कतारबाट ‘आइएमई पे’मा पैसा पठाउँदा ४५ जनाले सुनदेखि आइफोनसम्म जित्ने
काठमाडौं । ‘आइएमई पे’ र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारले ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’ क्याम्पेनकाे लागि प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । यस क्याम्पियन अन्तर्गत सेवाग्राहीहरूले युनिमनि कतार मोबाइल एप वा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा आकर्षक उपहार जित्नेछन् । ‘आइएमई पे’काे अनुसार क्याम्पेनमा १० जना विजेताले आइफोन १४ प्रो म्याक्स, ५ जना विजेताले सामसुङ ए २२ अल्ट्रा र ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । सोही क्याम्पेनको अवधि चैत १ गतेदेखि जेठ १ गतेसम्म जम्मा ६२ दिनका लागि लागु हुने कम्पनीले जनाएकाे छ । उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पेवालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ ।
सहकारीमा सकसका बिच पनि पोखरा रोयलको वित्तीय विवरण बलियो
काठमाडौं । कास्कीको पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले फागुन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस क्षेत्रको ठूलो सहकारीका रुपमा परिचित पोखरा रोयल सहकारीको वित्तीय विवरण स्वस्थ नै देखिन्छ । यो सहकारी अधिकतम तरलता हुने सहकारी संस्थामा पनि पर्छ । कुल २१ करोड ३ लाख ९९ हजार रुपैयाँ सेयर पुँजी रहेको यो सहकारीले फागुन मसान्तसम्म कुल १ अर्ब ६५ करोड ७३ लाख ९९ हजार रुपैयाँ बचत संकलन गरेको छ भने १ अर्ब ७८ करोड ६३ लाख ९५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यो सहकारीको जगेडा कोषमा १५ करोड ७३ लाख २५ हजार रुपैयाँ छ । २४.१३ प्रतिशत तरलता रकम रहेको यस सहकारीको गत माघमा भने २४.८० तरलता अनुपात थियो । माघ महिनाको तुलनामा यस सहकारीको केही बचत पनि घटेको छ । यस सहकारीसँग फागुन मसान्तसम्म ३९ करोड ९९ लाख ४१ हजार रुपैयाँ तरलता सम्पत्ति छ । माघ महिनासम्म कुल ४१ करोड ६१ लाख २१ हजार रुपैयाँ तरलता सम्पत्ति थियो । कुल ८ हजार ७८७ जना सेयर सदस्य रहेको यस सहकारीले १ हजार ५०७ जना सदस्यलाई ऋण दिएको छ ।
एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकर लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटललाई धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको लाईसेन्स दिएको छ । गतवर्ष नै पुँजी बजारका सकृय लगानीकर्ताहरु र गैरआवासिय नेपालीहरुको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधबार एक समारोहका बिच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरे । २२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले आगामी साता औपचारिक उदघाटन गरी कारोबार सुरु गर्ने जनाएको छ । राजधानीको लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा रहेको कार्यालयबाट क्यापिटलले व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङ) र डिपी सेवा समेत दिने जनाएको छ । यस्तै, क्यापिटलले थप प्रक्रिया पुरा गरेर निकट भविष्यमै प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटल र म्यूचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिए । बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाईसेन्स दिएको थिएन ।