बागमती प्रदेशका ३ पालिकामा बीमा प्राधिकरण, बीमा सम्बन्धी कार्य गर्न एउटा कोठा उपलब्ध गराउने

काठमाडौं । महांकाल गाउँंपालिकाका अध्यक्ष गणेश बहादुर के.सी.ले गाउँपालिकाको भवन तयार भएपछि एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने बताएका छन् । असोज ११ गते भएको बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रममा बोल्दै उनले एउटा कोठा बीमा सम्बन्धी कार्यका लागि उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका हुन् । महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले न्यून आय भएका वर्गसहितका सबै नागरिकसम्म बीमाको पहुँच पुर्याउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताइन् । यस्तै, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कृषि तथा पशुपन्छी बीमालाई अझै स्पष्ट पार्न र गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र राख्न आग्रह गरे । कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको पहुँच वृद्धिका लागि आगामी बजेटमा बीमालाई समावेश गर्ने र सम्बद्ध सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले स्वास्थ्य बीमा र कृषि तथा पशुपन्छी बीमामा समस्याहरू रहेको औंल्याए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले घटना कतिबेला हुन्छ थाहा नहुने भएकाले गाउँपालिकाका सेवासँग बीमालाई आवद्ध गरेर अनिवार्य गर्न सम्बन्धित गाउँपालिकासँग आग्रह गरे । निर्देशक लालले आर्थिकरूपमा सक्नेलाई बीमा गर्न प्रोत्साहन गर्न तथा विपन्न बर्गको बीमा गाउँपालिकाबाट नै गरिदिने व्यवस्था गर्न सुझाव दिए । उपनिर्देशक निर्मल अधिकारीले बीमाको परिचय, महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको विकास एवम् पहुँच विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा ललितपुरका कोन्ज्योसोम गाउँपालिका, महांकाल गाउँपालिका र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा प्राविधिकरूपमा जटिल रहेको, बीमा कम्पनीहरूले कृषि बीमा गर्न नमानेको, बीमांकमा एकरूपता नभएको, दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कहाँ कसरी गर्ने भन्ने थाहा नभएको लगायतका गुनासाहरू राखेका थिए । यसैगरी, सहभागीहरूले बीमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन, स्थानीय तहसँग समन्वय गरेर गाउँपालिका क्षेत्रमा बीमा सेवा केन्द्र स्थापना गर्न, बाली बीमालाई अझै स्पष्ट पार्न, विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, भैंसी र बाख्राको मूल्य निर्धारणमा देखिएको समस्या समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गरेका थिए ।

एकल अंकको ब्याजदरमा पनि गएन अटो लोन

काठमाडौं । गत भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो २०२३’ सम्पन्न भयो । नाडा अटो शोमा विभिन्न कम्पनीका विद्युतीय गाडी प्रदर्शनीमा थिए । नाडा अटो शोलाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैंकले भदौ २५ गते एउटा स्कीम सार्वजनिक गर्याे । ‘आरबीबीएल इभी लोन फेस्टिभ अफर’ नामक विशेष योजना सार्वजनिक गर्याे । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’ भन्ने नाराका साथ भदौ २६ गतेदेखि लागू हुने गरी उक्त विशेष योजना सार्वजनिक गरेको थियो । बैंकले ९.९५ प्रतिशत ब्याजदरमै विद्युतीय सवारी खरिद गर्न कर्जा दिने बताएको छ । बैंकले तोकेको कर्जाको दर वाणिज्य बैंकहरुमध्ये सबैभन्दा न्यून रहेको दाबी गरेको छ । बैंकका उपकार्यकारी अधिकृत (डीईओ) विनय रमण पाैडेलका अनुसार विद्युतीय सवारी खरिद गर्न सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकमा छ । ‘हामीले विद्युतीय गाडीलाई जोड दिन खोजेको हौं, प्रकृतिलाई जोगाउनु पर्छ भन्ने हाम्राे उद्देश्य हो, सरकारले पनि विद्युतीय गाडीलाई जोड दिइरहेको छ,’ उनले भने, ‘सरकारले अहिले बिजुली खपत गरौं भनिरहको छ, राज्यको नीतिलाई पालना गर्न/गराउन यो प्रडक्ट ल्याएका हौं ।’ बैंकले ल्याएको उक्त प्रडक्ट ग्रीन बैंकिङ्ग अन्तर्गत रहेको डीईओ पौडेले बताउँछन् । विद्युतीय सवारी खरिद गर्दा पेट्रोलियम पदार्थको खपत कम हुने र विद्युत खपत बढ्ने उनको भनाइ छ । नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा जलविद्युत क्षेत्रको योगदान बढ्दै गएकाले विद्युतीय गाडीलाई जोड दिएको उनले बताए । ‘वाणिज्य बैंकहरुमै सबैभन्दा सस्तो ब्याजदर, ग्रिन बैंकिङ्गलाई जोड दिनु, ८० प्रतिशत फाइनान्स गर्नु मुख्य विशेषता हो,’ डीईओ पौडेलले भने । डीईओ पौडेलका अनुसार एक करोड रुपैयाँको विद्युतीय सवारी खरिद गर्नु पर्याे भने ग्राहकले २० प्रतिशत रकम मात्रै नगद जम्मा गर्नु पर्ने हुन्छ । बाँकी ८० प्रतिशत रकम बैंकले फाइनान्स गर्ने उनले बताए । तर, राष्ट्रिय वाणिज्य बैंकले सवारी कर्जा प्रवाह गर्दा १ करोड रुपैयाँभन्दा बढी मूल्य भएका र दुई पाङ्ग्रे सवारीको फाइनान्स नगर्ने उनले बताए । ‘सर्वसाधारण तथा मध्यम वर्गलाई मध्यनजर गरी यो प्रडक्ट ल्याएको हो, अहिले नेपाली बजारमा एक करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारी साधन धेरै छैनन्, अधिकांश विद्युतीय सवारी साधन एक करोड रुपैयाँभन्दा कम मूल्यका छन्,’ उनले भने, ‘त्यसैले सवारी साधन खरिद गर्दा विद्युतीय सवारीमा ग्राहकको आकर्षण बढोस् भन्ने हाम्रो चाहना हो ।’ बैंकका अनुसार उक्त प्रडक्ट तीन महिना अवधिका लागि ल्याइएको हो । यदि आगामी दिनमा उच्च माग भयो भने समय थप गर्न सकिने उनको भनाइ छ । तीन महिनाको अवधिमा १ सय वटा विद्युतीय सवारीका लागि कर्जाको माग आउने अनुमान गरेको उनको भनाइ छ । ‘बैंकले ल्याएको प्रडक्टको माग राम्रो छ, सकारात्मक प्रतिक्रिया पनि आएका छन्, हालसम्म १५/२० वटा फाइल बैंकमा आएका छन्, कर्जाको माग आउने क्रम बढ्दै गएको छ, १५/२० वटा फाइलहरुमध्ये टाटा नेक्सन, एमजी लगायत मध्यम रेञ्ज भएका गाडीहरु खरिदका लागि छन्, कम मूल्य भएका किया लगायतका सवारी खरिद गर्न कर्जाको माग कम छ,’ उनले भने । अन्य बैंकको आधार दर ११ प्रतिशत हुँदा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ८.५ प्रतिशत रहेको छ । बैंकले आधार दरमा १.४५ प्रतिशत प्रिमियम मात्रै थप गरेको हो । अन्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा राष्ट्रिय वाणिज्य बैंकले घटाउँदै आएको उनले बताए । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्व रहेको बैंक भएकाले सरकारको नीतिअनुसार विद्युतीय सवारीमा प्रवद्र्धन गर्न सस्तो ब्याजमा ऋण प्रवाह गरिरहेको उनको भनाइ छ ।

मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन

मोरङ्ग । मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन गरिएको छ । नबिल बैंकको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अथितिहरु पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थितीे रहेको थियो । नबिल बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । मन्तब्य दिने क्रममा प्रमुख अतिथी कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पुर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुने कुरा बताए । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।