असार १ गतेदेखि डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार
काठमाडौं । आदर्श लघुवित्तलाई गाभेर डिप्रोक्स लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्न चैत १३ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको थिए । दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । अर्थात् डिप्रोक्स लघुवित्तको १ कित्ता सेयर बराबर आदर्श लघुवित्तको १ कित्ता सेयर कायम हुनेछ । दुवै लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएको हो । सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात् लघुवित्तको सीईओ शेष प्रसाद आचार्य बन्नेछन् । उनी हाल डिप्रोक्स लघुवित्तका सीईओ हुन् ।
११ प्रतिशत ब्याजमा लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बैंकको ऋणपत्र छिटोमा जेठ १९ गते र ढिलोमा जेठ ३० गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।
एफपीओ र मर्जरबाट हुने आम्दानीमा कर लगाउने सरकारको घोषणा
काठमाडौं । फर्दर पब्लिक अफरिंग (एफपीओ)बाट हुने आम्दानीमा पनि कर लगाउने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् यस्तो आम्दानीमा कर लगाउने घोषणा गरेका हुन् । सरकारले एफपीओ जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको उनले बताए । ‘कुनै निकायले एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस सेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ,’ अर्थमन्त्री महतले भने । यस्तै, सरकारले बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिमा जाँदा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)बाट भएको आम्दानीमा कर लगाउने घोषणा गरेको उनले बताए । निकायहरु आपसमा मर्जमा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने अर्थमन्त्री डा.महतले बताए ।