सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य
काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । बैंकले एनसीएचएलसँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको बैंकले जनाएको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।
कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको छुट योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितका निम्ति सबै सरोकारवालाले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरुका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
एक्सेल डेभलपमेण्ट बैंकद्वारा डस्टबिन वितरण
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा बजार व्यवस्थापन समितिका हालका अध्यक्ष राजेन्द्र पोखरेल साथै बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सिताराम पोखरेलले बैंकको यस पहललाई धन्यवाद दिदैँ बजारको सफाई र फोहोर व्यवस्थापनमा यस प्रकारको योगदान अत्यन्तै सराहनीय भएको बताए ।उनीहरुले यस बैंकसँग सहकार्य गर्दै अगाडि बढ्न चाहने इच्छा व्यक्त गरे । एक्सेल डेभलपमेण्ट बैंकका बजार व्यवस्थापन विभागका कर्मचारी गजेन्द्र ढकालले यस कार्यक्रमको महत्व प्रकाश पार्दै सफा र हरियाली शहर निर्माण सबैको सामूहिक जिम्मेवारीका साथै यस डस्टबिन वितरण कार्यक्रममार्फत बैंकले समुदायलाई फोहोर व्यवस्थापनमा सजिलो पार्न मद्दत पुर्याउने उद्देश्य राखेको बताए । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा बजारको सफाईमा योगदान पुर्याउन आह्वान गरे। डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा वडा कार्यालयको तर्फबाट कृष्ण प्रधान, समाजसेवीहरु चन्द्र खड्का, कृष्ण खतिवडा, भवकृष्ण पोखरेल, ठाकुर दाहाललगायतको उपस्थिति रहेको थियो ।