चिकित्सकबाट माननीय बनेकाहरू
काठमाडौं । केही चिकित्सकहरूले चिकित्सा क्षेत्रबाट राजनीति क्षेत्रको यात्रा तय गरेका छन् । अस्पतालमा विरामीको सेवा गर्दै आएका उनीहरू सबैजना एउटै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अत्यधिक बहुमतले विजयी भएका हुन् । नागरिकको स्वास्थ्यको उपचार गर्दै आएका उनीहरू अब नीतिगत तहमा सुधार गर्नेवाचाका साथ संसदीय यात्रामा लागेका छन् । डा.लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । रास्वपाबाट रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका उनी प्रतिस्पर्धाभन्दा ५० हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गरेका थिए । रूपन्देहीको अञ्चलपुरमा जन्मेका थापाले एमबीबीएस, इन्टर्नल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन् । उनी काठमाडौं महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुख थिए । साथै उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् । डा. शम्भु यादव प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–३ मा रास्वपाका उम्मेदवार डा. शम्भु यादव विजयी भएका छन् । नेकपा एमालेका लीलानाथ श्रेष्ठलाई पराजित गर्दै यादव विजयी भएका हुन् । यादवले ३२ हजार २४९ मत प्राप्त गर्दा एमालेका श्रेष्ठले १० हजार १ सय ५६ मत प्राप्त गरे । सिराहाको पठेरवाका डा. यादवले २०६७ सालमा एमबीबीएस उत्र्तीण गरेपछि काठमाडौंका विभिन्न निजी अस्पतालमा काम गरेका थिए । एक वर्ष किस्ट अस्पताल र दुई वर्ष बिएन्डबी अस्पतालमा काम गरेका उनी पछिल्लो समय आफ्नै गृहजिल्ला सिराहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए । डा.तोसिमा कार्की डा. तोसिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । रास्वपाकी उम्मेदवार कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी भएकी हुन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् । कार्कीका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । यसअगाडिको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएकी थिइन् । आनन्दबहादुर चन्द जनस्वास्थ्यविज्ञ आनन्दबहादुर चन्द कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट विजयी भएका छन् । रास्वपाका उम्मेदवार चन्द ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै चन्द विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । सुदूरपश्चिमको बैतडीमा जन्मिएका चन्दले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा काम गरेका छन् । उनी लामो समयदेखि शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा सक्रिय थिए । दीपककुमार साह दृष्टि विशेषज्ञ दीपककुमार साह प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । २० पटक मन्त्री बनेका जसपा नेता शरतसिंह भण्डारीलाई पराजित गर्दै साह निर्वाचित भएका हुन् । महोत्तरी –२ मा रास्वपाबाट उम्मेदवार बनेर डा.साह ३२ हजार ७ सय २२ मतसहित विजयी भएका हुन् । भण्डारीले १० हजार १ सय ९८ मत ल्याएर हार बेहोरेका छन् । सो क्षेत्र भण्डारीको पकड क्षेत्र मानिथ्यो । विसं २०३८ साल देखि उनी त्यस क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । यसपटक साहले भण्डारीको ४४ वर्ष अघिदेखिको किल्ला भत्काइदिएका छन् । साहको स्थायी ठेगाना महोत्तरी हो । उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । यसभन्दा अगाडि उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।
चार पूर्वशिक्षामन्त्रीमध्ये खनाल र पुनमात्र विजयी
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा निर्वाचन लडेका चार जना पूर्वशिक्षामन्त्रीमध्ये दुई जनामात्र विजयी भएका छन् । प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका पूर्वशिक्षामन्त्री शिशिर खनाल र महावीर पुन विजयी भएका हुन् । पूर्वशिक्षामन्त्री नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल भने पराजित भए । महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका पूर्वशिक्षामन्त्री महावीर पुन नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भए । पुन २२ हजार ८ सय ५० मतका साथ विजयी भएका हुन् । पुन शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रूपमा पहल गर्ने मुद्दा अघि सार्दै निर्वाचनमा होमिएका थिए । शिशिर खनाल पूर्वशिक्षामन्त्री शिशिर खनाल काठमाडौं– ६ बाट विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका खनाल २७ हजार ७ सय ११ मतसहित विजयी भएका हुन् । उनी यसअघि २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत पाए । पोखरेल र पौडेल पराजित पूर्वशिक्षामन्त्री पुन र खनाल विजयी हुँदा नेपाल कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र गिरिराजमणि पोखरेल पराजित भए । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–२ बाट निर्वाचन लडेका पौडेलको जमानतसमेत जफत भएको छ । रास्वपाका उम्मेदवार नरेन्द्रकुमार गुप्तासँग पराजित भएका पौडेलले जम्मा १ हजार ८सय ३८ मत प्राप्त गरेका थिए । ४४ हजार १ सय ३८ मत प्राप्त गर्दै गुप्ता विजयी भएका हुन् । गिरिराजमणि पोखरेल २०७२ सालमा करिब ९ महिना र २०७४ सालमा ३२ महिना गरी दुई पटक शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेल पनि यस पटकको निर्वाचनमा पराजित भएका छन् । उनी १० वर्षमा पाँच पटक नेपाल सरकारको मन्त्री भइसकेका व्यक्ति हुन् । २०६४ सालयता चुनाव जित्दै आएका पोखरेल यो पटक महोत्तरीबाट पराजित भएका हुन् । रास्वपाका प्रमोदकुमार महतोसँग पराजित पोखरेलले १२ हजार ६ सय २४ मत ल्याउँदै पराजय बेहोरेका छन् ।
गभर्नरले डेपुटी गभर्नर सिफारिस गर्न तयार पारेको ‘लिस्ट होल्ड’
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नियुक्ति नयाँ सरकार गठन भएपछि मात्रै हुने भएको छ । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताहरूले अन्तरिम सरकारले दीर्घकालीन प्रभाव पार्ने ठूला नीतिगत निर्णयसँगै नियुक्ति तथा बढुवाका निर्णय नगर्न आग्रह गरेपछि तत्कालका लागि डेपुटी गभर्नरको नियुक्ति पनि रोकिएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार वर्तमान अर्थमन्त्री रामेश्वर खनालले रिक्त रहेका डेपुटी गभर्नरको नियुक्तिका लागि गभर्नर डा.विश्वनाथ पौडेलसँगै अर्थसचिवसँग पनि छलफल गरेका थिए । छलफलपछि नयाँ आउने सरकार शक्तिशाली भएकोले तत्कालका लागि डेपुटी गभर्नरको नियुक्ति रोक्दा नै राम्रो सन्देश जान सक्ने भन्दै अर्थमन्त्रीले सो प्रक्रिया अगाडि नबढाउने सोच बनाएका हुन् । ‘रास्वपाका एक नेताबाट सचिवज्यूलाई नै फोन गरेर दीर्घकालीन प्रभाव राख्ने र कुनै पनि संस्थामा नयाँ व्यक्ति नियुक्ति नगर्नु भनेर आग्रह आयो, वर्तमान सरकारले पनि तत्काल डेपुटी गभर्नर नियुक्ति नगर्ने कि भन्ने कुरा भएको छ,’ अर्थमन्त्रालयको एक उच्च स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल सकाएर आइतबार बिदा भइसकेका छन् । दुवै डेपुटी गभर्नरले विकासन्युजसँग कुरा गर्दै आइतबारदेखि राष्ट्र बैंकबाट बिदा भएको जानकारी गराए । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अर्थमन्त्री समक्ष डेपुटी गभर्नरको नाम सिफारिसको लागि तयारी गरिरहेका थिए । अर्थमन्त्रीसँग छलफलपछि उनले डेपुटी गभर्नरका लागि तयार पारेको कार्यकारी निर्देशकहरुको सूची होल्ड गरेको बुझिएको छ । नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर राष्ट्र बैंकका विशिष्ट श्रेणी (कार्यकारी निर्देशक–ईडी) स्तरका अधिकृतहरूमध्येबाट नियुक्त गरिने व्यवस्था छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् । ऐनअनुसार गभर्नरले ती कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम डेपुटी गभर्नर पदका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ । गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट सरकारले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले पनि अहिलेको राजनीतिक परिवेशले डेपुटी गभर्नर नियुक्ति प्रक्रियालाई प्रभावित पार्न सक्ने बतायो । उनले वर्तमान सरकारले डेपुटी गभर्नर नियुक्त नगरेकै राम्रो हुने धारणा राखे । ‘निर्वाचन सम्पन्न भएर कुन पार्टीले सरकार बनाउँछ भन्ने कुरा प्रष्ट भइसकेको छ, बहुमतसहितको शक्तिशाली सरकार आउँदैछ, त्यसैले राष्ट्र बैंकजस्तो संस्थामा अन्तरिम सरकारभन्दा पनि अब आउने सरकारले डेपुटी गभर्नरको नियुक्ति गर्दा राम्रो सन्देश जान्छ,’ ती कार्यकारी निर्देशकले भने । राष्ट्र बैंक ऐनअनुसार गभर्नरले डेपुटी गभर्नरका लागि नाम सिफारिस गर्दा एकल अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ । ‘विगतको अभ्यास हेर्दा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया कहिलेकाहीँ साढे दुई महिनासम्म लम्बिएको उदाहरण पनि छ । यदि नयाँ सरकारले नियुक्ति गर्ने अवस्था आयो भने एकल बहुमतको सरकारले छिट्टै निर्णय गर्न सक्ने सम्भावना पनि देखिन्छ,’ स्रोतले भन्यो, ‘यस्तो अवस्थामा हालको सरकारले नियुक्ति प्रक्रिया रोकिने सम्भावना पनि रहेको छ ।’ अर्थमन्त्री रामेश्वर खनालले डेपुटी गभर्नर नियुक्ति प्रक्रिया रिक्त भएपछि प्रक्रिया अगाडि बढ्ने बताएका छन् । आइतबार विकासन्युजसँग कुरा गर्दै उनले भने, ‘डेपुटी गभर्नरको नियुक्ति सरकारले गर्ने हो र तर कुन सरकारले गर्ने भन्ने कुरा परिस्थितिमा भर पर्छ । अहिले नै यसबारे भन्न सकिँदैन । गभर्नरले सिफारिस गरिसकेपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने हो ।’ राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले पनि कानुनले नरोके पनि व्यवहारिक रूपमा मिलाउनका लागि आउने सरकारले नै डेपुटी गभर्नरको नियुक्ति गर्दा राम्रो हुने बताए । ‘निर्वाचन सम्पन्न भइसकेको छ, अहिलेको सरकार ‘केयर टेकर’ मात्रै हो । प्रक्रिया अगाडि बढाउन कानुनले नरोके पनि व्यवहारिक रुपमा आउने सरकारलाई नै छोड्दा राम्रो हुन्छ, गरिहाले पनि अब नेतृत्व गर्ने पार्टीका नेताहरूसँग समन्वय गरेर नियुक्ति हुन्छ,’ उनले भने । उनका अनुसार डेपुटी गभर्नरका लागि सिफारिस गर्ने अधिकार नितान्त गभर्नरको रहेकोले यस विषयमा उनले सञ्चालक समिति र राष्ट्र बैंकभित्रका सरोकारवालाहरूसँग छलफल नभएको जानकारी दिए ।