क्यूआर स्क्यानबाटै लिलाम सम्पत्तिको विवरण हेर्न मिल्ने, एनआईसी एशियाको सुविधा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाम बिक्री गरिने सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण सहज रूपमा प्राप्त गर्न सकिने जनाएको छ । ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी पोर्टलमा प्रवेश गरेर लिलाममा रहेका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितका जानकारी प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार ग्राहकहरूले खरिद गर्न इच्छुक सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही विवरणमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था मिलाइएको छ । बैंकले उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति, धितो सुरक्षणमा रहेका लिलाम बिक्रीयोग्य सम्पत्ति तथा लिलामसम्बन्धी अन्य सूचना प्रकाशित गर्दै जाने जनाएको छ । यसबाट खरिदकर्ताले बिक्रीमा रहेका सम्पत्तिको विस्तृत विवरण सहज रूपमा प्राप्त गरी लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले पोर्टलले लिलाम प्रक्रिया थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।   

५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढे, ९ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६ अंकले घटेर २८३० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार २२ कम्पनीको सेयर मूल्य बढ्दा २४६ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पििनिङ मिल्सको भएको छ । रिलाइन्सको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेसनल हाइड्रोको ५४ करोड, एसवाई प्यानलको ५० करोड, सोलु हाइड्रोको ३२ करोड र रिडि पावरको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिडिज लाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।      

निर्धन उत्थान लघुवित्तका सीईओ दाहाल बाहिरिए, कार्कीलाई कामु सीईओ जिम्मेवारी

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।  कम्पनी सचिव जग्य प्रसाद पन्तका अनुसार उनलाई वैशाख ४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि आज वैशाख ३ गते समाप्त भएको कम्पनीले जनाएको छ । यससँगै संस्थाको दैनिक सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हालका लागि कामु सीईओ कार्कीले सम्हाल्ने भएका छन् ।