ग्लोबल आइएमईले ल्यायो वैदेशिक रोजगार कर्जा, बिना धितो १ लाख ५० हजारसम्मको कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ । २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेकोछ । बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्टसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
लक्ष्मी सनराइजले दुई दिन भित्रै अन्तिम स्वीकृति पाउने, राष्ट्र बैंक भन्छ : सञ्चालकमाथि सोधखोज गर्दैछौं
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई चाँडै अन्तिम स्वीकृति दिने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले असार मसान्तभित्रै एकीकृत कारोबार सम्पन्न गर्ने गरी दुवै बैंकलाई अन्तिम स्वीकृति दिने तयारी भइरहेको बताए । उनका अनुसार लक्ष्मी सनराइज बैंकलाई एक/दुई दिन भित्र अन्तिम स्वीकृति दिने तयारी भइरहेको छ । उनले अन्तिम स्वीकृति रोक्नुको कुनै कारण नभएको समेत बताए । दुवै बैंकको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना सफल हुने उनकाे भनाइ छ । ‘हालसम्म लक्ष्मी र सनराइज बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिइएको छैन, त्यो प्रक्रियामा छ, अन्तिम स्वीकृति रोक्नुको कुनै कारण छैन, उहाँहरुका डकुमेन्ट आएका छन्, हामीहरुले अध्ययन गर्दैछाैं,’ उनले भने, ‘उनीहरुको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना हो, त्योभित्र सायद भ्याउँछन् होला, उनीहरुले आफ्नो योजना बनाइरहेका छन्, चाँडै स्वीकृति पाउँछन, अबको एक/दुई दिनभित्र अन्तिम स्वीकृति पाउँछन् ।’ असार २४ गतेभित्र एकीकृत कारोबार गर्नका लागि भने तयारी नपुगेको उनको भनाइ छ । अन्तिम स्वीकृति दिँदा सञ्चालकमाथि सोधखोज हुनु सामान्य विषय रहेको उनले बताए । ‘उनीहरुले अस्ति मात्रै कागजात पेश गरेका हुन्, सञ्चालकमाथि सोधखोज हुनु त सामान्य विषय हो, अन्तिम स्वीकृति दिन सम्भवतः ढिला हुँदैन,’ उनले भने । दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले असार २४ गते एकीकृत कारोबार गर्ने गरी मिति तय गरेका थिए । तर, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिला गरेपछि एकीकृत कारोबार मिति सर्ने हाेकि भन्ने शंसय पैदा भएकाे छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जपश्चात् सञ्चालक समितिको पहिलो बैठकले बैंकको अध्यक्ष नियुक्त गर्नेछ । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुनेछन् । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् ।
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैंकको ६५ औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहकाबीच शुभारम्भ गरिएको हो । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा समुद्घाटन गरे । शाखा कार्यालय तौलिहवा मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने छ । उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।