नेपाल रिको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
बन्दीपुर केबलकार र नेपाल एसबिआई मर्चेण्टबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजमको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग मार्फत हुने जनाइएको छ ।
ग्लोबल आइएमई बैंकले १६ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बेच्दै
काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरीएका शाखा कार्यालयहरुमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका १६ वटा कार्यालयहरुको सम्पत्ति बिक्री गरिने भएको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । साबिक बैंक अफ काठमाण्डूका भलुबाङ्ग दाङ्ग, टिकापुर कैलाली, तुलसीपुर दाङ्ग, न्यूरोड काठमाडौं, धरान सुनसरी, घोराही दाङ्ग, कालिकानगर रुपन्देही र बिर्तामोड झापा शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्री गरिने भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालयहरु तुल्सीपुर दाङ्ग, खैरेनी रुपन्देही, टिकापुर कैलाली, न्यूरोड काठमाडौं, तिनकुने काठमाडौं, चाबहिल काठमाडौं, सुदूरपश्चिम प्रदेश कार्यालय कैलाली र बिर्तामोड झापा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्री गरिने भएको हो ।