ज्योति विकास बैंकद्वारा क्युआर अडियो अलर्ट सेवा सार्वजनिक
काठमाडौं । ज्योति विकास बैंकले क्युआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइलीः क्युआर अडियो अलर्ट डिभाइस’सेवा ग्राहकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो । यस सेवा अन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोड मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन् । यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ। साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ। बैंकले यो सेवा बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा ल्याएको हो । आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरु मार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
कुमारी र प्रभु बैंकका ६ जना संस्थापक बाहिरिँदै
काठमाडौं । कुमारी बैंक र प्रभु बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएका छन् । दुवै बैंकका ३÷३ जना गरी कूल ६ जना संस्थापकहरु सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । कुमारी बैंकका ३ संस्थापकले ११ हजार २२ कित्ता र प्रभु बैंकका ३ संस्थापकले २० हजार २०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकका अनुसार लोकमाया गुरुङ्गको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको ३ हजार ४५३ कित्ता र भरत बहादुर बुढाथोकीको ५ हजार २६४ कित्ता सेयर बिक्रीमा राखिएको हो । त्यस्तै, प्रभु बैंकका संस्थापक शुशिला देवी सिंघानियाको १० हजार ९३५ कित्ता, रजन श्रेष्ठको ५ हजार कित्ता र नितु अग्रवालको ४ हजार २६७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन पेश गर्नु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
असल कर्जाको प्रोभिजनिङ घट्यो, अब १.२५ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले असल कर्जामा गर्नु पर्ने प्रोभिजनिङ घटाएको छ । बिहीबार एकीकृत निर्देशन जारी गर्दै असल रहेका कर्जाको प्रोभिजनिङ घटाएको हो । ‘एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२५ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । यसअघि राष्ट्र बैंकले कसल कर्जामा १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकका अनुसार सुक्षम निगरानीमा रहेका कर्जामा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराब कर्जामा १ सय प्रतिशत कर्जा नोक्सानीको व्यवस्था कायमै राखेको छ ।