमेरिकाले आफ्नो केश्म टापुमा रहेको पानी प्रशोधन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार यसले ३० वटा गाउँको पानी आपूर्तिमा असर पारेको छ । तर अमेरिकी सेनाले उक्त आरोप अस्वीकार गरेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा १ हजार ८५० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । जसमध्य कम्तीमा १ हजार ३३० सर्वसाधारण रहेका छन् ।  यस युद्धका कारण १ लाखभन्दा बढी इरानी नागरिक विस्थापित भएका छन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री) थप सामग्रीहरू : मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

माओवादीको ‘लालकिल्ला’ भत्काउँदै यातायातविज्ञ गजुरेल संसदीय यात्रामा

काठमाडौं । हिजोसम्म सडकका खाल्डाखुल्डी, सवारी दुर्घटना र अव्यवस्थित यातायात प्रणालीबारे सार्वजनिक रूपमा बारम्बार सरकारलाई प्रश्न गर्ने आवाज अब संसदमा गर्ने भएको छ । टेलिभिजन बहसदेखि नीतिमञ्चसम्म सडक सुरक्षा र पूर्वाधार सुधारका विषय उठाउने यातायात विज्ञ आशिष गजुरेल अब संसद्को रोस्ट्रमबाट नीति निर्माण गर्ने माननीय बन्न पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार बनेका गजुरेलले दशकौंदेखि वामपन्थीहरूको बलियो पकड रहेको क्षेत्रमा सानदार जित दर्ता गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।  मतगणनाको अन्तिम परिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्र का प्रभावशाली नेता तथा पूर्वसांसद लेखनाथ दाहाल लाई ३ हजार १६० मतान्तरले पराजित गरे । दाहालले १४ हजार ७८० मत पाए। एमाले र कांग्रेसका उम्मेदवारहरू भने निकै पछाडि परे ।  यो क्षेत्र २०६४ सालदेखि माओवादीको गढ मानिन्थ्यो । विगतका चारमध्ये तीनवटा निर्वाचनमा माओवादीले नै जितेको थियो । तर यसपटक देशभर देखिएको रास्वपाको लहरले सिन्धुलीका पुराना राजनीतिक किल्लाहरू भत्काइदियो ।  झन् रोचक कुरा यही क्षेत्रमा २०७४ सालमा माओवादीबाट उनका काका हरिबोल गजुरेल विजयी भएका थिए । यसपटक भने त्यही भूमिमा आशिषले बाजी मारे । उनी राजनीतिमा अचानक देखिएका पात्र मात्र होइनन्, पूर्वाधार र यातायात व्यवस्थापन क्षेत्रमा लामो अनुभव बोकेका प्राविधिक विज्ञसमेत हुन् ।  जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखबाट ट्रान्सपोर्टेसन सिस्टममा मास्टर्स गरेका गजुरेल पेसाले इन्जिनियर हुन् । उनले नेपाल सरकारको लगानी बोर्डमा ७ वर्षभन्दा बढी पूर्वाधार विज्ञका रूपमा काम गरेका छन् । गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा दुई कार्यकाल नेतृत्व गरेका थिए । उनको कार्यकाललाई समितिको ‘स्वर्णिम समय’ भनेर समेत चर्चा गरिन्छ ।  उनकै नेतृत्वमा काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आयो । साथै दोधारा–चाँदनी सुक्खा बन्दरगाह को वर्षौंदेखि रोकिएको निर्माण कार्य अघि बढाउने काम पनि उनले गरे । उनकै कार्यकालमा समितिको वार्षिक आम्दानी ८० करोड रुपैयाँबाट बढेर १८० करोड रुपैयाँ पुगेको थियो, जुन उनको व्यवस्थापकीय दक्षताको उदाहरण मानिन्छ । निर्वाचन अभियानका क्रममा गजुरेलले भावनात्मक नाराभन्दा पनि तथ्यमा आधारित योजना प्रस्तुत गरेका थिए ।  उनका अनुसार, ‘राजनीति शक्ति वा पदको साधन होइन, यो सार्वजनिक सेवा र समस्याको समाधान गर्ने थलो हो ।’ सिन्धुलीलाई पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र डिजिटल पहुँच विस्तार गर्ने स्पष्ट योजनाले मतदाताको मन जितेको विश्लेषण गरिएको छ ।  अहिलेसम्म सडक र मिडियाबाट सरकारलाई सुझाव दिने गजुरेल अब आफै नीति निर्माणको केन्द्रमा पुगेका छन् । यातायात, आपूर्ति व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा उनको अनुभव संसद्मा उपयोगी हुने अपेक्षा गरिएको छ । एक सफल इन्जिनियर, लेखक र प्रशासकको छवि बनाएका गजुरेलको संसदीय यात्राले सिन्धुली-२ मात्र होइन, देशकै पूर्वाधार विकासमा नयाँ दृष्टि थप्ने विश्वास गरिएको छ । रास्वपाको घण्टीसँगै सिन्धुलीमा सुरु भएको परिवर्तन अब राष्ट्रिय नीति निर्माणमा कति गुञ्जिन्छ, त्यसतर्फ धेरैको नजर केन्द्रित भएको छ ।

सर्वाधिक मत पाउने सांसदहरु

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमले २९ हजार ५ सय २८ मत ल्याएर रौतहट-२ बाट विजय हासिल गरे । २०८२ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार मध्ये सबैभन्दा बढी भोट ल्याउने सांसद हुन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीका ८४ जना सांसदले मोहम्मद फिरदोस आलमको भन्दा बढी मत ल्याएर विजय हासिल गरे । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले २७ हजार ४ सय ६० मत पाएर रोल्पाबाट विजय हासिल गरे । उनको भन्दा बढी मत पाएर विजय हुने रास्वपाका ९५ सांसद छन् ।  नेकपा एमालेका मोहम्मद इश्तियाक राईले २४ हजार ६२८ मत ल्याएर बाँके-२ बाट विजय हासिल गरे । उनी एमालेबाट सबैभन्दा बढी मत ल्याउने सांसद हुन । उनले भन्दा बढी मत पाएर विजय हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद १०० जनभन्दा बढी रहेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी भए । अहिलेसम्म सबैभन्दा बढी मत ल्याएर विजय हुनेमा बालेनको नाम सूचीकृत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकै इन्दिरा राना मगरले ६० हजार ११० मत ल्याएर विजय हासिल गरिन् । उक्त पार्टीबाट १२ जनाले ५० हजार भन्दा बढी मत ल्याएर विजय हासिल गरे । ३६ जनाले ४० हजार भन्दा बढी मत मत पाए । ७० जनाले ३० हजार बढी मत पाए ।   प्रत्यक्षतर्फ १६५ सीट मध्ये कम्तीमा १२५ अर्थात् ७५ प्रतिशत सीटमा विजय हासिल गरेको यस पार्टीका विजयी हुने उम्मेदवारहरूले विजय हासिल गरेको मतान्तर पनि ज्यादै बढी छ । समानुपातिक तर्फ पनि दोस्रो ठूलो दल नेपाली काँग्रेसको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन गुणा बढी मत पाइरहेको छ ।