युनियन र गुराँससँगको मर्जर प्रस्ताव पारित गर्न प्राइमले बोलायो विशेष साधारण सभा
काठमाडौं । युनियन लाइफ र गुराँस लाइफसँगको मर्जर प्रस्ताव पारित गर्न प्राइम लाइफ इन्स्यारेन्सले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख ७ गतेको लागि विशेष साधारण सभा बोलाएको हो । सभाले मर्जर गरेपछि जिवन व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले तीन कम्पनीबीचको मर्जरलाई लिएर सम्बन्धी सबै प्रस्ताव पारित गर्नेछ ।
एक सहकारीको ऋणीले ब्याज मात्रै ५३ लाख बढी तिर्नु पर्ने
काठमाडौं । शुभ किरण बचत तथा ऋण सरकारी संस्थाले ऋणीलाई कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारी संस्थाले ऋणी मैया राइलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । उनले सरकारी संस्थाको माछापोखरीबाट वि.सं. २०७६ फागुन १९ गते धितो कर्जा शिर्षक अन्र्तगत व्यवसाय संचालन गर्न १ करोड २६ लाख ७० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । उनले लिएको कर्जा चुक्ता गर्नुपर्ने अवधि वि.सं २०७८ पुस २९ गते मा समाप्त भएको सहकारीले जनाएको छ । ऋणी राइलाई पटक–पटक लिखित तथा मौखिक रुपमा समेत जानकारी गराउँदा पनि वेवास्ता गरेपछि ३५ दिनभित्र कर्जा चुक्ता गर्न सहकारीले आग्रह गरेको छ । उनले लिएको कर्जाको ब्याज रकम मात्रै ५३ लाख ३० हजार रुपैयाँ पुगेको छ । साँवा, ब्याज र हर्जाना समेत गरी उनले अब १ करोड ८० लाख रुपैयाँ तिर्नु पर्ने सहकारीले जनाएको छ । यदि ३५ दिनभित्र सम्पूर्ण हिसाब किताब चुक्ता नगरे लिलामी प्रक्रिया अघि बढाइने र सहकारी ऐन २०७४ अन्तरगत आवश्यक कारवाही गर्ने सहकारीले बताएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८० लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । मर्जर पश्चात् साविकको सिद्धार्थ इन्स्योरेन्सको सूचीकरण खारेज भएको छ ।