बीमा प्राधिकरणका अध्यक्ष पौडेलको उपराष्ट्रपति कार्यालयमा सरुवा
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अस्थायी रूपमा अध्यक्षको जिम्मेवारी पाएका चन्द्रकला पौडेलको सरुवा भएको छ । सरकारले प्राधिकरणका अध्यक्ष पौडेललाई संघीय मामिलाबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पौडेल सचिवको भूमिकामा थिइन् ।
माछापुच्छ्रे बैंकको नयाँ सेवा : मोबाइल एपबाटै नेपाल–भारत रियल टाइम रकम पठाउन सकिने
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल–भारतबीच रियल टाइम क्रस बोर्डर रकम स्थानान्तरण (ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’मार्फत उक्त सेवा सुरु गरेको जनाएको छ । नयाँ सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, सहज र तत्काल व्यक्ति–देखि–व्यक्ति (पीटूपी) रकम पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसले दुई छिमेकी मुलुकबीच डिजिटल वित्तीय पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ । बैंकका अनुसार भारतमा बसोबास, अध्ययन वा रोजगारी गरिरहेका नेपालीहरूले त्यहाँ उपलब्ध युपीआई (UPI) प्रणालीसँग आबद्ध डिजिटल भुक्तानी एप प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सजिलै रकम पठाउन सक्नेछन् । पठाइएको रकम लाभग्राहीको खातामा तत्कालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकको दाबी छ । त्यसैगरी नेपालमा रहेका भारतीय नागरिकले पनि एमबीएल एम स्मार्ट एपमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधामार्फत भारतमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ । बैंकले सेवा सञ्चालनमा सुरक्षा, पारदर्शिता र नियामकीय अनुपालनका उच्च मापदण्डलाई प्राथमिकता दिएको जनाएको छ । यस पहलले नेपाल–भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ । साथै बैंकले आगामी दिनमा थप प्रविधिमैत्री तथा ग्राहककेन्द्रित वित्तीय सेवा विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीन सेवा ल्याउने प्रतिबद्धता जनाएको छ ।
ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यसहित दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरु गरिएको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा अन–द–फ्लाई ईएमआई सुविधा प्राप्त गर्नेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले स्पष्ट पारेको छ । ग्राहकहरुले आफूलाई सहज हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधिमा किस्ताबन्दीमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । उक्त योजनामा कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस सुविधाबाट विशेषगरी इलेक्ट्रोनिक्स तथा महंगा सामग्री खरिद गर्ने ग्राहकहरुलाई तत्काल आर्थिक भार कम भई योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ । यसै सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुलाई लक्षित गर्दै विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ जारी गरिने भएको छ । ग्राहकको आर्थिक व्यवहार तथा पछिल्लो तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा निर्धारण गरिनेछ । सुरुवाती चरणमा उक्त कार्ड भाटभटेनी तथा यसको नेटवर्कमा मात्र प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । कार्डमार्फत ग्राहकहरुले सहज भुक्तानी, विशेष अफर, छुट तथा विभिन्न ग्राहक लक्षित योजनाहरुको लाभ लिन सक्नेछन् । बैंकका अनुसार यस सहकार्यले डिजिटल भुक्तानीको विस्तार, आधुनिक बैंकिङ सेवाको प्रवद्र्धन तथा ग्राहकलाई थप लाभ प्रदान गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा दुबै संस्थाले संयुक्त रुपमा क्यासब्याक, रिवार्ड तथा विभिन्न आकर्षक योजना सञ्चालन गर्ने तयारी समेत गरेका छन् । यस योजनामा आईएमएस सफ्टवेयरले प्राविधिक साझेदारको रुपमा सहकार्य गरेको जनाइएको छ ।