ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यसहित दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरु गरिएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा अन–द–फ्लाई ईएमआई सुविधा प्राप्त गर्नेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले स्पष्ट पारेको छ ।

ग्राहकहरुले आफूलाई सहज हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधिमा किस्ताबन्दीमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । उक्त योजनामा कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यस सुविधाबाट विशेषगरी इलेक्ट्रोनिक्स तथा महंगा सामग्री खरिद गर्ने ग्राहकहरुलाई तत्काल आर्थिक भार कम भई योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसै सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुलाई लक्षित गर्दै विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ जारी गरिने भएको छ । ग्राहकको आर्थिक व्यवहार तथा पछिल्लो तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा निर्धारण गरिनेछ ।

सुरुवाती चरणमा उक्त कार्ड भाटभटेनी तथा यसको नेटवर्कमा मात्र प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । कार्डमार्फत ग्राहकहरुले सहज भुक्तानी, विशेष अफर, छुट तथा विभिन्न ग्राहक लक्षित योजनाहरुको लाभ लिन सक्नेछन् ।

null

बैंकका अनुसार यस सहकार्यले डिजिटल भुक्तानीको विस्तार, आधुनिक बैंकिङ सेवाको प्रवद्र्धन तथा ग्राहकलाई थप लाभ प्रदान गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा दुबै संस्थाले संयुक्त रुपमा क्यासब्याक, रिवार्ड तथा विभिन्न आकर्षक योजना सञ्चालन गर्ने तयारी समेत गरेका छन् ।

यस योजनामा आईएमएस सफ्टवेयरले प्राविधिक साझेदारको रुपमा सहकार्य गरेको जनाइएको छ ।  

Share News