नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, के छन् एजेण्डा ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आगामी असार १९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको सञ्चालक समितीको जेठ २९ गते बसेको बैठकले असार १९ गते काठमाडौंमा बिहान साढे ११ बजे २१ औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । कुनै बैंकसँग एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी विशेष प्रस्तावले संचालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । साथै, प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन र सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंकले साधारणसभा प्रयोजनार्थ असार १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रभु लाइफको अध्यक्षमा शिक्षा भट्टचन
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थापक सेयरधनीहरुको तर्फबाट भट्टचन अध्यक्षमा चयन भएकी हुन् । साथै कम्पनीको संचालकमा सुशान शेरचन, मिजास भट्टचन र श्याम कृृष्ण श्रेष्ठ चयन भएका छन् ।
फेरी अर्काे सहकारीले ठग्यो बचतकर्ताको पौने २१ करोड रुपैयाँ
काठमाडौं । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख रुपैयाँ बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै २ हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रुपैयाँ रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार चार सय ९६ जनाले निवेदन दिएको बताए । ‘अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ, अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ ,’ उनले भने । गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकाहरूलाई बचतपास बुक र नागरिकतासहित प्रहरीमा निवेदन दिन आग्रह गरेको थियो । अहिले महेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्था बन्द छ । बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् । ‘हामीले मेहनतले कमाएको रकम हामीलाई फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ, सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका हौँ,’ बचतकर्ता सुमन कुँवरले भने । उक्त सहकारीमा ३७ हजार रकम बचत रहेको उनको भनाइ छ । त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रकम उक्त सहकारीमा जम्मा रहेको बताए । ‘सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएन, ३÷४ दिन कार्यालयमा धाएँ, मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ,’ उनले भने । बचतकर्ताहरूले बचत रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् । भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ ।