एनआइबीएल एस र मेगा क्यापिटलको एकीकृत कारोबार शुरु

काठमाडौँ । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलबीच एकीकृत कारोबार शुरु भएकाे छ । एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपछि सोमबारदेखि ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन शुरु गरेको हाे । यस सम्बन्धमा दुवै संस्थाहरुको जेठ २९ गते सम्पन्न विशेष साधारण सभाले प्रस्ताव पारित गरेको थियो । प्राप्ति पश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालयहरू र ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिस्ट्रार कार्य मार्फत करिब २५ लाख भन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने भएको छ । प्राप्ति (एक्विजिसन) पश्चात् साबिकको एनआईबिएल एस क्यापिटलको नाम समेत एनआइएमबि एस क्यापिटल हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भइसकेको छ । साबिकका दुवै संस्थाहरूको मिति असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’ अनुसार कारोबार सुरु भएको छ ।

एनएमबि बैंकको अफर : अन्तर बैंक फण्ड ट्रान्सफर र डेबिट कार्डमा पैसा नलाग्ने

काठमाडौं । एनएमबि बैंकले ग्राहकहरुका लागि दुई अफरहरू ल्याएको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने विश्वास बैंकको छ । सो अफर साउन मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निस्शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो संगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरु भएका छन् । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्र मान  श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गांउपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पुर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनाल लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुच बाहिर रहेको बल्कोट तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । बैंकका अर्घाखाँची शाखा प्रमुखले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । हाल बैंकले २९६ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।